भारतको पश्चिम बङ्गालको एघार जिल्लामा ब्ल्याक फिभरको ६५ वटा मामिला देखिएको छ । पश्चिम बङ्गालबाट ब्ल्याक फिभर पूर्णरूपले उन्मूलन भइसकेको थियो तर पुनः यो रोग देखिएपछि चिकित्सकहरू चिन्तित छन् ।
यसै वर्ष झारखण्डमा ब्ल्याक फिभरबाट एकजनाको मृत्यु भएको थियो । ब्ल्याक फिभरलाई कालाजर पनि भनिन्छ । यो रोगको कारण लिशमैनिया डोनोवानी नामक परजीवी हो । हालसम्म यसको कुनै खोप विकसित भएको छैन ।
कालाजर के हो ? लिशमैनिया नामक परजीवी सैन्डफ्लाईको टोकाइबाट शरीरभित्र पुग्छ । यो सैन्डफ्लाई खैरो रङ्गको हुन्छ । यो झिङ्गामा यो परजीवी पहिलेदेखि नै मौजुद हुन्छ । यसैले जब यो झिङ्गाले टोक्छ तब परजीवी मान्छेभित्र पस्छ ।
यो विशेष प्रकारको झिङ्गा बढीजसो माटो र बढी नमी भएको घरमा पाइन्छ । विश्व स्वास्थ्य सङ्गठनको भनाइ अनुसार यस रोगको कारण बन्ने परजीवी तीन प्रकारको हुन्छ ।
डब्लुएचओ अनुसार कुपोषण भएको क्षेत्रमा यो रोग बढी देखिन्छ । घर सफासुग्घर नभएको, कमजोर प्रतिरक्षा प्रणाली हुने व्यक्तिलाई यो रोग लाग्छ । यसको अलावा पर्यावरणमा हुने बदलाव पनि यस रोगको कारण हुन्छ । जस्तै रूखबिरुवा तीव्र फँडानी, बढ्दो शहरीकरण ।
सन् २०२० मा यसको ९० प्रतिशत मामिला ब्रजील, चीन, इथियोपिया, भारत, केन्या, सोमालिया, दक्षिण सुडान र यमनमा देखिएको थियो । भारतको दार्जिलिङ्ग, मालदा, उत्तर दिनाजपुर, दक्षिण दिनाजपुर र कालिमपोङमा देखिएको छ । बङ्गालका अधिकारीका अनुसार उत्तर प्रदेश, बिहार र झारखण्डमा बस्नेहरूलाई यो रोग लाग्ने सम्भावना देखिएको छ ।
नेशनल सेन्टर फर भेक्टर बोर्न डिजिज कन्ट्रोल प्रोग्रामको तथ्याङ्क अनुसार भारतमा १६ करोड मानिस यस रोगको जोखिम क्षेत्रमा छन् । गत वर्ष यो रोग कम देखिएको थियो । सन् २०१४ मा ९ हजार २ सय मामिला देखिएको थियो भने सन् २०२१ मा यो सङ्ख्या घटेर १ हजार २७६ देखिएको छ ।
लक्षणः धेरै दिनसम्म ज्वरो हुने, वजन घट्नु, स्पिलिन बढ्नु, एनिमिया हुनु, छाला रूखो हुनु, रातो दाग बस्नु, कपाल झर्नु, छालाको रङ्ग खैरो देखिनु, हातखुट्टा, पेट र पिठ्यूँ खैरो देखिने भएकोले यसलाई ब्ल्याक फिभर भनिएको हो ।
उपचारः रोगको उपचार सम्भव छ । रोगीको इम्युन सिस्टम बलियो बनाउनुपर्छ । यसको अलावा घर र वरपरको क्षेत्रमा कीटनाशक औषधि छर्किने, झुलमा सुत्नुपर्छ ।