काठमाडौं, ३० असार/
एनसेल आजियाटा लिमिटेडको काठमाडौंस्थित महाराजगंज सेन्टर महिला कर्मचारीहरूबाट सञ्चालनमा आएको छ ।
महिला कर्मचारीहरूद्वारा व्यवस्थापन तथा सञ्चालन गरिएको यो सेन्टर एनसेलको पहिलो हो । यसलाई निरन्तरता दिंदै जाने एनसेलले जनाएको छ ।
महिला सशक्तीकरण, लैङ्गिक समानता र समुदाय विकासको लागि एनसेलले महिला कर्मचारीद्वारा सेन्टर सञ्चालनमा ल्याएको जनाएको छ । यस अवधारणाले एनसेलको विविधता, समानता र समावेशिता मिशन अनुरूप रहेको छ, जसले कार्यस्थलमा विविधता, समानता र समावेशितालाई दृढतापूर्वक प्रोत्साहन गरेको एनसेलले दाबी गरेको छ ।
सम्पूर्णरूपमा महिला कर्मचारीहरूबाट सञ्चालित एनसेल सेन्टरबारे मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तवले काठमाडौंको मुटु महाराजगंजमा यो सेन्टर सञ्चालन गरिएकोमा हर्षित भएको र यसलाई निरन्तरता दिने बताए । उनले एनसेलको विविधता, समानता र समावेशितालाई बढावा दिने नीतिमा ठूलो महŒव राखेको दाबी गरे ।
एनसेलका ग्राहक सेवा प्रबन्धक ज्योति दाहालले टेलिकम क्षेत्रमा ग्राहक सेवामा धेरैजसो पुरुषको सहभागिता रहने गरेकामा लैङ्गिक समानताको लागि निरन्तर प्रयास भएको र त्यसैको फलस्वरूप महिला आबद्ध सेन्टर सञ्चालनमा आएको बताइन् । उनले लैङ्गिक समानताले मात्र व्यवसाय थप सुदृढ हुने विश्वास व्यक्त गरिन् ।
सेन्टरबाट ग्राहकले एनसेलका सेवा तथा सुविधाहरूबारे सोधपूछ गर्न, सिम खरीद गर्न, इन्टरनेट सेटिड्ढो जानकारीलगायत विभिन्न कर्पोरेट सेवाहरूसमेत लिन सक्छन् । सेन्टरबाट सिम फोरजीमा अपग्रेड, सिम तथा मोबाइल नम्बर परिवर्तन, सियुजी नम्बरहरूको आवश्यक फेरबदल, बिज प्लान, अन्तर्राष्ट्रिय रोमिङ सुचारु, बिल तिर्ने, ब्यालेन्स रिचार्ज र ट्रान्सफर गर्नेलगायतका अन्य ग्राहक सेवाहरू प्राप्त गर्न सक्ने एनसेलले जनाएको छ ।
सेन्टरमा आउने ग्राहकका लागि एक हप्ताको विशेष अफर रहेको जस अन्तर्गत ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस प्राप्त गर्ने जनाइएको छ । सेन्टरबाट गरिने प्रत्येक रु ५० को रिचार्ज बराबर ग्राहकले रु २० को रिचार्ज कार्ड बोनसस्वरूप प्राप्त गर्छन् । ग्राहकको आवश्यकता अनुसार सेवा प्रदान गर्न एनसेलले देशभरि ३१ वटा एनसेल सेन्टरबाट ग्राहक सेवा प्रदान गर्दै आएको छ ।