काठमाडौं, ३० असार/रासस

करको दायरामा आउने करदाताको सङ्ख्या ४० लाख पुगेको छ । महालेखापरीक्षकको कार्यालयले बुधवार सार्वजनिक गरेको ५९औं प्रतिवेदन अनुसार आव २०७७/७८ सम्म ४० लाख ५९ हजार १०७ करदाता पुगेका छन् ।

प्रतिवेदन अनुसार आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क तीनवटै समूहका करदाताको सङ्ख्यामा वृद्धि भएको हो । त्यसमा व्यावसायिक स्थायी लेखा नम्बर १५ लाख ७७ हजार ३८३, व्यक्तिगत स्थायी लेखा नम्बर २४ लाख ७१ हजार ७२६ र अग्रिम कर स्थायी लेखा नम्बर नौ हजार ९९८ जनाले लिएका छन् ।

आव २०७६/७७ को तुलनामा चालू आव २०७७/७८ आयकरतर्फ १८.९, मूल्य अभिवृद्धि करतर्फ ४.८७ र अन्तःशुल्क इजाजतपत्रतर्फ ९.६८ प्रतिशतले स्थायी लेखा नम्बर लिने करदाताको सङ्ख्यामा वृद्धि भएको हो । यो वर्ष आयकरतर्फ स्थायी लेखा नम्बर लिनेको सङ्ख्या छ लाख ४५ हजार ७१७ ले बढेर ४० लाख ५९ हजार १०७ पुगेको छ ।

यस्तै, मूल्य अभिवृद्धि करतर्फ दर्ता हुनेको सङ्ख्या दुर्ई लाख ६८ हजार ४३६ पुगेको छ भने अन्तःशुल्क इजाजतपत्र लिनेको सङ्ख्या एक लाख तीन हजार ४२३ पुगेको छ ।

डाक्टर र इन्जिनीयरले नै तिर्दैनन् कर

महालेखाको प्रतिवेदन अनुसार चिकित्सक, इन्जिनीयर, वकील, सल्लाहकार, लेखापरीक्षक, कलाकार, खेलाडी, शिक्षक, प्राध्यापकलगायतका पेशाविद् अधिकांशले स्थायी लेखा नम्बर नलिएका र लिएकाले समेत आय विवरण दाखिला नगरेको उल्लेख गरिएको छ ।

महालेखाले ५८औं प्रतिवेदनमा समेत पेशाविद्हरूले आफ्नो पेशागत प्रमाणपत्रलाई नवीकरण गर्दा करचुक्ता वा कर विवरण पेश गरेको प्रमाणपत्र माग गर्ने व्यवस्था गर्नुपर्ने कुरा उठाएको थियो । सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दा पेशा व्यवसायमा संलग्न व्यक्तिको पेशागत प्रमाणपत्र नवीकरण गर्दा स्थायी लेखा नम्बर र करचुक्ता प्रमाणपत्र अनिवार्यरूपमा पेश गर्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ । महालेखाले सम्बद्ध निकायबीच अन्तरआबद्धतासहित उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here