काठमाडौं, १२ असार/रासस

लोकदोहोरी गायिका दिलमाया सुनारको मृत्यु प्रकरण रहस्यमय बनेको छ। सामाजिक सञ्जाल फेसबूकमा सार्वजनिक गरिएको भनिएको ‘सुसाइट नोट’भन्दा घटना प्रकृति फरक देखिएपछि प्रहरीले गायिका सुनारको मृत्यु प्रकरणबारे गम्भीररूपमा अनुसन्धान थालेको छ।

गायिका सुनार काठमाडौंको बाँनियाटारस्थित आफ्नै कोठामा शनिवार मृत भेटिएको प्रहरीले जनाएको छ। शुक्रवार राति गायिका सुनारको फेसबूकबाट आफूलाई बाँच्न गा–हो भएको र जतिबेला जे पनि हुन सक्छ भनेर स्टेटस सार्वजनिक भएको थियो।

उक्त स्टेटसमा आफूले नै यो कदम चालेको र कसैलाई दोष नदिन अनुरोधसमेत गरिएको छ, तर स्टेटसभन्दा घटना प्रकृति निकै फरक रहेको र आत्महत्या जस्तो नदेखिएको अनुसन्धानमा खटिएका एकजना प्रहरी अधिकृतको भनाइ छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीको भनाइले पनि उक्त विषयलाई पुष्टि हुने देखिन्छ। उनले घटना रहस्यमय रहेकाले थप अनुसन्धान अघि बढाइएको जानकारी दिए।

“घटना शङ्कास्पद देखिएको छ, शवपरीक्षण रिपोर्ट आएपछि थप कुरा खुल्छ, अहिले प्रहरीले अनुसन्धान जारी राखेको छ,” मैनालीले भने। गायिका सुनारको शवलाई अहिले परीक्षणका लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको छ। मैनालीका अनुसार घटनामा संलग्न रहेको आशङ्कामा एकजना पक्राउ परे पनि नाम खुलाइएको छैन। प्रहरी स्रोतले गायिका सुनारको हत्या आशङ्का गरेको छ। त्यसैले अहिले घटनामा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत अनुसन्धान थालेको छ।

सुर्खेत घर भएकी गायिका सुनारका एक छोरा रहेको जनाइएको छ। पतिसँग सम्बन्धविच्छेद गरेर एक्लै बस्दै आएको खुलेको छ। गायिका सुनारसँग एकजनाको सम्बन्ध रहेको र उसैले हत्या गरेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। शनिवार बिहान काठमाडौंको नेपालटारस्थित उनको कोठामा ती व्यक्ति पुगेको पाइएको र त्यही आधारमा उनलाई पक्राउ गरिएको जनाइएको छ।

गायिका सुनारको मृत्युको विषयमा निष्पक्ष छानबीनका लागि लोकदोहोरी कलाकारले प्रहरीमा दबाब दिन थालेका छन्। उनीहरूले प्रहरी वृत्त बालाजु पुगेर घटनाको सत्यतथ्य छानबीन गरी दोषीउपर कारबाईको माग गरेका छन्। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले घटना कर्तव्य गरेर मारिएको जस्तो देखिएकाले आफू सत्यतथ्य छानबीनको मागसहित प्रहरी कार्यालयमा आएको जानकारी दिए। अध्यक्ष बिजीले आफन्त आइसकेपछि जाहेरी दिने तयारी गरिएको पनि बताए।

प्रहरी स्रोतका अनुसार घटनास्थलमा गायिका सुनारको मोबाइलसमेत भेटिएको छैन। घाँटीमा डोब देखिए पनि घटनास्थलभन्दा बाहिर सल फेला परेकाले पनि घटना थप शङ्कास्पद बनाउन बल पु–याएको छ। “न्यायपूर्ण ढङ्गले छानबीन होस् र दोषीलाई कारबाई होस् भनेर नै हामी प्रहरीमा आइपुगेका हौं,” बिजीले भने।

गायिका सुनारको स्टेटसमा आफैंले घटना घटाएकाले कसैलाई दोष नदिन भनिए पनि त्यो दबाबमा लेखिएको वा अरूले नै लेखिदिएको हुन सक्ने आशङ्का गरिएको छ। अध्यक्ष बिजीले भने, “मोबाइल नभेटिएकाले मृत्युपछि स्टेटस अरूले नै लेखेको पनि हुन सक्छ या मृत्युअघि धम्क्याएर लेख्न लगाएको पनि हुन सक्छ, त्यसबारे गम्भीर अनुसन्धान हुनु जरुरी छ।” सुनार लाइभ तथा अनलाइन दोहोरीमा सक्रिय गायिका हुन्। राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानले केही समयअघि काठमाडौंमा आयोजना गरेको छैटौं खुला राष्ट्रिय रनिङ शिल्ड लोकदोहोरी गीत प्रतियोगितामा सुनार उत्कृष्ट गायिका घोषित भएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here