• कुमार रुपाखेती

पैसाको थुप्रो लगाएर चुनाव जितिन्न भन्ने सन्देश स्थानीय निर्वाचन २०७९ ले दिइसकेको छ। यही पर्सा जिल्लाका मतदातााहरूले मैं हुँ भन्ने थुप्रै स्थानीय नेताहरूलाई थाङ्नामा सुताएकै हो। जनताले पुनः मुषिकोभवः भन्ने आशीर्वाद (श्राप) दिंदासमेत पर्साका केही थुथुर नेताहरू आगामी कात्तिक–मङ्सिरमा हुने निर्वाचनलाई लक्षित गर्दै टपरटाय र पचरपचर गर्न थालिसकेका छन्।

अस्ति चुनावमा अधिसङ्ख्यक महत्वपूर्ण पालिकाहरूमा स्वतन्त्र उम्मेदवारहरूले झन्डा फहराएको सबैलाई थाहै छ। नेपालकै सर्वाधिक महत्वपूर्ण काठमाडौं महानगरपालिकालाई आफ्नो बपौती ठान्ने काङ्ग्रेस र एमालेलाई लोप्पा खुवाउँदै स्वतन्त्र उम्मेदवारले लौरो टेकाएकै हो। कुनै बखत गणेशमानको लौरोले जित्छ भन्ने राजधानीमा यसपालि गणेशमानकै छोरा–बुहारी चारो खाना चित्त भए। राजधानीलाई लालकिल्ला ठान्ने एमालेको हविगत त त्यहाँ थर्ड क्लास नै देखियो।

पर्सा जिल्लाका सबैजसो राजनैतिक दलहरूमा टपरटुइयाँखाले नेता र कार्यकर्ताहरूको बिगबिगी देखिन्छ। बगावत भन्ने तर पदको खातिर दल परिवर्तन गर्नेहरू यहाँ भरमार छन्। टपरे बाहुनबाजेले जजमानहरूको दैलो चहारेझैं आफ्नो स्वार्थका खातिर दल बदल र अदलबदल भइरहनेहरूले गर्दा पर्सामा अझैसम्म राष्ट्रिय स्तरको नेता पैसा हुन सकेको छैन। यस्ताहरूले गर्दा यहाँका मतदातासमेत रनभुल्लमा पर्दछन् र धेरै मत बदर पनि हुने गर्दछ। आगे नाथ, ना पिछे पगाहा स्तरका यस्ता नेताहरूले गर्दा राजनैतिक दलहरूले समेत पर्साका नेताहरूलाई प्रयोग गर र फालको रणनीति अनुसार प्रयोग गरेको देखिन्छ। स्थानीय निर्वाचनमा अमूक उम्मेदवारलाई पालिका प्रमुखमा विजयी गराए कि एम्बेसडर (राजदूत) अथवा मनोनीत सांसद बनाउने फोस्रो आश्वासन पाएका एक स्थानीय नेताजीलाई राजधानीमा अचेल बाइपास गर्न थालिएको छ। किनकि यी नेताजीले विगतमा झैं ताल ठोकेर प्रत्यक्ष निर्वाचनमा होमिने हौसला र हिम्मत गुमाइसकेका छन्।

भनिन्छ चारैतिरबाट पीडित र पछि परेका यी नेताजी अब अरूको रहमोकरममा अगाडि बढ्न र आफ्नो वर्चस्व बचाउन बाध्य र विवश छन्। यिनी मात्र होइन दलबदलमा खप्पिस थुप्रै दलका नेताहरूको वर्तमान हविगत यस्तै छ। पुनः मुसामा परिणत भइसकेका यिनीहरू अझै ऐडीचोटी एक गरी हात्ती बन्न खोजेको देख्दा हाँसो मात्र उठ्दैन, लाज पनि लाग्छ। आफै जित्न नसक्नेले ठेक्का लिएर अरूलाई जिताउँछु भन्ने कुरा कति हास्यास्पद छ।

अचेल राजनैतिक दलको सदस्य बन्नुभन्दा स्वतन्त्र उम्मेदवार घोषित हुनु आकर्षणको केन्द्र बन्न थालेको छ। स्थानीय निर्वाचनमा स्वतन्त्रहरू हावी भएको, स्वतन्त्र उम्मेदवारहरूको बोलबाला भएको सबैलाई थाहै छ। कतिसम्म अनौठो भयो भने पालिकाको निर्वाचनमा मात्र होइन, जिल्ला समन्वय समितिको सभापतिको निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारले बाइज्जत सभापति जिते।

राजनीतिमा होमिन चाहने थुप्रै नयाँ अनुहारहरू आगामी निर्वाचनमा स्वतन्त्र उम्मेदवार बन्न आतुर देखिन्छन्। तर सबै बालेन र धरानका मेयर हर्कझैं होनहार छैनन्। एकताका वीरगंजमा विमल श्रीवास्तवले समेत स्वतन्त्र समूहको नाम भजाउने असफल प्रयास गरे। स्वतन्त्र समूहका नाइके विमल श्रीवास्तव कालान्तरमा कता लागे कता छिरे र विलीन भए। स्वतन्त्र समूहको नाम लिने अनि बाटो बिराउनेको हविगत कस्तो हुन्छ भन्ने जिताजागता उदाहरण यही वीरगंजमैं छ।

आम नागरिकमा राजनैतिक दलहरूप्रति भरोसा र विश्वास उठ्दै गएपछि स्वतन्त्र उम्मेदवारहरू हावी भएको सबैलाई थाहै छ। अझै पनि दलहरूमा पञ्चे के बात मानेम, लेकिन खुटवा ओतही हली भन्ने प्रवृत्ति हावी छ। लङ्कापति रावणझैं घमण्डले चुर देखिन्छन्। तर रवि लामिछानेले स्वतन्त्र समूहको नाममा चतु–याइँ देखाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी खोलेपछि अन्य स्वतन्त्र उम्मेदवार बन्न चाहनेहरूलाई चुनौती थपिएको छ। लामिछानेको स्वतन्त्र पार्टीविरुद्ध स्वतन्त्र बन्न चाहनेहरू अदालत नै पुगेका छन्। उता आफ्ना मन्त्रीहरूलाई फिर्ता बोलाउन नसक्दा माधव नेपालको अस्तित्व नै सङ्कटमा परेको छ। पार्टीले निर्णय गरेको लामो समय बितिसक्दा समेत आफ्नो दलका नयाँ मन्त्री भर्ना गर्न नसक्नु र पुराना मन्त्रीलाई पदबाट बाइकट गर्न नसक्नुले माधव नेपालकै नेतृत्व क्षमतामा दाग लाग्न थालेको छ। स्थानीय निर्वाचनमा तल परे पनि ओलीको कटाक्षपूर्ण बोली र व्यवहारमा तनिक परिवर्तन देखिंदैन। दलहरूका यस्तै रवैयाले गर्दा नेपाली राजनीतिमा स्वतन्त्रप्रति नै वितृष्णा भई आम मान्छे स्वतन्त्रतिर आसे नजरले हेर्न थालेका छन्। आफ्नो असफलतामा दरबारको हात देख्नेहरूले स्वतन्त्रमा राजाको भूत देख्नु कुनै नौलो कुरा होइन।

नेपाली राजनीतिमा मन्त्रीहरूलाई विचित्र पात्रको रूपमा समेत हेर्न थालिएको छ। देश लुट्नेहरूको इतिवृत्तान्तमा नेपालका मन्त्रीहरू नम्बर वनमा पर्दछन्। भ्रष्टाचारका कारण राजीनामा दिन बाध्य नेपालको पहिलो प्रधानमन्त्री गिरिजाप्रसाद हुन्। कमल थापा, गोविन्दराज जोशी, विजय गच्छदार, खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, टङ्क ढकाल, जयप्रकाश गुप्ता आदि नेपालकै नामुद घुस्याहा मन्त्री मानिन्छन्। अचेल त भ्रष्ट मात्र होइन दबङ्ग मन्त्रीहरूको चर्तिकला देखेर आम नागरिक अचम्भित छन्। प्रभु साह, मातृका यादव, मिर्जा दिलशाद बेग, बद्री मण्डल, रामकुमारी झाँक्री, राजेन्द्र श्रेष्ठ, दीपक मनाङ्गे, जनार्दन शर्मा, करिमा बेगम, प्रेम आले, लुम्बिनीकी मन्त्री विमला खत्रीहरू पिटपाट र मारपिटमा खप्पीस मन्त्रीमा दरिन्छन्। ठेकेदारबाट मन्त्री बनेका पूर्वमन्त्री विक्रम, राष्ट्रिय गौरवको सिक्टा सिचाइ काण्डबाट बाइज्जत बरी भएपछि नेपालमा सम्पत्ति शुद्धीकरण, राजस्व अनुसन्धान विभाग, अख्तियार र अदालतको औचित्य समाप्त भएको ठान्नेहरू थुप्रै छन्।

पञ्चायतकालमा दीपक बोहरा, निरञ्जन थापा, शरद्सिंह भण्डारी, हेमबहादुर मल्लहरूलाई जन्डूमन्त्री भनिन्थ्यो। कुनै बेला मधेस प्रदेशमा मन्त्री बनेका अभिराम शर्मा पनि ठूलै विवादित मान्छे हुन्। गठबन्धन सरकारका बेलगाम मन्त्रीहरू त पिट्ने, ठोक्ने, भ्रष्टाचार गर्नमा सबैभन्दा अब्बल साबित भएका छन्। मधेसका उपेन्द्र यादव, राजेन्द्र महतो, हृदयेश त्रिपाठीहरूको कुरै नगरौं।

मानवीय आचरणका सम्बन्धमा महात्मा गाँधीले एकपटक भनेका थिए–सिद्धान्तविनाको राजनीति, श्रमविनाको सम्पत्ति, चरित्रविनाको ज्ञान, मानवताविनाको विज्ञान, नैतिकताविनाको व्यापार, विवेकविनाको आनन्द र त्यागविनाको धर्म यी संसारमा हिंसा फैलाउने सात महाभूल हुन्। नेपालको सन्दर्भमा महात्मा गाँधीका यी सात सूत्र कति सार्थक छन्, सबैका लागि अध्ययन र मननको विषय बनेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here