काठमाडौं, ९ असार/रासस
नेपाल राष्ट्र बैंकले असर्फीको मूल्य बढाएको छ । बिहीवार नेपाल राष्ट्र बैंक अन्तर्गतको मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै असर्फीको मूल्य बढेको जनाएको हो ।
बैंकले सुनचाँदी, असर्फी, स्मारिका सिक्का र मेडालियनको खरीद, टकमरी र बिक्री कार्यलाई व्यवस्थित गर्न बनेको नेपाल राष्ट्र बैंक सुनचाँदी तथा अन्य धातु खरीद, टकमरी तथा बिक्रीसम्बन्धी कार्यविधि, २०७५ संशोधन गर्दै असर्फीको मूल्य बढाएको हो ।
संशोधन कार्यविधि अनुसार यसअघि प्रतिग्राम रु दुर्ई सयका दरले रकम थप गरी असर्फीको दैनिक मूल्य निर्धारण हुँदै आएकामा रु एक सयले बढाएर प्रतिग्राम असर्फीको मूल्य रु तीन सय बनाइएको छ ।
यस्तै, संशोधित व्यवस्थाले सर्वसाधारणबाहेक सङ्गठित तथा निजी क्षेत्रका संस्थागत खरीदकर्ताबाट प्रयोजन खुलाई न्यूनतम २० थान असर्फी माग भई आएमा असर्फीको मौज्दात, माग गर्ने संस्थाको आवश्यकता तथा औचित्यका आधारमा विभागीय निर्णयबाट बिक्री गरिनेछ ।
यसरी बिक्री गर्दा जर्तीलगायतको लागतबापत प्रतिग्राम रु पाँच सय थप गरी बिक्री मूल्य निर्धारण गरिने भएको छ । हाल रु तीन सय थप गरिंदै आएको छ । यही असार ५ गते बसेको नेपाल राष्ट्र बैंक सञ्चालक समितिले मूल्य बढाउने निर्णय गरेको हो ।