• कुमार रुपाखेती

राणा परिवारमा अझै पनि ए श्रेणी, बी श्रेणीको राणाजी भनेर छुट्याएर हेर्ने, फरक व्यवहार गर्ने चलन छ । राणाजीहरूको यही भेदभावपूर्ण चलनलाई अहिले पर्सा एमालेले शिरोधार्य गरेको देखिन्छ । अहिले पर्सा र वीरगंजलाई स्थानीय निर्वाचनले तताएको छ ।

एकलकाटेको आरोप लाग्न थालेपछि पर्सा एमालेले आव देखा न ताव राप्रपा र लोसपासँग गठबन्धन गर्न पुग्यो । तर स्थानीय तहको यो गठबन्धनले पर्सा एमाले दुर्गन्धित बन्यो । सांसद विमल श्रीवास्तवको इशारामा उनका थुप्रै सेनामेना धेरै पहिलेदेखि पर्सा एमालेमा भर्ना हुन थालेका थिए । गत फागुन २८ गते पुरानै रणनीति अन्तर्गत विजयकुमार सरावगीसमेत एमालेमा भर्ना भए ।

स्थानीय निर्वाचनमा वीरगंजका ३२ वटा वडामध्ये नौवटा वडामा पुराना एमालेले टिकट पाए भने २३ वटा वडामा विमालेले टिकट हत्याए । विमाले भनेको (विमल श्रीवास्तव र विजय सरावगी) को टीम भनेर अथ्र्याउन थालिएको छ । म बस्ने वडा नं ५ मा विमालेहरूको कुबेर पाराको खर्च देखेर छक्क परेको छु । एमालेवालाहरूले पर्सामा विमालेसँग टक्कर लिने र पार्टीलाई तिनको कब्जाबाट मुक्त गर्न सक्ने बुता देखिंदैन । पर्सामा विमालेको हालीमुहाली र चर्तिकलाले एमालेहरू चिन्तित त छन् तर लाचार पनि छन् । भनिन्छ, विमल+विजयहरू त ठाडै सैया भए कोतवाल त अब डर काहेका भन्दै ओलीजीसमेत आफ्नै खसमखास भएको बताउँछन् । जसले गर्दा खाए खा नखाए घिच भन्ने पारामा उम्मेदवार बनाइएका विमालेहरूप्रति कस्तो रवैया अपनाउने भन्नेबारे एमालेहरू रणभुल्लमा परेका देखिन्छन् ।

यो त पर्सा एमालेको अन्दरुनी मामिला हो । निर्वाचनका बखत यिनका यस्ता हर्कतहरूले बजार गर्माउँछ नै । जसले आफ्नै इमानदार र योग्य कार्यकर्ताहरूलाई काखा–पाखा गर्छ, नङ्गा नाच नाच्छ भने भोलिका दिनमा जितेको खण्डमा यो महानगरको विकास निर्माणमा समेत ठूलो पक्षपात र बज्रपात हुनेबारे मतदाताहरू सचेत हुनैपर्ने देखिन्छ । अहिले त स्थानीय निर्वाचन हो, भोलि हुने आमनिर्वाचनमा विमालेहरूले गैरएमालेलाई उम्मेदवार बनाउन सक्नेबारे सच्चा एमालेहरू चिन्तित त छन्, सचेत देखिंदैनन् । नवप्रवेशीहरूले पर्सा एमालेमा आफ्नो प्रभाव मात्र देखाएका छैनन्, पूरै हाबी भइसकेको सन्देशसमेत दिन थालेका छन् । विगतमा वीरगंजमा एमालेका उम्मेदवार को को हुने हुन् भन्नेबारे एउटा कौतुहलता हुन्थ्यो तर विमालेवालाहरूले त्यस्तो कौतुहलतालाई निराशामा बदलिदिएका छन् ।

नाम नबताउने एउटा एमाले कार्यकर्ताले भने– उहिले उहिले घरको छानामा गिद्ध बस्दा अपशकुन हुन्छ भनेर घरमा पूजापाठ लगाएर घरलाई शुद्ध पारिन्थ्यो, अचेल त गिद्धहरू घरमा बस्दा सगुन हो, राम्रो हो, फलिफाप हुन्छ भनेर परिवर्तित सोच देखेर तीनछक्क छन् । स्व गोपाल गिरीका छोरा गिरिश गिरी वीरगंजमा नगरप्रमुख पदमा राप्रपाबाट उम्मेदवार बन्दा विमालेको मुहारमा रौनकता आएको देखेर नगरवासी अचम्ममा परेका छन् । भनिन्छ, पर्सा एमालेमा विमालेले जथाभावी उम्मेदवार उठाउँदा जनता समाजवादी पार्टीलाई फाइदा पुग्दैछ रे । विमालेहरू त राजेशमान हराउन निर्देशित नै देखिन्छन् ।

अन्त्यमा म यही भन्छु– कोही त कालो हजुर रेलको धूवाँले, हामी त कालो हजुर छाता नै नओढ्नाले ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here