–रमेश लम्साल
काठमाडौं, १२ वैशाख/रासस
“यो मेरो र मेरो पार्टीको मात्रै उम्मेदवारी होइन, हाम्रो हो। म भन्ने कुरा त्यागौं, हामी भन्ने कुरालाई आत्मसात् गरौं,” कास्कीको पोखरा महानगरमा सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवारी दर्ता गराएका धनराज आचार्यको भनाइ हो यो।
नेपाली काङ्ग्रेसका नेता यज्ञबहादुर थापा र नेकपा (माओवादी केन्द्र)का नेता हितराज पाण्डेलाई दायाँबायाँ राखेर आचार्यले सामूहिकतामा विश्वास गर्न तथा म र मेरो भन्ने मान्यता त्याग्न आग्रह गरे। उनले महानगरका लागि दिइएको उम्मेदवारी सत्ता गठबन्धनको सामूहिक भावनाको उपज भएको बताए। आचार्य नेकपा (एकीकृत समाजवादी)को प्रस्तावमा गठबन्धनको साझा उम्मेदवार हुन्।
यसबाट सत्ता गठबन्धनमा देखिएका केही तीतामीठा विषयलाई मिलाएर जानुपर्छ भन्ने मनोविज्ञान चित्रित भएको छ। गठबन्धनमा आबद्ध पाँच राजनीतिक दलले देशव्यापीरूपमा नै साझा उम्मेदवार तय गरेका छन्। केही स्थानमा कुरा मिल्न नसकेको भएपनि उम्मेदवारी फिर्ता लिने दिनसम्म सबै असन्तुष्टिलाई सम्बोधन गर्ने शीर्ष नेताहरूको भनाइ छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आजै बसेको सत्ता गठबन्धनको बैठकले पनि केन्द्रीय नीति अनुसार नै उम्मेदवारी दर्ता गराउन निर्देशन दिएको थियो। बैठकपछि सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले गठबन्धनको निर्णय अनुसार नै उम्मेदवारी दर्ता गराउन सबैलाई आग्रह गरिएको जानकारी दिएका थिए।
निर्वाचन आयोगले आइतवार र सोमवारका लागि उम्मेदवारी मनोनयनका लागि छुट्याएको छ। संविधानसभाबाट संविधान जारी भएपछि हुन लागेको दोस्रो निर्वाचन आफैंमा महत्वपूर्ण र ऐतिहासिक पनि छ। विसं २०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन गरिएको थियो। यही वैशाख ३० गते हुने निर्वाचन भने एकै चरणमा गर्ने तयारी आयोगले गरेको छ।
प्रमुख राजनीतिक दलले उत्साहका साथ निर्वाचनमा सहभागिता जनाएका छन्। उम्मेदवारी दर्ताका क्रममा देखिएको स्थानीय भाषा, संस्कृति तथा प्रचारले पनि त्यही देखाएको छ। काठमाडौं उपत्यकामा उम्मेदवारी दर्ता गराउन पुगेका उम्मेदवारको स्वागतमा बजाइएका धिमे बाजा, स्थानीय संस्कृतिसँग जोडिएका भेषभूषासहितको प्रस्तुतिले पनि निर्वाचन लोकतन्त्रको सर्वाेत्तम साधन हो भन्ने देखाएको छ। निर्वाचनले राजनीतिक दललाई मात्रै नभई, नागरिकलाई एक प्रकारको उत्साह पैदा गरिदिन्छ। यसपटक पनि त्यस्तै भएको छ।
काठमाडौं महानगरमा गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराउन पुगेकी नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहको अघिपछि बजेको धिमे बाजा, पञ्चेबाजाले पनि नेपालीको विविधतालाई झल्काइदिएको छ। भरतपुरमा गठबन्धनको तर्फबाट नगरप्रमुखमा उम्मेदवारी दर्ता गराएकी रेणु दाहाल र उपप्रमुखका उम्मेदवार चित्रसेन अधिकारीको समर्थनमा पनि पञ्चेबाजासहितको नेपाली संस्कृति र सामूहिकताको प्रदर्शन भएको टिप्पणी गरिएको छ।
देशभर छ महानगर, ११ उपमहानगरपालिकासहित ७५३ वटै स्थानीय तहमा आज उम्मेदवादी दर्ता गराउने अन्तिम दिन हो। गठबन्धनका तर्फबाट अधिकांश उम्मेदवारी दर्ता गराउन निर्वाचन कार्यालय जाँदा सामूहिकताको प्रदर्शन गरेको देखिन्छ। गठबन्धनमा आबद्ध सबै दलका झन्डा, तुल, ब्यानर पनि त्यस्तै प्रदर्शन गरिएको थियो। गठबन्धनका दलबीच देखिएका विवादका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का प्रवक्ता कृष्णबहादुर महराले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा लोकतन्त्रमा यस्तो विषयले सुन्दरता नै थप्ने टिप्पणी गरे।
उनले गठबन्धनमा आबद्ध रहेका दलहरूबीच नै गठबन्धन र तालमेल गर्ने नीतिलाई पूर्णरूपमा कार्यान्वयन गर्न पार्टीका सबै समितिलाई निर्देशन दिइएकोसमेत जानकारी दिएका थिए। केही स्थानमा गठबन्धनको नीतिविपरीत गठबन्धन भएको भए त्यसलाई उम्मेदवारी फिर्ता हुने दिनसम्म फिर्ता गराउने नीति गठबन्धनको रहेको प्रवक्ता महराको भनाइ छ। “एउटा उद्देश्यका लागि गठन भएको गठबन्धनको मर्म र भावनाविपरीत जाने छुट कोही कसैलाई छैन। यसमा आबद्ध सबै दलको एउटै धारणा छ। त्यसलाई पूर्णरूपमा कार्यान्वयन गर्छौं,” प्रवक्ता महराले भने। उनले देशभर ६० प्रतिशत स्थानमा गठबन्धन भएको जानकारी दिंदै बाँकी ४० प्रतिशत स्थानमा पनि मिलाइने विश्वास व्यक्त गरे।
एउटै पार्टीमा त एउटाले टिकट पाउँदा अर्काे रिसाउने र असन्तुष्टि व्यक्त गर्ने हुँदा गठबन्धनमा यस्तो देखिनु लोकतन्त्रको सुन्दर पक्ष रहेको भन्दै उनले असन्तुष्टिलाई उचित तरीकाले सम्बोधन गरिने उल्लेख गरे।
यस्तो छ निर्वाचनको इतिहास
नेपालमा पहिलोपटक विसं २००४ मा संविधान जारी भएपछि गाउँँ तथा नगरपञ्चायतको चुनाव भएको थियो। त्यसको सात वर्षपछि अर्थात् २०१० सालमा दोस्रोपटक र २०१४ सालमा तेस्रोपटक स्थानीय निकायको चुनाव भएको इतिहास छ। विसं २०१४ मा गाउँपञ्चायत र २०१८ मा नगरपञ्चायतको निर्वाचन भएको आयोगले जनाएको छ।
विसं २०१० को निर्वाचनमा काठमाडौं–८ बाट साधना प्रधान जनप्रतिनिधि निर्वाचित भएकी थिइन्। प्रधान नै पहिलो निर्वाचित महिला जनप्रतिनिधिका रूपमा स्थापित हुन्। आयोगका अनुसार नगरपञ्चायत निर्वाचन २०१९ जेठदेखि विभिन्न मितिमा, जिल्लासभा र जिल्ला पञ्चायत निर्वाचन २०१९ सालदेखि विभिन्न मितिमा, अञ्चलसभा र अञ्चल पञ्चायत निर्वाचन २०२० सालदेखि विभिन्न मितिमा सम्पन्न भएका थिए।
विसं २०३९ वैशाख २८ र ३१ तथा जेठ ३ र ४ गते गाउँपञ्चायत तथा नगरपञ्चायत, २०३९ असार २ गते जिल्ला पञ्चायत, २०४३ चैत ७ र १० गते गाउँपञ्चायत तथा नगरपञ्चायत एवं २०४४ वैशाख २६ गते जिल्ला पञ्चायतको चुनाव भएको थियो।
प्रजातन्त्रको पुनस्र्थापनापछि स्थानीय निकायको निर्वाचन २०४९ जेठ १५ र १८ गते गाउँ विकास समिति तथा नगरपालिका निर्वाचन भएको थियो। विसं २०४९ असार १३ गते जिल्ला विकास समिति निर्वाचन, २०५४ जेठ ४ र १३ गते गाउँपालिका र नगरपालिका निर्वाचन तथा २०५४ असार २७ गते जिल्ला विकास समितिको चुनाव भएको थियो। विसं २०६२ माघ २६ गते पनि नगरपालिका निर्वाचन गरिए पनि त्यसले राजनीतिकरूपमा वैधानिकता पाउन सकेन।
संविधानसभाबाट संविधान बनेपछि २०७४ सालमा स्थानीय तहको निर्वाचन गरियो। विसं २०७४ को वैशाख ३१, असार १४ र असोज २ गते तीन चरणमा निर्वाचन गरिएको थियो। सो निर्वाचनमा ५७ राजनीतिक दलले भाग लिएका थिए जसमध्ये १८ राजनीतिक दलको स्थानीय तहमा प्रतिनिधित्व रहेको थियो। स्थानीय तहको निर्वाचनमा २३३ स्वतन्त्रसहित ३५ हजार ४१ जनप्रतिनिधिको निर्वाचित भएका थिए। त्यस निर्वाचनका लागि एक करोड ४० लाख ७४ हजार ४२४ मतदाता कायम भएकामा एक करोड चार लाख ८९ हजार २०४ ले मतदान गरेको आयोगको विवरणमा उल्लेख छ।
मुलकमा हाल छ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका र ४६० गाउँँपालिका गरी कुल ७५३ स्थानीय तह र छ हजार ७४३ वडा छन्। यही वैशाख ३० गने हुन लागेको निर्वाचनमा कुल एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले आफ्नो मताधिकार प्रयोग गर्नेछन्। कुल मतदातामध्ये पुरुष ८९ लाख ९२ हजार १०, महिला ८७ लाख ४१ हजार ५३० र अन्य १८३ जना छन्। जनप्रतिनिधि चयन गर्ने सबैभन्दा उत्तम विकल्प मानिएको निर्वाचन आफैंमा राजनीतिक उत्सव र सामूहिक भावना अभिव्यक्त गर्ने महत्वपूर्ण चाडसमेत हो।