काठमाडौं, १२ वैशाख/रासस

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि हालसम्म ८० प्रतिशत मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ। हालसम्म ६३ जिल्लाका लागि एक करोड ५४ लाख ८३ हजार मतपत्रको छपाइ कार्य सकिएको आयोगले जनाएको छ। बाँकी जिल्लाको मतपत्र छाप्ने क्रम जारी रहेको छ। निर्वाचनका लागि एक करोड ९४ लाख मतपत्र आवश्यक पर्ने अनुमान गरिएको छ। काठमाडौंसहित छवटा महानगरपालिकाका लागि आवश्यक पर्ने मतपत्र मनोनयन दर्ता कार्य सकिएपछि छपाइ गरिनेछ। ती तहका मतपत्रमा पनि पुरानै डिजाइन अनुसार हुनेछ।

उम्मेदवारले निर्वाचन प्रचार गर्ने अवधिभन्दा १५ दिनअघि मतपत्र पुगिसक्नुपर्ने व्यवस्था, मुद्रण क्षमता र मुलुकको दूरदराजका पालिकामा सुरक्षितरूपमा ढुवानी गर्नुपर्ने भएकाले मनोनयन दर्ता सकिएपछि मतपत्र छपाइ गर्न सम्भव नहुने भएकाले आयोगले मनोनयन दर्ताअघि नै मतपत्र छपाइ कार्य गरेको हो। विभिन्न राजनीतिक दलका तर्फबाट आफूहरू गठबन्धनमा उम्मेदवारी दिने भएकाले उम्मेदवारी दिइएपछि उम्मेदवारीको सङ्ख्या र निर्वाचन चिह्नका आधारमा मतपत्र छाप्न गरिएको आग्रहमा आयोगले असमर्थता जनाएको छ।

निर्वाचन सामग्री जिल्ला जिल्लामा

निर्वाचन आयोगले जिल्लामा निर्वाचन सामग्री पठाउने क्रम भने पूरा गरेको छ। आज दिउँसोसम्म पाल्पा र पर्वत गरी ७६ जिल्लामा सामग्री पठाइएको छ भने बाँकी रहेको अर्घाखाँची जिल्लाको सामग्री आजै पठाइनेछ। सामग्री पठाइएपछि वैशाख १३ गतेदेखि मतपत्र ढुवानी शुरू गर्ने तयारी गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

आयोगले यही वैशाख ८ गतेदेखि निर्वाचन सामग्री लोड गरेर पठाउन थालेको हो। उपसचिव कृष्णप्रसाद सापकोटाका अनुसार १० गतेसम्म पठाइएका सामग्री सम्बन्धित स्थानमा प्राप्त भएको जानकारी आएको छ भने ११ गते पठाइएका कतिपय ट्रकहरू पुग्ने क्रममा छन्।

आयोगले कम मतदाता भएका र भौगोलिकरूपमा साना मानिने जिल्लामा एक र ठूला जिल्लामा दुर्ई/दुर्ई ट्रकमा सामान पठाएको छ। कान्तिपथस्थित आयोगबाट लगबूक भराएर छुट्ने ती हरेक ट्रकमा सामानको सूचीसहित आयोगका कर्मचारीसमेत सवार हुन्छन्। उनीहरूलाई मोबाइल–ट्र्याक गरी कुन ट्रक कतिबेला कहाँ पुग्यो वा बाटामा कुनै समस्या भए नभएको प्रविधिबाट सूचित हुने प्रबन्ध गरिएको छ। ती सामानलाई आवश्यकता अनुसार सुरक्षा गस्ती पनि दिइएको हुन्छ र सम्बन्धित पालिकामा निर्वाचन अधिकृतले बुझेको विवरण आयोगलाई दिनुपर्छ।

आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रम अनुसार २०७९ वैशाख ११ र १२ गते दुई दिन उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्धारण गरिएकामा सो कार्य आज ५ बजेसम्म सम्पन्न भयो। वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ। यी सबै कार्यक्रम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा हुनेछन्।

आचारसंहिता पालनाका लागि ध्यानाकर्षण

निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित तथा पारदर्शी बनाउन आयोगले आहवान गर्दै आएको छ। आचारसंहिताविपरीत हुनेगरी कुनै स्थानमा कुनै दलको झन्डा वा चिह्न राखिएको भए सम्बन्धित दलले तत्काल हटाउन, राजनीतिक दल वा उम्मेदवारबाट हुने कुनै पनि आमसभा, जुलुस, –याली, भेला, बैठक, घरदैलो, उम्मेदवारी दर्ता कार्यक्रम आदिमा र निर्वाचन अधिकृतको अनुमतिमा उम्मेदवारले प्रयोग गर्ने सवारीसाधनमा तीन फिट साइजको दलको एउटा झन्डा र एउटा चुनाव चिह्न तथा उम्मेदवारको पहिचान खुलेको ए–फोर साइजको एक रङ्गमा छापिएको विवरणबाहेक अन्य कुनै सामग्री प्रयोग नगर्न नगराउन स्मरण गराउँदै उम्मेदवारी दर्ता भएपछि यस्ता चिह्न भेटिएमा उम्मेदवारले राखेको ठानी आचारसंहिताको उल्लङ्घन भएको कसूरमा दलको उम्मेदवारलाई कारबाई हुने भएकोले सचेत रहन आयोगले सम्बन्धित सबैलाई पुनः ध्यानाकर्षण गराएको छ।

जुलुस, आमसभा, –याली, बैठक आदिमा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले आचारसंहिताविपरीत हुनेगरी सम्बन्धित दलको निर्वाचन चिह्न वा झन्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाएमा वा झोला बोकेमा सम्बन्धित व्यक्ति नै कारबाईको भागीदार हुने भएको हुँदा यस्तो कार्यबाट सजग रहन आयोगले सबैमा अनुरोध गरेको छ।

२० हजार बढी निर्वाचन पर्यवेक्षक हुने

निर्वाचन पर्यवेक्षणका लागि कुल ६८ वटा संस्थाले आयोगबाट अनुमति लिइसकेका छन्। ती संस्थाबाट करीब २० हजारभन्दा बढी पर्यवेक्षक खटिने गरी आयोगमा प्रस्ताव प्राप्त भएको छ। सो उपर आवश्यक जाँच गरी आयोगले पर्यवेक्षकहरूलाई पर्यवेक्षण गरिने मतदानस्थलसमेत तोकी परिचयपत्र जारी गर्नेछ। पर्यवेक्षण अनुमति प्राप्त सङ्घसंस्थाका प्रतिनिधिहरूका लागि आयोगले वैशाख १४ गते अभिमुखीकरण कार्यक्रम गर्दैछ।

निर्वाचनसँग सम्बन्धित सूचनाहरू आम सञ्चारमाध्यम एवं सरोकारका लागि सहज पहुँचसहित सम्प्रेषण गर्ने उद्देश्यले आयोगका प्रवक्ता र सहप्रवक्ताका अतिरिक्त सहसचिव तुलसीबहादुर श्रेष्ठ र सहन्यायाधिवक्ता गुरु वाग्लेलाई तोकिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here