भक्तपुर, ९ वैशाख/रासस

यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) आज बिहान ८ बजेदेखि देशभर एकैसाथ शुरू भएको छ । राष्ट्रिय परीक्षा बोर्डले देशभर दुई हजार सात परीक्षा केन्द्रबाट एकैपटक परीक्षा सञ्चालन गरेको छ ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा शान्तिपूर्णरूपमा सम्पन्न गर्न तथा गराउन सबैमा आग्रह गरेका छन् । कोरोना महामारीका कारण शैक्षिकसत्र २०७७ र २०७६ मा विद्यालयको आन्तरिक मूल्याङ्कनकै आधारमा परीक्षा बोर्डले एसइईको नतीजा सार्वजनिक गरे पनि यस वर्ष भने सामान्य स्वास्थ्य मापदण्ड पूरा गर्दै भौतिक उपस्थितिमैं बोर्डले परीक्षा सञ्चालन गरेको हो ।

परीक्षा नियन्त्रक अर्जुन रायमाझीले एसइई परीक्षामा देशभरका ११ हजार ६१५ विद्यालयबाट नियमिततर्फ छात्र एक लाख ५७ हजार ९१४ र छात्रा दुई लाख ५७ हजार ५३ गरी कुल पाँच लाख १४ हजार ९६७ परीक्षार्थी सहभागी भएको जानकारी दिए ।

दुई वर्षदेखि रोकिएको ग्रेड वृद्धितर्फ ११ हजार ४५४ विद्यार्थी र प्राविधिक धारका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी पनि एसइईमा सहभागी भएको उल्लेख गर्दै उनले परीक्षामा सबैभन्दा कम मनाङबाट ४३ विद्यार्थी सहभागी भएको जानकारी दिए । यस वर्षको एसइईमा नेपालीले जापानमा सञ्चालन गरेको एक विद्यालयका २० विद्यार्थी पनि सहभागी भएका छन् ।

बोर्डले परीक्षालाई मर्यादित एवं व्यवस्थित बनाउन प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा प्रदेश परीक्षा व्यवस्थापन समिति गठन गरेको छ ।

यस वर्षको एसइई परीक्षा सञ्चालनका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिले परीक्षाको अनुगमनदेखि उत्तरपुस्तिका परीक्षण, संपरीक्षण र रुजूसमेत गर्ने भएको बोर्डका अध्यक्ष शर्माले जानकारी दिए । परीक्षाका लागि प्रदेश परीक्षा व्यवस्थापन समितिमार्फत जिल्ला परीक्षा समन्वय समिति परिचालन गरिएको छ । बोर्डले प्रदेशसँग समन्वय गर्ने र प्रदेश अनुसारका सबै जिल्लालाई निर्देशन दिने तथा अनुगमन गर्नेगरी व्यवस्था गरिएको छ ।

प्रदेश परीक्षा व्यवस्थापन समितिले विद्यार्थीको प्राप्ताङ्क पठाएपछि अन्तिममा त्यसलाई रुजू गरेर बोर्डले नतीजा प्रकाशन गर्ने उनले बताए । अध्यक्ष शर्माले भने–“यस वर्ष एक महीना ढिलो परीक्षा शुरू भएको छ, बोर्डले परीक्षाका नियमावली संशोधन गरेर प्रदेशलाई धेरै जिम्मेवारी दिएको छ, नतीजा जारी गर्न केही दिन तलमाथि हुन सक्ला, यद्यपि साउन १ देखि कक्षा ११ को शैक्षिकसत्र शुरू हुनु अघि नै एसइईको नतीजा सार्वजनिक गर्ने लक्ष्य छ ।”

कोरोना महामारीका कारण गत वर्षको पढाइ प्रभावित भएपछि चैत महीनाभर कक्षा सञ्चालन गर्ने र वैशाखमा परीक्षा सम्पन्न गरी नयाँ भर्ना अभियान सञ्चालन गरेर जेठ १ देखि कक्षा १–१० को आगामी शैक्षिकसत्र शुरू गर्नेगरी शिक्षा मन्त्रालयले व्यवस्था गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here