संसारमा हरेक वर्ष छ देखि १२ मार्चसम्म विश्व ग्लुकोमा साता मनाइने गरिन्छ । ग्लुकोमालाई साधारण भाषामा कालो मोती भनिन्छ । यो आँखाको एउटा गम्भीर समस्या हो, जसमा मान्छे अन्धो पनि हुन सक्छ । ग्लुकोमाको लक्षण बिस्तारै–बिस्तारै शरीरमा देखिन्छ । यो रोग बढीजसो बुजुर्ग व्यक्तिलाई हुन्छ । कैयौंपटक यो रोग जेनेटिक कारणले पनि हुन सक्छ यानी परिवारमा कसैलाई यो समस्या हुन्छ भने तपाईंलाई पनि हुन सक्छ । चिकित्सकका अनुसार यस रोगको मामिला बढ्दै छ । तसर्थ लक्षण देखिने बित्तिकै समयमैं उपचार गराउनुपर्छ ।
दिल्लीको सर गङ्गाराम अस्पतालका नेत्ररोग विभागका एचओडी डा एके ग्रोवर भन्छन्– ग्लुकोमा भएपछि आँखाको अप्टिक नर्भ क्षतिग्रस्त हुन्छ । यो नर्भले हाम्रो रेटिनालाई दिमागसँग जोड्छ । यो समस्या बढीजसो बुजुर्गहरूलाई हुन्छ । ६५ वर्षभन्दा बढी उमेरका व्यक्तिमा यस्तो समस्या देखिने गरेको छ । आँखा धमिलो हुने, दृष्टिमा लगातार कमजोरी, आँखा सुक्खा हुने, पानी आउने र टाउको दुख्ने समस्या छ भने ग्लुकोमाको लक्षण हुन सक्छ । यस स्थितिमा तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्छ । ४५ वर्ष उमेर लागेपछि नियमितरूपले आँखाको जाँच गराउँदा यस रोगबाट बच्न सकिन्छ ।
डा ग्रोवरका अनुसार धेरैजसोलाई हलुका टाउको दुख्ने समस्या हुन्छ तर उनीहरू यसलाई न्युरोसँग सम्बन्धित समस्या बुझेर उपचार गराउँछन् । जबकि टाउको दुख्नु आँखाको ठूलो समस्याको सङ्केत हुन सक्छ । आँखाको मांसपेशी कमजोर भएपछि पनि टाउको दुख्छ । यदि कसैलाई अचानक टाउकोमा तीव्र दुखाइ हुन्छ भने तथा उसलाई न्युरोसम्बन्धी कुनै समस्या छैन भने यो ग्लुकोमाको लक्षण हुन सक्छ । यसैले टाउको दुखेपछि आँखारोग विशेषज्ञसँग सल्लाह लिनुपर्छ । हरेक दिन आँखाको सफाइ गर्नुपर्छ । आँखामा जलन भएपछि आँखाको औषधि प्रयोग गर्नुपर्छ । काम गर्ने ठाउँमा पर्याप्त उज्यालोको व्यवस्था गर्नुपर्छ । काम गर्दा समयसमयमा आराम गर्नुपर्छ ।