काठमाडौं, २९ फागुन/रासस

अर्थमन्त्री जनार्दन शर्माले अर्थतन्त्रमा देखिएका चुनौती समाधान गर्न आयातमा मार्जिनको व्यवस्था गरिएको बताएका छन् ।

भन्सार विभाग, त्रिपुरेश्वरमा आइतवार आयोजित भन्सार व्यवस्थापन गोष्ठीमा उनले आयातमा गरिएको कडाइले भन्सार असुली प्रभावित भएपनि मेहनत गरेर लक्ष्यमा पुग्न निर्देशन दिए ।

 “देशको अर्थतन्त्र यतिबेला चुनौतीपूर्ण अवस्थामा छ । यसलाई समाधान गर्न हामीले केही वस्तुको आयातमा मार्जिन राखेका छौं,” उनले भने, “यस्तो अवस्थाले भन्सार प्रभावित पनि भएको छ । तर यो सधैंका लागि राखिएको होइन । हाम्रो बाध्यकारी परिस्थितिले यो अवस्था सिर्जना भएको छ । स्थिति सामान्य हुनासाथ भन्सार प्रणालीले नियमित काम गर्नेछ ।”

अर्थमन्त्री शर्माले भन्सार कार्यालयमा देखिएका समस्या समाधान गर्न, नीतिबाट सिर्जित नयाँ चुनौतीको सामना गर्दै राजस्व परिचालनमा प्रभावकारी हुन र व्यापार सहजीकरणमा उत्कृष्ट भूमिका खेल्न गोष्ठी प्रभावकारी हुने आफूले विश्वास लिएको बताए ।

त्यस्तै, वस्तु आयातमा गरिएको वर्गीकरणसम्बन्धी व्यवस्थाले व्यवसायीमा असन्तुष्टि देखिएकाले त्यसलाई पनि गोष्ठीका माध्यमबाटै समाधानको सूत्र पहिल्याउन पनि उनले निर्देशन दिए । उनले भन्सार कार्यालयमा प्रयोग हुने भेहिकल स्क्यानिङसम्बन्धी निर्देशिका बन्दै गरेको र चाँडै कार्यान्वयनमा आउने जानकारी दिए ।

अर्थमन्त्री शर्माले व्यापारलाई सहजीकरण गर्दै राजस्व परिचालनमा अगाडि बढ्न सबै कर्मचारीलाई निर्देशन दिए । माघ मसान्तसम्मको लक्ष्यभन्दा बढी भन्सार राजस्व परिचालन गरेकोमा उनले खुशी व्यक्त गरे ।

भन्सार विभागका उपमहानिर्देशक आनन्द काफ्लेले माघ मसान्तसम्म रु तीन खर्ब पाँच अर्ब राजस्व सङ्कलनको लक्ष्य भएपनि आयातमा गरिएको कडाइका बाबजूद रु तीन खर्ब आठ अर्ब राजस्व सङ्कलन भएको जानकारी दिए । यो गत वर्षको सोही अवधिको तुलनामा २९ प्रतिशत बढी हो ।

सो अवसरमा अर्थमन्त्री शर्माले निर्यातमा सुधार भइरहेकामा खुशी व्यक्त गरे । “कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १० प्रतिशत नाघेको छ । हामीले माघ मसान्तसम्म रु एक खर्ब ३१ अर्बको निर्यात गरेका छौं,” उनले भने, “तर हामी यतिमा रोकिनुहुँदैन । प्रत्येक वर्ष १० प्रतिशतका दरले निर्यातमा हिस्सा थप्दै एक दिन आत्मनिर्भर हुने बाटोमा जानुपर्छ ।”

उनले सबै कर्मचारीलाई मेहनत गरेर राजस्व प्रशासन र राजस्व परिचालनमा उत्कृष्ट काम गर्न निर्देशन पनि दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here