काठमाडौं, १३ फागुन/रासस

तपाईंले जाडोको समयमा ब्रिकेट बालेर ताप्नुभयो ? खाना पकाउन वा अरू घरायसी प्रयोजनका लागि ब्रिकेट त अवश्य नै बाल्नुभयो होला तर नोटबाट पनि ब्रिकेट बन्छ भन्ने तपाईंले थाहा पाउनुभएको छैन होला।

यस्तै, तपाईंलाई नोटबाट बनेको ब्रिकेट बालेर आगो ताप्ने मन छ ? यदि मन छ भने तपाईंले नोटबाट बनेको ब्रिकेट बाल्न पाउनुहुने भएको छ।

यो समाचार झट्ट पढ्दा पत्यार नलाग्न सक्छ १ तर यो गलत समाचार होइन। पुराना भएका र धुल्याउने क्रममा पुगेका नोटको व्यवस्थापनका लागि नेपाल राष्ट्र बैंकले ब्रिकेट बनाउने भएको छ। केन्द्रीय बैंकले विराटनगर कार्यालयमा बिएसबिएसको शुभारम्भ गरेको छ। नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रीकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको छ। केन्द्रीय बैंकले त्यसलाई बैंक नोट स्रेडिङ एन्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस)को नाम दिएको छ।

नेपाल राष्ट्र बैंक, विराटनगर कार्यालयमा पुराना नोटलाई धुल्याएर ब्रिकेट बनाउन थालिएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज सो कार्यको औपचारिक शुभारम्भ गरे।

गभर्नर अधिकारीले बिएसबिएस मेशिनको ‘स्वीच अन’ गरेर यसको शुभारम्भ गरेका केन्द्रीय बैंकले जनाएको छ। चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिंदै आइएकोमा बिएसबिएस मेशिनको प्रयोगमार्फत ससाना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गरिनेछ। नेपालमा नोट व्यवस्थापनका लागि नयाँ प्रणाली अवलम्बन गरिएको हो।

गभर्नर अधिकारीले बैंकको कार्यसम्पादनलाई आधुनिक र प्रविधिमैत्री बनाउने उद्देश्यले बिएसबिएसको सुरुआत एउटा महत्वपूर्ण उपलब्धि भएको बताए। बिएसबिएसमार्फत तयार गरिने ब्रिकेट प्रयोगको सम्भावित क्षेत्रबारे अध्ययन भइरहेको राष्ट्र बैंकले जनाएको छ। बिएसबिएसलाई व्यवस्थित तुल्याउन नोट धुल्याउने नियमावली संशोधन र यससम्बन्धी कार्यविधि तर्जुमाको प्रक्रिया अन्तिम चरणमा पुगेको गभर्नर अधिकारीले जानकारी दिए।

कार्यक्रममा मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले अयोग्य नोट धुल्याउन बैंकले अवलम्बन गरेको नीतिगत व्यवस्थाबारे चर्चा गर्दै बिएसबिएसको सञ्चालन प्रक्रिया नेपालका लागि नयाँ भएको बताए। त्यस अवसरमा कोष तथा लेखा नियन्त्रकको कार्यालय, मोरड्ढा प्रमुख परशुराम नेपालले बिएसबिएसको प्रयोगले नोट धुल्याउने पद्धतिलाई आधुनिक बनाएको धारणा राखे।

बिएसबिएस मेशिनले कटन, पोलिमरलगायत सबै किसिमका बैंक नोटका प्याकेट र बन्डललाई टुक्र्याएर ब्रिकेट तयार गर्दछ। उक्त मेशिनमा दुर्ईवटा खण्ड रहन्छन्। पहिलो खण्डले नोटलाई टुक्र्याउने कार्य गर्छ भने दोस्रो खण्डले टुक्र्याइएको नोटबाट ब्रिकेट तयार गर्छ।

उक्त मेशिनमा एकपटकमा २०० किलोसम्म बैंक नोट राख्न सकिन्छ र मेशिनले प्रतिघण्टा १०० किलो नोटलाई टुक्र्याउने क्षमता राख्छ। यस्तो टुक्राको औसत आकार ६ह्६ मिलिमिटर हुनेछ। यसरी टुक्र्याइएको नोटलाई प्रतिघण्टा २०० किलोको दरले प्रशोधन गरी ब्रिकेट तयार गर्न सकिन्छ। बिएसबिएस मेशिनलाई प्रतिवर्ष एक हजार घण्टासम्म सञ्चालन गर्न सकिन्छ।

यस्तो ब्रिकेट इँटाभट्टा, कागज कारखाना, कोइला प्रयोग गरिने उद्योगसँगै घरायसी प्रयोजनसमेतमा उपयोगी हुने विश्वास लिइएको छ। थापाथलीस्थित बैंकको निर्माणाधीन भवनसँगै विराटनगर, जनकपुर, वीरगंज, पोखरा, सिद्धार्थनगर, नेपालगंज र धनगढी कार्यालयमा उक्त प्रणाली जडान गरी सञ्चालनमा ल्याउने बैंकको योजना छ। ती मेशिन नेदरल्यान्डबाट आयात गरिएको हो।

बिएसबिएसमार्फत नोट धुल्याउने पद्धतिलाई नीतिगतरूपमा व्यवस्थित गर्ने गरी नोट धुल्याउनेसम्बन्धी प्रचलित नियमावलीमा आवश्यक संशोधन गर्ने प्रक्रियासमेत अघि बढाइएको छ। सञ्चालनमा ल्याइएको बिएसबिएस प्रणाली वातावरणीय दृष्टिले समेत उपयोगी हुने अपेक्षा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here