• शीतल गिरी

गताङ्कको बाँकी …

योगी सिद्धहरूको अनुगमन गर्ने त्यो बेलाको सामाजिक प्राणीले कस्तो सामाजिक मर्यादा कायम ग¥यो होला भन्ने कौतुहल पनि सहजै उत्पन्न गर्दछ । बज्रयानका आचार्यहरूमा सिद्धअनङ्ग बज्र पनि एक आचार्य हुन् र ८४ सिद्धमध्येका एक सिद्ध पनि । उनको प्रज्ञोपाय विनिश्चय सिद्धि भन्ने ग्रन्थमा निम्नस्थ वचन उल्लेख भएका छन्–

प्रज्ञापारमिता सेब्या सर्वथा मुक्तिकाङ्क्षिभिः ।
ललनारूप मास्थाय सर्वत्रैव व्यवस्थिता ।
ब्राह्मणादि कुलोत्पन्नां मुद्रां वैअन्त्य जादे्भवाम् ।

जनयित्री (आमा) स्वसारं (दिदी–बहिनी) च स्वपुत्री, भागिनेयकाम् । कामयेत् तŒवयोगेन लघु सिध्येति सधकः ।२५। पृष्ठ २२–२५ । अर्थ– मोक्षको इच्छा गर्ने साधनारत व्यक्तिले ब्राह्मण आदि कुलकी कन्या अथवा चाण्डाल कुलकी कन्यालाई मुद्रा (साधना गर्ने भैरबी रूप)मा स्थापना गरेर साधना गर्नू । आमा, बहिनी, आफ्नै छोरी, भान्जीलाई पनि मुद्रा (मैथुन)मा प्रयोग गर्ने साधकले चाँडै सिद्धि लाभ गर्दछ ।

उक्त अनङ्ग बज्रका चेला सिद्ध राजा ज्ञानभूतिको ज्ञानसिद्धि भन्ने ग्रन्थमा “तीनै लोकमा जन्मेका प्राणको वध्य गरोस्, अर्काको सम्पत्ति हरण गरोस्, (चोरोस्) परस्त्री गमन गरोस्, झूटो कुरा मात्रै बोलोस् । जुन काम गर्नाले करोडौं वर्षसम्म प्राणीको नरक बास हुन्छ, त्यो कुरा गर्नाले योगी मुक्त हुन्छ । खानपानमा विवेक नगर्ने, गम्यागम्य स्त्रीको विचार नगरी गमन गर्ने नै मुक्त योगी हो ।

चाण्डाल कुलकी स्त्री, डुमिनी अथवा नीच कुलकी स्त्री सेवन गरोस्, चाँडै सिद्धि प्राप्त हुन्छ । स्त्रीको इन्द्रिय कमल (पवित्र अर्थमा) हो, पुरुषेन्द्रिय बज्र हो । यस व्याख्याले भक्ष्याभक्ष, पेयापेय र गम्यागम्यका सम्पूर्ण नियमलाई च्वाट्टै तोडिदियो । धनी हुने जहाँ पनि पुग्न सक्ने, हराउन सक्ने, जे पनि दिनलिन र गर्न सक्ने सिद्धि प्राप्त हुन्छ भनेपछि मान्छेलाई योबाहेक अरू के चाहियो ? अरू धर्मकर्मको के आवश्यकता ?

मन लागेको कुरा खान पाइने, जे पनि गर्नु हुने र समाजमा नियमले निषेध गरेका कुराको बन्धन नै टुटेपछि निर्मुक्त हुन के बाँकी रहन्छ र मानवहरू यतापट्टि नदौडून् ? बज्रयानको बाहुल्य पछिल्लो कालमा भएपनि ईसाको ५०० वर्षतिर नै आचारविचारमा विकार आइसकेको देखिनाले यसको उद्गम् र विकास पनि भइसकेको थियो भन्न सकिन्छ । चौरासी सिद्धको परम्परा बताउने अनेक ग्रन्थ पाइन्छन् ।

तीनमा सिद्धहरूको नाम, शिष्य परम्परा, धार्मिक समन्वय र मत भिन्नता जस्तै मत्स्येन्द्रनाथ, गोरक्षनाथ, आदिनाथ सम्प्रदायको पूर्णरूपमा विवेचना गर्न निकै गा¥हो छ । नाथ परम्परा शैव सम्प्रदायका योगीहरूको हो र “पा” अथवा “पाद” सम्प्रदाय बज्रयान हो । ८४ सिद्ध परम्पराभित्र नाथ सम्प्रदाय पनि पर्दछन् । नेपालमा बज्राचार्यहरू तान्त्रिक विधिविधानले अद्यावधि पूजापाठ, जप, हवन आदि गर्दैछन् र सबै गृहस्थ छन् । तर नाथपन्थीहरू गृहस्थ र साधुभेष दुवैमा पाइन्छन् ।

तिब्बतीय लामावादभित्र भने भिक्षु जीवन व्यतीत गर्ने (बज्रयानी पक्षका पनि) भिक्षुहरू पाइँदैछन् । नेपाली समाजका चाड, पर्व, जात्रा र मठमन्दिरमा बज्रयानको प्रभाव अझै पाइन्छन् र नाथ सन्तको व्यापकता र महŒव भने सम्पूर्ण नेपालको जनजीवनमा व्याप्त भएकाले यो सम्प्रदायको कमी महसूस हुँदैन । सिद्ध परम्परामा गोरखनाथका गुरु सिद्ध मत्स्येन्द्रनाथको नाम दुवै पक्ष (नाथ र बज्रयान सम्प्रदाय)मा श्रद्धाका साथ लिइन्छ । मत्स्येन्द्रको महिमा भारतमा अस्ताइसकेको र उनी त्यहाँ इतिहासको धमिलो पक्षमा मात्रै देखिन्छन् । परन्तु नेपालमा सिद्ध मत्स्येन्द्रनाथ आज पनि देवताको रूपमा जीवन्त छन् ।

शैव, वैष्णव, शाक्त, बौद्ध सबैका निम्ति पूज्य र समन्वयवादी सिद्ध भएकाले नै उनको विशेषता पनि रहेको छ भन्नुपर्छ । चाडपर्व, वास्तुकला, मूर्तिकला, तन्त्रमन्त्र, आदिमा नेपाल उपत्यकाभित्र बज्रयान परम्पराको गहिरो छाप परेको छ । जहाँ जन्म्यो, हुक्र्यो बढ्यो, त्यहाँ समाधिस्थ भएपनि बज्रयान यहाँ भने बाँचेकै छन् ।

ठूलो कुरा के भयो भने– ईश्वरवादी र अनात्मवादी दर्शनमा उपदेश भनिएका बुद्धको धार्मिक परम्परामा जन्मेका महायान र बज्रयानले देवी, देवता, तन्त्र, मन्त्र, योग, ध्यान, पाठ, पूजा र ईश्वरीय अवतारवादको कल्पना गरेर कैंयन पक्षमा वैदिक सनातन धर्मका विकसित पक्षसँग हात मिलाएका पनि छन् । साथै समानान्तर रेखा कोरेर बुद्ध धर्मको विशेष उदारता पक्ष देखाएका पनि छन् । डा विनयतोष भट्टकचार्यले सरहपाको समय ६३ ई. निश्चय गरेका छन्– बिहार उडिसा रिसर्च सोसाइटी जर्नल, खण्ड १४ भाग ३, पृष्ठ ३४३) । तर भोटका ग्रन्थहरूबाट के थाहा हुन्छ भने बुद्धज्ञान सरहपाका सहपाठी र शिष्य थिए ।

(सांस्कृत्यायन, राहुल, पुरातŒव निबन्धावली, पृष्ठ २१२) सरहपा शिष्य सवरपा लुइपाका गुरु थिए । लुइपा धर्मपालका लेखनदास (कायस्थ) थिए भनिएको छ । शान्तरक्षितको जन्म ७४ ई.को करीबमा विक्रमशिलाको नजीक सहोर राजवंशमा भयो (सांस्कृत्यायन, राहुल, पुरातŒव निबन्धावली, सहोर, भागलपुर जिल्ला) ।

यस कारण सरहपाका महाराज धर्मपालको (ई. ७६९–८०) समकालीन मानेको पक्षमा सबै प्रमाण मिल्न आउँछन् । चौरासी सिद्धको परम्परामा अन्तिम सिद्ध कालपाद (२७) चेलुकपा (५४) शिष्य थिए । अर्को कालपाको पनि अस्तित्व भेटिन्छ र पहिलो नभए दोस्रो पनि ८४ भित्र पर्न सक्छन् । चुलुकपा मैत्रीपाका शिष्य थिए र यी तिनै मैत्रिपा हुन्, जो दीपङ्कर श्रीज्ञानका विद्यागुरु हुन् । यी एघारौं शतीको प्रारम्भमा विद्यमान थिए ।

हठयोगद्वारा साधना गर्ने, शैव सम्प्रदायका पाशुपत, कालामुख तथा कापालिकका साथै नाथपन्थीहरूको र बज्रयानी सिद्धहरूको कतिपय कुरामा तालमेल देखिने हुनाले ठीक–ठीक धार्मिक सम्प्रदाय छुट्ट्याउन गा¥हो छ । चौरासी सिद्धमा मत्स्येन्द्र, गोरख, जालन्धरको नाउँ समावेश भएको पाइन्छ भने महाराष्ट्रका सन्त परम्परामा ई. १३०० तिरका सन्तज्ञानेश्वरले आफूलाई नाथपन्थी सिद्धहरूको तालिकामा राखेका छन्– आदिनाथ (?), मत्स्येन्द्रनाथ, गोरक्षनाथ, गैनीनाथ, निवृत्तिनाथ र ज्ञानेश्वर । यो परम्परालाई प्रमाण मान्ने हो भने मत्स्येन्द्रनाथ ११औं शताब्दीतिरका मात्र हुन्छन् (शुक्ल, आचार्य रामचन्द्र, हिन्दी साहित्यका इतिहास, पृष्ठ १० संशोधित संस्करण) । समाप्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here