जनकपुर, २७ माघ/रासस
मधेस प्रदेश सरकारले पहिलोपटक आगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ। यस क्रममा शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ। आगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ।
विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो। आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गतको मधेसी शहीद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले जानकारी दिए।
पहिलो चरणमा प्रदेशका आठवटै जिल्लाका ४० शहीद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने उनको भनाइ छ।