विश्वको सर्वोच्च शिखर सगरमाथामा रहेको शताब्दीयौं पुरानो हिउँ हरेक वर्ष ठूलो परिमाणमा पग्लिरहेको छ । क्लाइमेट एन्ड एटमोस्फेरिक साइन्स जर्नलमा प्रकाशित नयाँ अध्ययनमा यसको कारण जलवायु परिवर्तनलाई दिइएको छ । वैज्ञानिकहरूका अनुसार आगामी दिनमा हामीले यसको घातक परिणाम देख्न सक्नेछौं ।
२५ वर्षमा १८० फिट हिउँ पग्लियो
अनुसन्धानका अनुसार सगरमाथामा रहेको साउथ कोल ग्लेशियरको हिउँ जम्न करीब दुई हजार वर्ष लागेको थियो, जुन जलवायु परिवर्तनका कारण २५ वर्षमा पग्लिएको थियो । यसको सीधा अर्थ हो कि हिमालमा हिमनदीहरू लगभग ८० गुणा छिटो पग्लिरहेका छन् ।
अध्ययनले देखाएको छ कि हिमनदी पग्लने क्रम सन् १९५० को दशकमा शुरू भएको थियो । तर १९९० को दशकयता सबैभन्दा बढी क्षति हिमालले बेहोर्नुपरेको छ । वैज्ञानिकहरूका अनुसार साउथ कोल ग्लेशियरको १८० फिट हिउँ विगत २५ वर्षमा पग्लिएको थियो ।
जलवायु परिवर्तनको प्रभाव पृथ्वीका हरेक कुनामा परिरहेको छ
मानवीय कारणले हुने जलवायु परिवर्तनले विश्वका हरेक कुनालाई असर गरिरहेको छ । सन् २०१९ मा मेन युनिभर्सिटीका छजना अनुसन्धानकर्तासहित पर्वतारोहीले सगरमाथाको हिमनदीमा अनुसन्धान थालेका थिए । टोलीले १० मिटर लामो हिउँको टुक्राबाट नमूना सङ्कलन गरेको थियो । उनीहरूको उद्देश्य जलवायु परिवर्तनको असर पृथ्वीको उच्चतम बिन्दुमा पुगेको छ कि छैन भन्ने प्रश्नको जवाफ खोज्नु थियो । अध्ययनका प्रमुख वैज्ञानिक पल मेवेस्कीले सोको जवाफ ‘हो’मा पाए ।
सगरमाथाका हिमनदी पग्लनु विश्वका लागि निकै नराम्रो खबर भएको वैज्ञानिकहरूको विश्वास छ । जसका कारण हिमपहिरो, खडेरी जस्ता प्रकोपका घटनाहरू बढ्न सक्छन् । करीब एक अर्ब छ करोड मानिस पिउने पानीका लागि यी हिमालहरूमा निर्भर छन् । यो पानी सिंचाइ र जलविद्युत्को लागि पनि प्रयोग गरिन्छ ।
वैज्ञानिकहरूले सगरमाथालाई बेवास्ता गर्छन्
अध्ययनमा भनिएको छ कि विश्वस्तरमा वैज्ञानिकहरू विश्वभरका हिमनदीहरूका बारेमा अनुसन्धान गर्छन् तर विश्वको सर्वोच्च शिखरको हिमनदीमा कसैले खासै ध्यान दिएका छैनन् । सगरमाथाका हिमनदीहरूबारे थप अनुसन्धान गर्न आवश्यक छ, ताकि हामी आगामी दिनमा प्रकोपबाट बच्न तयार रहन सकौं ।