काठमाडौं, १२ माघ/रासस

कोभिड–१९ रोकथामका लागि नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै भारतको ७३ औं गणतन्त्र दिवसका अवसरमा आज भारतीय राजदूतावासमा विविध कार्यक्रम आयोजना गरियो ।

त्यस अवसरमा नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले भारतको राष्ट्रिय झन्डा फहराउनुका साथै राष्ट्रपति रामनाथ कोविन्दले गणतन्त्र दिवसका अवसरमा जारी गरेको सन्देश वाचन गरेका थिए । भारतीय राजदूत क्वात्राले वीराङ्गना र मृतक सैनिकका निकटतम नातेदारलाई रु ६ करोड ३५ करोड नगद तथा कम्बल वितरणसहित सम्मान गरे ।

मानवीय प्रयासका सबै क्षेत्रमा भारतले हासिल गरेको उल्लेखनीय उपलब्धि र भारतको स्वतन्त्रताको ७५औं  उत्सव मनाउन भारत सरकारले अघि सारेकोे ‘आजादीका अमृत महोत्सव’को एक अङ्गका रूपमा आजको कार्यक्रम आयोजना गरिएको हो । आजादीका अमृत महोत्सव अन्तर्गत वर्षैभरि र सन् २०२३ को अगस्त महीनासम्म अन्य धेरै  कार्यक्रम आयोजना गरिने भारतीय दूतावासले जनाएको छ ।

नेपालस्थित भारतीय दूतावासका अनुसार आजादीका अमृत महोत्सव मनाउने सन्दर्भका साथै दुवै देशबीच कूटनीतिक सम्बन्ध कायम भएको ७५औं वार्षिकोत्सवका अवसरमा भारतको सहायोगमा कार्यान्वयन भएका ७५ वटा विकास परियोजना यसै वर्ष उद्घाटन गरिने भएको  छ ।

दूतावासले मनाउँदै आएको यस्ता अवसरको बेला नेपालका विभिन्न सामाजिक सङ्घ–संस्था तथा स्थानीय निकायलाई पहिलेझैं ७५ वटा एम्बुलेन्स र स्कूलबस उपहारस्वरूप प्रदान गर्ने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here