काठमाडौं, ६ माघ/रासस
पश्चिमी वायुको प्रभावले देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही केही हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त प्रणालीको प्रभावले पहाडी भेगका थोरै स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागका वरिष्ठ मौसमविद् वरुणा पौडेलले बताइन् । “सो मौसमी प्रणाली भोलिदेखि कमजोर हँुदै जाने भएकाले शुक्रवारबाट मौसममा सुधार हुनेछ,” उनले भनिन् ।
भोलि देशभर आंशिकदेखि सामान्यतया बदली रही हरेक प्रदेशका केही स्थानमा हल्का वर्षा तथा देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ । विभागले आगामी २४ घण्टाको लागि चेतावनी तथा परामर्श जारी गर्दै देशको पहाडी भूभागका केही स्थानमा हल्का वर्षाका साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । साथै देशभर चीसो अझै बढ्ने क्रममा रहेकाले यसबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम सात दशमलव ६ डिग्री र अधिकतम तापक्रम १८ दशमलव चार डिग्री सेल्सियस रहेको छ । त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस एक दशमलव चार डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २२ दशमलव दुर्ई डिग्री सेल्सियस रहेको छ ।