महोत्तरी, २५ पुस (रासस)

फेरि रेल चल्ने चर्चा चल्यो । शनिवार नेपाल रेल्वे कम्पनीका पदाधिकारी र भारतीय रेल्वे कम्पनी कोङ्कणका प्राविधिकले बर्दिवास–जयनगर रेल्वे विस्तार परियोजनाको जयनगर–कुर्था खण्डमा रेल चलाएर लिक परीक्षण गरेपछि रेल चल्ने चर्चा फेरि चुलिएको हो ।

“अब रेल चल्ने नै हो, सबै अवस्था ठीकठाक रहेको प्राविधिकको ठहर छ, एक महीनापछि (आउने फेबु्रअरी–१० तारिखदेखि) कुर्था–जयनगर खण्डमा रेल सेवा सञ्चालन हुन्छ” नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाको पछिल्लो यो भनाइमा सर्वसाधारण भने त्यति आश्वस्त देखिंदैनन् ।

“कुर्था–जयनगर खण्डको लिक तयार भएको तीन वर्ष भयो, भारतबाट रेल ल्याएर इनर्वामा थन्क्याइएको पनि एक वर्ष नाघ्यो, चल्छ भन्ने त सुन्दै आइएको हो, अब चलेपछि चल्यो भन्ने बुझौंला”–महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का बासिन्दा सामाजिक कार्यकर्ता चन्देश्वर मण्डल भन्छन् । शनिवार इनर्वा स्टेशनबाट रेल चलाएर ल्याएका भारतीय प्राविधिक (चालक) बिएन राय र पिटर साहबले परीक्षणबाट सबै अवस्था ठीक रहेको बताएपछि महाप्रबन्धक झाले फेबुअरी १० देखि सेवा सञ्चालन गरिने बताउनुभएको हो ।

“सेवा सञ्चालनमा अब खासै अडचन छैन, दक्ष प्राविधिक भारतबाट झिकाइएका छन्”–महाप्रबन्धक झाले भने । यद्यपि यस अघि पनि सेवा सञ्चालनको तिथिमिति तोकेरै मन्त्री र रेल्वे कम्पनीका पदाधिकारीहरूको प्रतिबद्धता सुनेका यस भेगका सर्वसाधारणमा पछिल्लो रेल चल्ने चर्चाले खुशी समेटेको देखिंदैन । जबजब रेल चाँडै चल्ने कुरा चर्चामा आउँछ, महोत्तरीकै भङ्गाहा नगरपालिका–९ हरिनमरीकी गुलाबदेवी साहको ओइलाएको मन फेरि बौरिन्छ । कुर्था नजीकको बस्तीकी साहले पछिल्ला तीन वर्ष यता ‘रेल अब चल्छ’ भन्ने सुन्दा/सुन्दा हल्लाभित्रै हराएको व्यङ्ग्य गरिन् ।

रेलको कुराले कैयनपटक आफ्नो रहर मुच्र्छित हुने र बौरिने गरेको साहको भनाइ छ । “कि कहु, तेसुरे साल रेल चलके बात छल, मुदा ओहिना हल्लेमें सिमटागेल” (के भनौं, परार नै रेल चल्ने कुरा थियो, तर, कुरैमा मात्र रह्यो) भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म २०७५ को हिउँदमैं रेल चल्ने कुरा सुनेकी साहले बुढ्याइँले चाउरिएर मुजैमुजा परेको अनुहार अपत्यारिलो बनाउँदै भनिन्–“अखैन सेहो आब किछे दिनमें रेल चलके बात सुनैछी, चलत त बुझब जे रेल चल लागल ।” (अहिले पनि केही दिनभित्रै रेल चल्ने कुरा सुन्दैछु, तर चलेपछि बुझौला कि रेल चल्यो) ।

भारतीय सहयोगमा अझै निर्माणाधीन रहेको बर्दिवास (महोत्तरी)–जनकपुरधाम –धनुषा)–जयनगर (भारत) सम्मको ६९ किलोमिटर दूरीको रेलसेवाको जयनगरदेखि कुर्था (धनुषा) सम्म ३४ किमी दूरीमा लिक तयार भएको तीन वर्ष भइसकेको छ । कुर्थादेखि भङ्गाहा–५ (महोत्तरी) को बिजलपुरा स्टेशनसम्म पनि अब पुलपुलेसा र लिक तयार छ । लिक, पुलपुलेसा बन्दा रेल चल्ने विश्वास जागे पनि कहिले चल्ने भन्ने कुरामा चैं ठूलाबडाको भनाइ त्यति पत्यारिलो नपाइएको महोत्तरीकै लोहारपट्टी–४ खुट्टा बस्तीकी ७५ वर्षीया राजकली चौधरीको भनाइ छ ।

राजकली चौधरीकै बुहारी पूजा अधिकारी र मञ्जु यादवले पनि रेल चढेर माइत जाने रहर कहिले पूरा होला भनेर पर्खी बसेको बताए । धनुषाको कुर्थामा निर्मित रेल्वे स्टेशन महोत्तरीको लोहारपट्टी नगरपालिका र पिपरा गाउँँपालिकासँगै जोडिएको छ । राजकली चौधरीको घर त कुर्था स्टेशनबाट तीन किमीभन्दा पनि नजीक छ । लोहारपट्टी नगरपालिकाका खुट्टापिपराढी, महदैया, तपनपुर, मधेपुरा र बगडा कुर्थाबाट जोडिएका बस्ती हुन् ।

त्यस्तै पिपरा गाउँँपालिकाको रतौली बस्ती पनि कुर्थासँगै जोडिएको छ । यसैले कुर्थासम्म रेल चल्ने कुरा चलेपछि यी बस्तीमा छुट्टै उमङ्ग थपिएको देखिन्छ । तर चर्चा अनुसार रेल नचलेपछि पलाएको उत्साह मर्ने गरेको यस भेगका बासिन्दा बताउँछन् । उमेरले ८० वर्ष टेक्दै गरेका भङ्गाहा–४ पलार बस्तीका चौठी बाँतरले पनि रेल चल्ने कुरा चलेपछि बुढ्याइँले गाँजेको शरीर फूर्तिलो बन्ने बताए । विगतमा रेलसेवा नै यातायातको मुख्य साधन रहेको आफ्नो ठाउँमा फेरि रेल चलेर जयनगर बजार हेरेर फर्कने घिटघिटीे नै बनेको बाँतरले बताए ।

विगतमा जयनगर–जनकपुर–बिजलपुरा (भङहा, महोत्तरी) रेल चल्दा विवाहपञ्चमी मेला (उत्सव) हेर्न जनकपुर गएको भङ्गाहा–५ कटैया बस्तीकी ६० वर्षीया रामराजी यादवलाई सम्झना ताजै छ । “हमसभ सालोसाल मेला देख जाय छली, मुदा रेल बन्द भेला करीब २० साल भगेल, अईबीचमें एकोबेर जनकपुर नई गेली”, (हामी रेल चढेर विवाहपञ्चमी मेला हेर्न प्रत्येक वर्ष जनकपुर जाने गथ्र्याै, तर रेल चल्न छाडेपछि भने पछिल्लो २० वर्ष (करीब) जनकपुर गइएको छैन) उनले भनिन् ।

अब रेल चलेपछि भने सपरिवार रेल चढेर जनकपुर जाने रामराजीको धोको छ । यसैबीच रेल्वे ट्र्याकका १४ हजार जति क्लिप र नट भर्खरै चोरी भएका छन् । चोरी भएका क्लिप र नट भारतीय पक्षले फेरि लगाइदिने जनाए पनि सुरक्षा चासो भने आम सर्वसाधारणले राख्नुपर्ने महाप्रबन्धक झाको भनाइ छ । “रेल्वेको सम्पत्ति केही सङ्ख्याका रेल्वे कर्मचारी र सुरक्षाकर्मीले मात्र संरक्षण गर्न सक्दैनन्, आम जनताको चासो हुनपर्छ”–उनको भनाइ छ । पहिले जयनगर, जनकपुर हुँदै बिजलपुरासम्म चल्ने रेल २०५८ सालको बर्खे भेलले बिग्ही नदीको पुल भत्काएपछि सेवा बन्द भएको थियो ।

विसं १९९४ सालमा नेपालका वनका काठ बोगी (रेलका मालसामान राख्ने डब्बा) भारत लाने उद्देश्यले शुरू भएको यो रेल कालान्तरमा यात्री सेवामा परिणत भएको थियो । महोत्तरीका लोहारपट्टी, पिपरा, बलवा र भङ्गाहासहितका स्थानीय तहका बस्तीमा रेलको कुराले तत्काल जनमानसमा प्रभाव पार्छ । रेल चले आवतजावतको सुविधाको कुरा मात्र नभएर आफ्नो फसलले तत्काल बजार पाउने सर्वसाधारण किसानको आस छ ।

“रेल चले हामीकहाँ उत्पादित दूध र अन्य कृषि फसल जनकपुरदेखि जयनगरसम्म बजारमा तत्कालै पुग्नेछ”–लोहारपट्टी नगरपालिका–४ का वडाध्यक्ष जीतेन्द्र चौधरीले भने–“यसले किसानको जीवनस्तरमा निश्चित सुधार ल्याउने छ ।” कुर्थाबाट ५/६ किलोमिटरको दूरीमा पर्ने भङ्गाहा नगरपालिकाको हरिनमरी, अजगेवा, भीमगढ, कटैया र टिकुलियासम्मका किसानले रेल चलेपछि आफ्नो बारीको तरकारी तुरून्तै भारतीय बजारसम्म पुग्ने आस सगाँलेका छन् ।

“रेल चलोक त जीवन बड आसान भजायत (रेल चलेपछि जीवन सजिलो बन्नेछ)”– भङ्गाहा नगरपालिका–९ हरिनमरीका ९० वर्षीय जितन यादवले भने–“मुदा बुझाइय जिनगी अही भरोसे लटकल रहत” (तर, लाग्दैछ जीवन यसै ैआसमा झुन्डिएको छ ) । तीन वर्षयता प्रत्येक वर्ष रेल चल्ने कुरा बाहिरिने गरेपनि कुरामैं सीमित भएपछि अब चलेपछि चल्यो भन्ने बुझिने यादवको भनाइ छ । “रेल विभागका हाकिमले दुर्ई/तीन वर्ष अघिदेखि नै रेल चाँडै चल्छ भन्दै आएका छन्, तर त्यो कुरामैं रह्यो”–भङ्गाहा–९ कै अजगेवा बस्तीका सत्यनारायण साहले भने–“कति सुन्नु त्यो उधारो कुरा… रेल सञ्चालन भएपछि बुझौंला, ए अब चलेछ ।” तर यी गुनासाबीच रेल चलेपछि आफूहरूको दिन राम्रो हुने साहको आस भने मरेको छैन ।

भारतको जयनगरबाट जनकपुर हुँदै बर्दिवाससम्म ६९ किलोमिटर दूरीमध्ये जयनगरदेखि धनुषाको कुर्थासम्म ३४ किमी दूरीमा आउने फेबु्रअरीमा रेल सञ्चालन भएपछि दोस्रो खण्ड (धनुषाको कुर्थादेखि महोत्तरीको भङ्गाहा–५ बिजलपुरा स्टेशनसम्म) पनि चाँडै रेल सेवा चल्ने नेपाल रेल्वे कम्पनीले जनाएको छ । कुर्थाबाट बिजलपुरासम्मका महोत्तरीमा पर्ने खुट्टापिपराढी, लोहारपट्टी, सिङ्ग्याही र बिजलपुराको स्टेशन भवन तयार भएको र लिक ओछ्याउने र पुलपुलेसा निर्माणको काम सम्पन्न भएको छ । अब अन्तिम चरणको व्यवस्थापन मिलाउन मात्र बाँकी रहेकोले थप १७ किमी (कुर्थाबाट बिजलपुरा) सेवा पनि चाँडै शुरू हुने महाप्रबन्धक झाको भनाइ छ ।

यता तेस्रोखण्ड भनिएको भङ्गाहादेखि बर्दिवाससम्मको १८ किलोमीटर दूरीभित्र भने बल्ल मुआब्जाको विषय टुङ्गिएको छ । गत भदौमा बर्दिवास (पुरानो बर्दिवास गाविस क्षेत्र) को मुआब्जाबारे निर्णय भएपछि अब तेस्रो खण्डको कामले पनि गति लिने कम्पनीको विश्वास छ । तेस्रो खण्डमा महोत्तरीका भङ्गाहा (हाल भङ्गाहा नपा–४) किसाननगर (हाल बर्दिवास–६ र ७) र धनुषाको बेङ्गाडाकर (हाल मिथिला नपा–९ र १०) पर्छ । महोत्तरीतर्फका भङ्गाहा र किसाननगरमा गत वर्षमैं जग्गा मुआब्जा निर्धारण गरिएर सोको दाबी गर्न जग्गाधनीलाई सूचना गरिएको हो ।

अब मुआब्जाको कुरा टुङ्गिएको हुँदा निर्माण कार्य अघि बढाउन सम्बद्ध पक्षलाई आग्रह गरिसकिएको महोत्तरीका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले बताए । नेपाल भारतबीच सन् २०१० मा भएको सम्झौता अनुरूप भारत सरकारको रु सात अर्ब २० करोडको आर्थिक सहयोगमा (सन् २०१० को इस्टिमेट) ब्रोडगेज रेल्वे विस्तारको काम सन् २०१४ मा शुरू गरिएको हो । यस अघि निर्माण कार्य थालिएको पाँच वर्षभित्रै रेल सेवा सञ्चालन हुने बताइए पनि यस काममा एकपछि अर्काे अवरोध थपिंदै जाँदा रेल सेवा सञ्चालनको काम लम्बिंदै गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here