• सञ्जय मित्र

राइनिसी मिडिया एन्ड रिसर्च सेन्टर, काठमाडौंले मकवानपुरमा मिडिया (एक अनुसन्धानमूलक पुस्तक) प्रकाशमा ल्याएको छ । पुस्तकको नाम नै आकर्षक छ र कृतिको शीर्षकले नै विषयवस्तुको सम्पूर्ण अनुमान सार्थक तुल्याउँछ ।

मकवानपुरमा रहेर पत्रकारिता गर्दै आएका ऊर्जावान्, क्रियाशील, सार्थक पत्रकारिताका पर्याय एक सङ्घर्षशील युवा अन्वेषक गिरिजा अधिकारीले मकवानपुरमा मिडियाको अनुसन्धान गरेका हुन् । साहित्यिक क्षेत्रमा पनि सक्रिय अधिकारीको मुख्य कर्म नै पत्रकारिता हो । प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार, प्रादेशिक शिक्षा पत्रकारिता पुरस्कार, कान्तिपुर पत्रकारिता पुरस्कार, क्रियाशील युवा पत्रकारिता पुरस्कार, सूचनाको हकसम्बन्धी प्रादेशिक पुरस्कारलगायतबाट पुरस्कृत अधिकारी विभिन्न सम्मानबाट सम्मानितसमेत छन् ।

मकवानपुरमा मिडिया एउटा गरिमामय पुस्तक हो । ऐतिहासिक दस्तावेज हो । पत्रकारिताको सिद्धान्तको बारेमा जान्न चाहनेका लागि यो कृति निकै महŒवपूर्ण साबित हुन सक्छ । र कुनै पनि भौगोलिक सीमाभित्र रहेर पत्रकारिताको इतिहास लेख्न चाहने अनुसन्धानकर्मीको लागि यो कृति एउटा सुन्दर मार्गदर्शक बन्न सक्छ ।

कठिन परिश्रमले तयार पारिएको प्रस्तुत कृतिलाई धेरै कोणबाट पठनीय र सङ्ग्रहनीय बनाइएको छ । छ खण्डमा विभाजित यस कृतिको पहिलो खण्डमा पत्रकारिताको इतिहास प्रस्तुत गरिएको छ । यस खण्डमा पत्रकारिताको परिचय, पत्रकारिताको परिभाषा, पत्रकारिताका तŒवहरू, पत्रकारिता र अन्य लेखनबीच भिन्नता प्रस्तुत गरिनुका साथै यसै खण्डमा नेपालको पत्रकारिताको विकासलाई सङ्क्षेपमा प्रस्तुत गरिएको छ । पत्रकारिताको सिद्धान्त र दर्शनसम्बन्धी जान्न चाहनेका लागि यो खण्ड निकै महŒवपूर्ण रहेको छ । पत्रकारिता पेशामा लागेका तथा पत्रकारिताबारे सैद्धान्तिक ज्ञान नजानेकाले यस खण्डबाट पर्याप्त लाभ लिन सक्छन् ।

पुस्तकको मूल खण्ड दोस्रो खण्डबाट शुरू भएको छ । कृतिको शीर्षकको दृष्टिकोणले दोस्रो खण्ड यस कृतिको आत्मा हो । मकवानपुरमा पत्रकारिताको विकासक्रम दोस्रो खण्डको शीर्षक हो । यस अन्तर्गत मकवानपुरमा पत्रकारिताको सुरुआत कसरी भएको हो, कहाँबाट भएको हो र पत्रकारिताकाका के कस्ता स्वरूपहरू रहेका छन् भन्ने विषयमा आधिकारिक प्रस्तुति रहेका छन्। मकवानपुरमा पत्रकारिताको क्षेत्रमा आएका हरेक नवमोडलाई एउटा काल मानिएको छ ।

उदाहरणको लागि मकवानपुरमा औपचारिकरूपमा पत्रिका दर्ता भएर पत्रिका प्रकाशन हुनुभन्दा पहिले पर्चा, पम्पलेट, भित्ते पत्रिका, हस्तलिखित पत्रिका आदिको युगलाई मकवानपुरे पत्रकारिताको पृष्ठभूमिकाल भनिएको छ । २०३७ मङ्सिर १२ गते मकवानपुर जिल्ला प्रशासन कार्यालयमा कमल थापा प्रकाशक सम्पादक रही विश्लेषण साप्ताहिक पत्रिका दर्ता गरिएको थियो। त्यस दिनदेखि मकवानपुर पत्रकारिताको साप्ताहिक तथा अन्य पत्रिकाको काल भनिएको छ ।

यसैगरी, २६ भदौ २०५३ मा जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा गढी टाइम्स दैनिक पत्रिका दर्ता भएको दिनदेखि मकवानपुरे पत्रकारिताको दैनिक पत्रिकाको काल भनिएको छ । साप्ताहिक पत्रिकाको कालमा अनेक साप्ताहिक पत्रिकाहरू दर्ता भए र धेरै प्रकाशन पनि भए । दैनिक पत्रिकाको कालमा पनि साप्ताहिक पत्रिकाहरू चलि नै रहे भने दैनिक पत्रिकाहरू पनि थपिंदै गए ।

दैनिक पत्रिकाको कालमा साप्ताहिक पत्रकारिता केही फिका जस्तो लाग्नु स्वाभाविक हो । मकवानपुरे पत्रकारितामा २० फागुन २०५६ देखि रेडियो पत्रकारिताको काल सुरुआत हुन्छ । हेटौंडामा मनकामना एफएम यसै दिन दर्ता भएको हो । हुनत मनकामना एफएम नेपालकै पहिलो व्यावसायिक रेडियोको गरिमापूर्ण इतिहास बोकेको मानिन्छ । यसपछि मकवानपुरमा अन्य एफएम रेडियोहरू खुल्ने क्रम जारी हुन्छ र मकवानपुरमा रेडियो पत्रकारिताले सूचनाको क्षेत्रमा एउटा क्रान्ति ल्याएको छ । ३१ असार २०६८ मा सूचना तथा सञ्चार मन्त्रालयले टीम टेलिभिजनलाई दर्ता अनुमति दिएपछि मकवानपुरे पत्रकारितामा टेलिभिजन पत्रकारिताको काल सुरुआत हुन्छ ।

यसैगरी, १२ वैशाख २०७४ मा मकवानपुरको पहिलो अनलाइनको रूपमा तुखबरडटकम सूचना विभागमा दर्ता भएको दिनदेखि मकवानपुरे पत्रकारिताको अनलाइन पत्रकारिताको काल आरम्भ हुन्छ । स्टेट भिजन प्रकाशक रहेको तुखबरडटकमभन्दा पहिले पनि मकवानपुरमा अनलाइन सञ्चालनमा नआएको होइन तर औपचारिक दर्ता भएर अनलाइनमा सञ्चालनमा आएको पहिलो अनलाइन तुखबरडटकम नै हो । यसपछि मकवानपुरे पत्रकारितामा अनलाइन पत्रकारिताको गज्जबको वर्चस्व रहेको छ । दुई दर्जनभन्दा बढी अनलाइनहरू सञ्चालनमा रहेका छन् ।

कृतिको तेस्रो खण्ड हो– मकवानपुरमा पत्रकारिताको संस्थागत इतिहास । यसको पहिलो उपखण्ड साझा संस्थाको विकासमा नेपाल पत्रकार महासङ्घ, मकवानपुर शाखाजस्ता अन्य केही साझा संस्थाको विकास र तिनले मकवानपुरे पत्रकारिताको विकास र प्रवद्र्धनमा पु¥याएको योगदानको चर्चा गरिएको छ । दलीय/वैचारिक संस्थाहरूको विकास उपखण्डमा विभिन्न राजनीतिक दलहरूको निकट मानिने पत्रकारिताका संस्थाहरूको गठन र तिनका प्रमुख व्यक्तित्वहरूबारे चर्चा गरिएको छ ।

कृतिको चौथो खण्ड हो– पत्रकारिता क्षेत्रका केही व्यक्तित्व । यसलाई पनि दुई उपखण्डमा विभाजन गरेर अध्ययन गरिएको छ । पहिलो उपखण्डको नाम दिइएको छ– मकवानपुरको पत्रकारिता क्षेत्रका केही व्यक्तित्व । यस अन्तर्गत ऋषि केबी, कमल थापा, कृष्णराम परियार, कौशल पाण्डे, नवराज शर्मा, प्रताप विष्ट, भानुभक्त आचार्य, मणिराज गौतम, महेन्द्र श्रेष्ठ, रामचन्द्र आचार्य फुर्सती, राममणि दाहाल, रामशरण दुलाल, लक्ष्मण बजगाईं, समीरकुमार नेपाल र हरिप्रसाद हुमागाईंको परिचय र मकवानपुरे पत्रकारितामा योगदानको सम्मान गरिएको छ । मकवानपुरका चर्चित पत्रकारको योगदानको चर्चा गरिनुले यस कृतिको ओज बढाएको छ ।

यसको दोस्रो उपखण्ड हो– मकवानपुरबाट पत्रकारिता शुरू गरी मकवानपुरबाहिर सक्रिय रहेका पत्रकारहरू । यस अन्तर्गत उमेश सुनार, खेम बोलखे, दीपक अधिकारी, धीरज बस्नेत, नरेन्द्र सापकोटा, प्रकाश ढुङ्गाना, युग पाठक, विजयराज खनाल, वैकुण्ठ ढकाल, सन्तराम बिंडारी, श्वेता सिन्हा, सञ्जय साह मित्र, सन्तोष देउजा, सुरेश बिडारी र होम कार्कीको पत्रकारिताको प्रारम्भिक परिचयका साथमा वर्तमानको पत्रकारिताको चर्चा गरिएको छ, जसले मकवानपुरे पत्रकारिताको सम्मानमा वृद्धि भएको महसूस गराएको छ ।

कृतिको पाँचौं खण्डको शीर्षक हो– अन्य सङ्घसंस्थाले मकवानपुरको पत्रकारितामा गरेको योगदान । यसमा दुई उपखण्ड रहेका छन् । यसको पहिलो उपखण्ड हो– सङ्घसंस्थाहरू । यस अन्तर्गत मकवानपुरे पत्रकारितामा योगदान दिने हेटौंडा उपमहानगरपालिका, नारायणी यातायात व्यावसायी सङ्घ, उद्योग वाणिज्य सङ्घ मकवानपुर, उद्योग सङ्घ हेटौंडा, मदन मेमोरियल ट्रस्ट, मातृभूमि साहित्य समाजजस्ता सङ्घसंस्थाहरूको पत्रकारिताको क्षेत्रमा दिएको योगदानको मूल्याङ्कन गरिएको छ ।

यसैगरी, दोस्रो उपखण्ड हो– सञ्चार माध्यम/सञ्चार संस्थाले पत्रकारका लागि स्थापना गरेका पुरस्कारहरू । यस अन्तर्गत नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखा, चलचित्र पत्रकार सङ्घ, तुखबरडटकम, खबरब्रेक डटकम, निकास साप्ताहिक, प्रेस सेन्टर मकवानपुर, प्रेस चौतारीले स्थापना गरेका पुरस्कारहरूको नामका साथै पुरस्कृत प्रतिभावान् सञ्चारकर्मीहरूको पनि नाम दिइएको छ । समग्रमा यस खण्डलाई सम्मानको खण्ड मान्नु राम्रो हुन्छ ।

कृतिको छैटौं वा अन्तिम खण्ड हो– उपसंहार । यस अन्तर्गत सन्दर्भ सूची र परिशिष्ट दिइएका छन् । सन्दर्भ सूचीमा त सन्दर्भ वा स्रोतहरू जनाइन्छन् र जनाइएको छ पनि । यसको परिशिष्ट पनि पत्रकारिता र इतिहाससम्बन्धी सामग्रीले भरिएको छ । यो उपखण्डको पनि विशिष्ट महŒव रहेको छ ।

प्रकाशक राइनिसी मिडिया एन्ड रिसर्च सेन्टर, काठमाडौंका अध्यक्ष नवराज न्यौपानेद्वारा प्रस्तुत प्रकाशकीय लेखले कृतिकार अधिकारीको प्रशंसा गाउँदै कृतिको महŒवबारे सार्थक शब्द खर्च गरेका छन् । यस लेखले कृतिप्रति स्वाभाविक चासो बढाउने कार्य गर्दछ । अनुसन्धानकर्मी अधिकारीले मकवानपुरमा मिडिया भनेर प्रस्तुत गरेको लेखकीय मन्तव्यमा लेखनका नालीबेली प्रस्तुत गरेका छन् । यस मन्तव्यमा लेखकले लेखनको उद्देश्य, कारण र अपेक्षा सबै इमानदारीपूर्वक राखेका छन् । लेखनको तयारी अर्थात् रचनागर्भका केही पीडालाई पनि पस्केका छन् र सहयोग गर्नेहरूप्रति आभार पनि प्रकट गरेका छन् ।

यस कृतिमा विनोद ढुङ्गेलले लेखेको आमुख पत्रकारिताको इतिहासलेखनमा एक अनुकरणीय पहलमा विश्व पत्रकारिताको साथै नेपाली पत्रकारिताको संक्षिप्त इतिहास नै खोतलिएको छ । पत्रकारिताको सामान्य ज्ञान जान्न चाहनेको लागि यो आलेख निकै उपयोगी हुनेछ । नेपालको कुनै पनि जिल्लाको पत्रकारिताको इतिहासलेखनको लागि यो कार्य अनुकरणीय हुने कुरा पनि यसमा बताइएको छ । एउटा संयोग नै भन्नुपर्दछ । मैले कुनै दिन कृतिकारसित भनेको थिएँ– यसले अन्य जिल्लाको इतिहासलेखनलाई सहयोग पु¥याउँदै तपाईंलाई वाग्मती प्रदेशको पत्रकारिताको इतिहासलेखनको लागि पनि यस कृतिले मार्गप्रशस्त गर्नेछ । ढुङ्गेलको आलेखमा पनि यस किसिमको भावको सार्वजनिकीकरण छ । यस आलेखले कृतिको महŒवलाई अझ बढाएको छ ।

चार सय मूल्यमा दुई सय पृष्ठको यो पुस्तक विषयवस्तु र छपाइ दुवैमा उत्कृष्ट छ । यस कृतिले पत्रकारितामा लागेकालाई सम्मान गरेको छ । पत्रकारितामा योगदान दिएकाको गौरवमा वृद्धि गरेको छ । पत्रकारिताको बारेमा जान्न चाहनेलाई खुराक दिएको छ । पत्रकारिता पढ्नेलाई कोर्सको विषयवस्तु प्रस्तुत गरेको छ । इतिहास लेख्नेलाई सन्दर्भ सामग्री दिएको छ । र कृतिको समग्रताले कृतिकारको अनेक क्षमता र सम्भावनाको परिचय दिएको छ । यस कृतिका लागि कृतिकार अधिकारी र प्रकाशन संस्था दुवै साधुवादका पात्र छन् ।

यस कृतिको अबको संस्करणमा वर्तमानमा मकवानपुरका मिडियाहरू, मिडिया हाउसको अवस्था, मकवानपुरे पत्रकारिताको मूलभूत प्रवृत्ति, रोजगारको क्षेत्रमा मकवानपुरे पत्रकारिताले दिएको योगदानका साथै विधागत पत्रकारिताको अवस्था, नेपालको पत्रकारितामा मकवानपुरे पत्रकारिताको स्थान आदि जस्ता विषयहरूलाई पनि सङ्क्षेपमा समेट्न सके सुनमा सुगन्ध हुने थियो भन्ने सुझाव दिन सकिन्छ । समय, साधनस्रोत र अर्थाभावसहित पर्याप्त सहयोगविना यतिको गहन र सजीव कृति प्रकाशमा ल्याउने कार्यलाई आफैंमा ऐतिहासिक र साहसिक कार्य मान्नु उचित हुन्छ । मकवानपुरे पत्रकारितामार्फत यस कृतिले समग्र पत्रकारिताप्रति गरेको न्याय छ । भविष्येतिहासको लागि यो मार्गदर्शक दस्तावेज बन्न पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here