प्रस, वीरगंज, २३ पुस/

वीरगंज–२ छपकैयास्थित श्रीराम कोलोनी जग्गा प्रकरणले अहिले नयाँ मोड लिएको छ । शुक्रवार सत्रजना जग्गाधनीले रवि कुमार र प्रेम जाटियाविरुद्ध दिएको मुद्दा फिर्ता लिन जिल्ला प्रहरी कार्यालय, पर्सामा निवेदन दर्ता गराएका छन् ।

वास्तविक जग्गामा मोही रहे पनि जग्गाधनी रवि कुमार र प्रेम जाटियाले सत्रजना जग्गाधनीलाई मोही नभएको भन्दै जग्गा बिक्री गरेका थिए । मोही नभएको जग्गा किनेका सत्रजनाले एक वर्षअघि रवि कुमार र जाटियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा ठगी मुद्दा दर्ता गराएका थिए ।

जाटियाकी पत्नी निधि जाटिया तथा मोही राजुसिंह राजपूतविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा परेको उजूरीको आधारमा उनीहरूविरुद्ध ठगी तथा सङ्गठित अपराध मुद्दा विचाराधीन छ। मुद्दा छिनोफानोको लागि आज सत्रजना जग्गाधनी जिप्रका, पर्सामा पुगेर दर्ता गराएको मुद्दा फिर्ता तथा मिलापत्र गरी पाऊँ भनी निवेदन दिएका छन् ।

जग्गाधनी जाटियाले मोही कट्टा गरेबापत मोही राजपूतलाई रु एक करोड दिएपछि जग्गा किनेका सत्रजनाले मिलापत्रको लागि निवेदन दिएको बताइन्छ ।

कानून व्यवसायीका अनुसार जाटियाले ठगी गरेका छन् । वास्तविक मोहीले आफ्नो अंश पाएर लगत कटाएपछि सत्रजना जग्गाधनीले जग्गा पाएको उनको भनाइ छ । श्रीराम कोलोनी जग्गा प्रकरणमा जाटियाले सत्रजनासँग ठगी गरेको मुद्दा जिल्ला अदालत, पर्सा तथा अन्य निकायमा विचाराधीन रहेको अवस्थामा कानून बमोजिम कारबाई हुनुपर्ने कानून व्यवसायीले बताए ।

श्रीराम कोलोनीको जग्गा प्रकरण के हो ?

वीरगंजको रेलवे सडकनजीक छपकैयामा रहेको श्रीराम कोलोनीमा रहेका १७ जना जग्गाधनीले आफूहरू ठगिएको १० वर्षपछि थाहा पाएका थिए । तत्कालीन जग्गाधनी रवि कुमार तथा अधिकृत वारेसनामा रहेका जाटियाले मोही जग्गालाई एकल अधिकारको जग्गा हो भन्दै १७ जनालाई बिक्री गरेका थिए ।

खरीदकर्ता १७ जनामाथि १० वर्षपछि मोही राजुसिंह राजपूतले अंशको मुद्दा दर्ता गरेपछि उनीहरूले आफूहरू ठगिएको थाहा पाएका थिए । १७ जनाले २०७७ चैत १ गते जग्गाधनी रवि कुमार र प्रेम जाटियाविरुद्ध जिल्ला प्रहरी कार्यालय, पर्सामा ठगी मुद्दा दर्ता गरेका थिए । २०६० सालदेखि बिक्री शुरू भएको श्रीराम कोलोनीको जग्गामा १७ जना २०६५ सालदेखि घर बनाइ बसेका छन् ।

रुद्रदेवी उपाध्यायबाट ६० नम्बर कित्ता गोपाल अग्रवालले खरीद गरेको र अग्रवालले जाटियालाई बिक्री गरेपछि ६० नं कित्ताबाट २०६० सालमा जाटियाले ७ कट्ठा जग्गा खरीद गरी ३५ नं कित्ता बनाइ कित्ताकाट गरी १७ जनालाई बिक्री गरेका थिए ।

रुद्रदेवी उपाध्याय र गोपालप्रसाद अग्रवालको लालपुर्जामा मोहीवाला गुल्जारसिंह राजपूत रहेको तर जाटियाले खरीद गरेको जग्गामा मोही महल खाली राखी एकलौटी बनाइएको थियो । एक्कासि मोहीवालाले भूमिसुधारमा मुद्दा हालेपछि आफूहरू बिचल्लीमा परेको भनी पीडितहरूले जिल्ला प्रहरी कार्यलयमा निवेदन दर्ता गरेपछि तत्कालीन प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जाटियामाथि सङ्गठित अपराध तथा ठगी मुद्दा दर्ता गरेका थिए ।

मुद्दा दर्तापछि के भयो ?

श्रीराम कोलोनी जग्गा ठगी प्रकरणमा प्रहरीले मुख्य अभियुक्त प्रेम जाटिया, उनकी पत्नी निधि जाटिया, रवि कुमार, मोही राजुसिंह राजपूत तथा लेखनदासलाई पक्राउ गरेको थियो । जाटिया पक्राउ परेपछि प्रहरीकै मिलेमतोमा थुनामा एक दिन पनि नबसी उपचारको नाममा वीरगंज र काठमाडौंका अस्पतालमा उपचार गराउँदै आएकामा अदालतले धटौरीमा रिहा गरेको थियो ।

जाटिया पक्राउ परेको तीन दिनपछि प्रहरीले सार्वजनिक गरेको थियो । प्रहरीले पटक–पटक मुद्दासम्बन्धी फाइल मालपोत तथा भूमिसुधारसँग तथा मालपोत कार्यालय, पर्सासँग माग गरे पनि चलखेलको आधारमा कर्मचारीहरूले फाइल नदिएपछि प्रहरीले जबरजस्ती फाइल नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here