चितवन, २२ पुस/रासस

चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा हिउँदे आगन्तुक जलपक्षी गणना भइरहेको छ । बुधवारबाट शुरू भएको गणना शुक्रवार सम्पन्न हुनेछ । नेपालमा हरेक वर्ष जनवरी १ बाट १६ तारिखसम्म जलपक्षी गणना गर्ने गरिन्छ । नेपालका १५ ठाउँका ६० वटा सिमसार खण्डमा जलपक्षी गणना गरिन्छ ।

जनवरी १ बाटै कोशी नदी, घोडाघोडी ताल र शुक्लाफाँटाका तालतलैयामा गणना थालिएको थियो । अन्य क्षेत्र समयानुकूल मिलाएर गणना गरिएको हो । नेपाल पक्षीविद् सङ्घको वाग्मती प्रदेश संयोजक वासु बिडारीका अनुसार आज बीस हजारी ताल र आसपासका क्षेत्रमा गणना भएको छ ।

बाटुली, कुमाल, टिकौली, सत्रहजारी ताल र नहर क्षेत्रमा आज १९ जना विज्ञले गणना गरेको उनले जानकारी दिए । गणकहरूले बुधवार लोथरखोलाबाट कसराघाटसम्मका विभिन्न क्षेत्र, निकुञ्जभित्रका लामिताल, तमोर ताल, पटना ताल, भण्डाराको मत्स्यपालन, बूढी राप्तीको चित्रसारी पुलबाट राप्ती दोभानसम्म गणना गरेका थिए ।

बर्ड एडुकेशन सोसाइटी चितवनका अध्यक्ष रमेश चौधरीका अनुसार शुक्रवार छुटपुटका ठाउँमा र पश्चिम चितवनमा गणना गरिंदै छ । राप्ती नदीको घठगाईबाट गोलाघाटसम्म, नारायणीको पूर्वी भङ्गला, नारायणीकै गाँजापुरबाट गोलाघाटसम्म र दिव्यनगरका घोल एवं फाँटमा चरा गणना गरिनेछ ।

पहिलो दिन ४२ जना गणकले गणना गरेका थिए । चौधरीले बाइनाकुलार क्यामेरा, जिपिएस, साउन्ड रेकर्डरलगायतको प्रयोग गरी चराको गणना गरिएको बताए । गत वर्ष चितवनमा ५५ प्रजातिका नौ हजार ५६५ चरा भेटिएको उनले जानकारी दिए । नेपालमा सन् १९८७ बाट चरा गणना थालिएको हो ।

नेपालमा जलपक्षी ठूलो सङ्ख्यामा चीनबाट आउने गर्दछन् । मङ्गोलिया, रूसको दक्षिणी भाग, साइबेरिया, मध्य एसियालगायतका ठाउँबाट धेरै चरा आउँछन् भने पूर्वी युरोपबाट निकै कम चरा आउने उनले जानकारी दिए ।

नेपालमा मात्रै नभएर एसिया क्षेत्रमा नै यही समयमा चरा गणना गरिन्छ । चराको रङ, शरीरको बनोट, आवाज हेरेर र सुनेर गणना गर्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here