कलैया, १८ पुस/रासस

यस वर्ष बारामा धान लगाएको क्षेत्रफल र धान उत्पादन दुवै बढेको छ । समयमैं मनसुन सक्रिय भएपछि गत वर्षको तुलनामा यो वर्ष दुर्ई हजार ९१४ हेक्टर बढी क्षेत्रफलमा रोपाइँ भएको थियो भने छ हजार ३५२ मेट्रिकटन बढी धान उत्पादन भएको थियो ।

कृषि ज्ञान केन्द्र, बाराका अनुसार चालू आर्थिक वर्षमा दुर्ई लाख ६२ हजार ७४१ दशमलव २५ मेट्रिकटन धान उत्पादन भएको छ । अघिल्लो वर्ष दुर्ई लाख ५६ हजार ३८९ दशमलव २५ मेट्रिक टन धान उत्पादन भएको थियो । यो गत वर्षको तुलनामा छ हजार ३५२ मेट्रिकटन धान बढी उत्पादन भएको हो ।

चालू आर्थिक वर्षमा उत्पादन भएको धानमध्ये अगहनी एक लाख ४१ हजार ५७७ दशमलव २५ मेट्रिक टन, भदैया ५१ हजार १९१ दशमलव पाँच मेट्रिक टन र चैते धान ६९ हजार ९७२ दशमलव पाँच मेट्रिक टन उत्पादन भएको केन्द्रका कृषि विज्ञ गेनालाल मण्डलले जानकारी दिए। उनका अनुसार चालू आर्थिक वर्षमा अगहनी ३४ हजार ११२ हेक्टर, भदैया ११ हजार ९०५ हेक्टर र चैते १५ हजार १०५ गरी कुल ६१ हजार १२५ हेक्टर क्षेत्रफलमा धानखेती गरिएको थियो।

गत आर्थिक वर्षमा अगहनी एक लाख ४५ हजार २०१ दशमलव २५ मेट्रिक टन, भदैया ५४ हजार ८८२ दशमलव छ मेट्रिक टन र चैते धान ५३ हजार ३०६ मेट्रिक टन उत्पादन भएको थियो । यसका लागि अगहनी १४ हजार १६५ हेक्टर, भदैया ११ हजार ९३१ हेक्टर र चैते १२ हजार ११५ हेक्टर क्षेत्रफलमा लगाएको केन्द्रका कृषिविज्ञ मण्डलले जानकारी दिए ।

बारामा कुल ६९ हजार ९६३ हेक्टर कृषियोग्य जमीन रहेको छ । तीमध्ये चुरेपहाडतर्फ ९९५, तराईतर्फ ६१ हजार ८१८ गरी कुल ६२ हजार ८२३ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको छ । तीमध्ये सात हजार १४० हेक्टर जमीन बाँझो रहेको छ भने वर्षैभरि सिञ्चित हुने ३३ हजार १३२ र आंशिक सिञ्चित हुने २९ हजार ६९१ हेक्टर क्षेत्रफल रहेको केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here