ख्रीष्टमस विशेष
- डा पीटर कमलेश्वर सिंह
परिचयः
डिसेम्बर २५ का दिन विश्वव्यापीरूपमा ख्रीष्टमस अर्थात् प्रभु येशू ख्रीष्टको जन्मोत्सव मनाउने गरिन्छ । नेपालको परिप्रेक्ष्यमा मण्डलीको आरम्भसँगै हर्षाेल्लासका साथ यस देशमा पनि प्रत्येक वर्ष अरू देशहरूमा जस्तै ख्रीष्टमस मनाउन आरम्भ भएको हो । समय बित्दै जाँदा ख्रीष्टमस मनाउने चलन पनि व्यापक हुँदै गइरहेको छ र वर्तमानमा यो मण्डली वा विश्वासी समुदायमा मात्रै सीमित रहेको छैन ।
प्रभु येशूमा व्यक्तिगतरूपमा विश्वास नगर्ने व्यक्ति वा समुदायले पनि उत्तिकै उत्साहका साथ ख्रीष्टमस मनाइरहेका हुन्छन् । तारे होटलहरूमा यो प्रचलन पहिलेदेखि छँदै छ । पश्चिमी देशहरूमा त अक्टुबर महीनादेखि नै ख्रीष्टमसको चहलपहल आरम्भ भइसकेको हुन्छ । मुख्य व्यापारिक केन्द्रहरू विशेष किसिमले सजाइएका हुन्छन् र स्कूल, कलेजहरूमा लामो बिदा दिइएको हुन्छ । त्यता सयौं वर्षदेखि चलिआएको प्रचलन अनुसार यो विशेष चाडको रूपमा मनाइन्छ । कति स्थानमा अत्यधिक मदिरासेवनले गर्दा ख्रीष्टमसको दिन वर्षको सर्वाधिक दुर्घटना वा मृत्यु हुने दिनमा पनि परिणत हुने गरेको छ ।
मानिसको स्वभाव अनुसार सबै कुरा सांसारिक दृष्टिकोणले हेर्ने बानी रहेकोले ख्रीष्टमसलाई पनि एउटा चाडको रूप दिने र सो अवसरमा खानपिन गर्दै मोजमस्ती गरेर बिताउने प्रचलन बढ्दै गइरहेको छ । प्रभु येशूको जन्म परमेश्वरको इच्छा र योजना अनुसार भएपनि यस अवसरलाई हेर्ने दृष्टिकोण र गरिने व्यवहारमा कुरीतिले स्थान पाउँंदै गइरहेकाले यसको वास्तविक महŒव हराउँदै गइरहेको भान हुन्छ । यसै कारण यस लेखमा प्रभु येशू ख्रीष्टको जन्मको उद्देश्य केलाउने प्रयास गरिएको छ ।
पृष्ठभूमिः
प्रभु येशूको जन्म आजभन्दा करीब २०२० वर्षअघि इस्राएल देशको यरुशलेम शहरनजीकै बेतलहेम गाउँमा रहेको एउटा गोठभित्र भएको थियो । बाइबल धर्मशास्त्रको नयाँ करारमा मत्ती रचित सुसमाचार र लुका रचित सुसमाचारका पुस्तकहरूमा उनको जन्मको विस्तृत विवरण दिइएको छ ।
पुरानो नियमको अन्तिम पुस्तक, मलाकी अगमवक्ताको पुस्तक लेखिएपछि नयाँ नियमको पहिलो पुस्तक मत्ती रचित सुसमाचारको आरम्भसम्मको ४०० वर्षको अन्तरालमा इस्राएल जाति वा यहूदीहरूको बीचमा परमेश्वरको कुनै पनि लिखित वा मौखिक सन्देश प्राप्त भएन । पुरानो नियमका ठूला–साना अगमवक्ताद्वारा मसीह वा ख्रीष्टको आगमनसम्बन्धी गरिएका विभिन्न अगमवाणीहरू पूर्ण हुने आशा गरेर परमेश्वरका चेलाहरू पर्खिबसेका थिए । यस कारण एकमात्र जीवित परमेश्वरमा विश्वास गर्ने यहूदी जातिमा यो एउटा ठूलो आत्मिक सुखापनको समय थियो ।
जातिगत आधारमा मानवजातिलाई दुर्ई श्रेणीमा वर्गीकरण गरिन्छ, यहूदी र गैरयहूदी (व्भधक ७ न्भलतष्भिक) वा अन्य जाति । गैरयहूदी वा अन्य जाति समुदायमा इतिहास आफ्नै गतिले अगाडि बढिरहेको थियो । एसिरियन र त्यसपछि बेबिलोनको शासनको उत्थान र पतनपछि रोमी साम्राज्यको उदय भयो र युरोपका साथै एसियाको अधिकांश देशमा रोमले शासन गरिरहेको थियो । यसैबीच बुद्ध जन्मेको ५०० वर्ष बितिसकेको र अधिकांश एसियाली देशहरूमा बौद्ध धर्मको प्रचारप्रसार भइसकेको थियो । आखिरमा परमेश्वरले आफ्ना अगमवक्ताहरूद्वारा बोल्नुभएको वचन र गर्नुभएका प्रतिज्ञाहरू पूर्ण हुने समय आइपुगेको थियो ।
प्रभु येशूको जन्मको उद्देश्य
येशूको जन्मको उद्देश्यलाई हामीले विभिन्न दृष्टिकोणले हेर्न सक्छौं तर सबैभन्दा उपयुक्त दृष्टिकोण परमेश्वरको दृष्टिकोण हुन्छ । किनभने यस योजनाको योजनाकार उहाँ स्वयम् नै हुनुहुन्छ । उहाँको दृष्टिकोण उहाँको वचन अर्थात् बाइबल धर्मशास्त्रमा उल्लिखित छ । हामी लुका रचित सुसमाचारका केही पद हेर्नेछौं, “तब स्वर्गदूतले तिनीहरूलाई भने, “नडराओ, किनभने हेर, म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु, जो सबै मानिसका निम्ति हुनेछ । आज दाउदको शहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ । तिमीहरूलाई चिन्हचाहिं यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र डूँडमा सुताइराखेको भेट्टाउनेछौं ।”
तब एक्कासि ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा प¥यो । परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, “सर्वाेच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिसहरूसँग उहाँ प्रसन्न हुनुहुन्छ ।”
तिनीहरूलाई शान्ति (२ः१०–१४)
स्वर्गदूतहरू परमेश्वरका विशेष दूतहरू हुन्, जसको काम, कर्तव्यमध्ये परमेश्वरको विशेष सन्देश मानिसलाई दिने हो, यस कारण बालकको रूपमा येशूको जन्म हुँदा स्वर्गदूतहरूको सक्रियतामा निकै वृद्धि भएको थियो र माथि उल्लिखित पदहरूमा परमेश्वरले गोठालाहरूलाई येशूको जन्मको उद्देश्यसहितको समाचार सुनाउन स्वर्गदूतहरूलाई पठाउनुभएको थियो ।
उपरोक्त पदहरूको विश्लेषण गर्दा हामी निम्नलिखित विशेष कुराहरू उल्लेख भएको भेट्टाउँछौंः
सम्पूर्ण मानव जातिको मुक्तिदाताको रूपमा प्रभु येशू ख्रीष्टको जन्म भएको छ ।
यस घटनाले स्वर्गमा परमेश्वरको महिमा भएको छ ।
पृथ्वीमा रहेका यस्ता व्यक्तिहरू, जसले येशूमा विश्वास गर्नेछन्, परमेश्वरसँग मिलापमा (शान्ति) आउनेछन् ।
सम्पूर्ण मानव जातिको मुक्तिदाताको रूपमा प्रभु येशू ख्रीष्टको जन्म भएको छ ।
मुक्ति भनेको के हो ? यस तथ्यलाई बुझ्यौं भने मुक्तिदाताको महŒव र आवश्यकता बुझ्न पनि सजिलो हुन्छ ।
सृष्टिको आरम्भमा पहिलो व्यक्ति आदम र उनकी पत्नीको रूपमा आदमकै करङ्गबाट बनाइएकी पहिली स्त्री हव्वाले परमेश्वरको आज्ञा उल्लङ्घन गरेका कारण पाप गरे र मृत्युको अधीनमा परे। यसको फलस्वरूप सम्पूर्ण मानव जाति (जो आदमका सन्तान हुन्)मा पाप र मृत्यु व्याप्त भयो। रोमी ५ः१२ मा उल्लेख गरिए अनुसार, “एकजना मानिसद्वारा संसारमा पाप आयो, र पापबाट मृत्यु ।
यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो ।” यसैले मानिसको रूपमा पाप गर्ने हाम्रो स्वभाव भएको छ । हामीले पाप गरेका कारण पापी ठह¥याइएका होइनौं तर पापी (पाप स्वभाव भएको) मानिस भएको कारण पाप गर्न बाध्य हुन्छौं । परमेश्वरको इच्छा सम्पूर्ण मानव जातिको लागि के हो भने प्रभु येशूमा विश्वास गरेर हामीले गरेका पापहरूबाट क्षमा पाऊँ र हाम्रो पाप स्वभावबाट पनि मुक्त हुन सकौं । यसै कारण प्रभु येशू यस संसारमा उद्धारकर्ता वा मुक्तिदाताको रूपमा आउनुभएको हो । जो उहाँले आफ्नो मृत्युद्वारा पूर्ण गर्नु भयो । जस्तो कि बाइबल धर्मशास्त्रमा लेखिएको छ, “तर परमेश्वरले हाम्रा निम्ति उहाँको प्रेम यसैमा देखाउनुहुन्छ, कि हामी पापी छँदै ख्रीष्ट हाम्रा निम्ति मर्नुभयो (रोमी ५ः८) ।
पापको कारणले परमेश्वरबाट टाढिएको मानव जाति प्रभु येशूको जन्म र मृत्युको कारण परमेश्वरसित मिलापमा आउन सम्भव भएको छ । मानव जातिको लागि यही आनन्दको सुसमाचार लिएर स्वर्गदूतहरू आएका थिए ।
यस घटनाले स्वर्गमा परमेश्वरको महिमा भएको छ
सृष्टिको मुख्य योजनाकारको रूपमा मानिसको लागि आरम्भमा परमेश्वरको योजना थियो, “मानिसलाई आफ्नै स्वरूपमा, हाम्रै प्रतिरूपमा बनाऔं । तिनीहरूले समुद्रका माछाहरू, आकाशका पक्षीहरू, पालिने पशुहरू र जमीनमा चलहल गर्ने सबै जन्तुहरूमाथि अधिकार प्राप्त गरूँ ।” यसै कारण परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।
परमेश्वरकै प्रतिरूपमा उहाँले तिनलाई सृष्टि गर्नुभयो ।
नर र नारी नै गरी उहाँले तिनीहरूलाई सृष्टि गर्नुभयो । (उत्पत्ति १ः२६–२७)
र मानिसलाई सोही अनुरूप सृष्टि गरिएको कुरा उपरोक्त पदहरूमा उल्लेख गरिएको छ । यहाँनिर दुष्ट या शैतानको उल्लेख्य भूमिका छ । किनभने परमेश्वरले दिनुभएका आज्ञाहरू तोडेर मानिसलाई पाप र मृत्युको अधीनतामा ल्याउन उसैले छल गरेको छ । यो घटना विस्तारमा हेरे राम्रो हुन्थ्यो तर यस लेखमा सम्भव देखिंदैन । यसमा महŒवपूर्ण कुरा के छ भने पापको कारण मानवजाति र परमेश्वरको बीचमा भय र अविश्वासको खाडल खन्न शैतान सफल भएको देखिन्छ । तर परमेश्वर यस्तो हुनुहुन्छ, जो आरम्भबाट नै अन्तसम्म हेर्न सक्नुहुन्छ र उहाँको सिद्ध योजना उहाँलाई नै थाहा छ, शैतानलाई वा मानिसलाई हैन ।
परमेश्वर पवित्र हुनुहुन्छ र मानिसलाई पनि पवित्र पार्ने उहाँको इच्छा हो । पवित्रता भनेको यस्तो अवस्था हो, जहाँ पापको अस्तित्व हुँदैन, र हामी सबैलाई उहाँले पापरहित बनाउने इच्छा गर्नुभएको छ । यसको साथसाथै परमेश्वर सिद्ध पनि हुनुहुन्छ । सिद्धता भनेको पवित्रताभन्दा पनि माथिल्लो अवस्था हो जहाँ पाप के हो ? सो थाहा पाएर स्वेच्छाले पापलाई यसका सबै आकर्षणसहित जरादेखि नै निर्मूल गरिएको हुन्छ । परमेश्वरको इच्छा हामी पवित्र मात्र हैन तर सिद्ध पनि होऊँ भन्ने हो ।
प्रभु येशूको जन्म र क्रूसको मृत्युको कारणले मानिसको लागि पापको क्षमा पाउन र पाप स्वभाव निर्मूल पार्न सम्भव भएको छ । यो सिद्धताको आरम्भ हो र येशूमा विश्वास गरी आज्ञाकारी र समर्पित जीवनद्वारा क्रमिकरूपमा सिद्धतातर्फ अघि बढ्दै गरिन्छ ।
प्रभु येशूको जन्मले स्वर्गमा परमेश्वरको इच्छा पूर्ण भए जस्तै यस पृथ्वीमा पनि उहाँको इच्छा पूर्ण हुने सम्भावना भएकोले परमेश्वरको महिमा भएको छ । पृथ्वीमा रहेका यस्ता व्यक्तिहरू जसले येशूमा विश्वास गर्नेछन्, परमेश्वरसँग मिलाप (शान्ति)मा आउनेछन् ।
“किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् (यूहन्ना ३ः१६) ।” उपरोक्त पदमा मानव जातिको लागि रहेको परमेश्वरको प्रेम र त्यसको फलस्वरूप येशूलाई यस संसारमा बलिदान हुनका लागि दिइएको कुरा उल्लेख छ । उद्देश्य के छ भने उहाँ (येशू)माथि विश्वास गर्ने कोही पनि नाश नहोस् अर्थात् नर्क जान नपरोस् तर अनन्त जीवन पाओस् । नर्क जानु भनेको परमेश्वरदेखि टाढा जानु हो ।
अनन्त जीवन पाउनु भनेको मृत्युमाथि विजय पाउनु हो र सधैंभरिको लागि परमेश्वरको उपस्थितिमा वा स्वर्गमा बस्नु हो । यो नै परमेश्वरसँग मिलाप हो । “यो सब परमेश्वरबाट भएको हो, जसले हामीलाई ख्रीष्टद्वारा आफूसँग मिलापमा ल्याउनुभयो (२ कोरिनथी ५ः१८) । यस प्रकार सृष्टिको आरम्भमा पहिलो मानिस आदमद्वारा आरम्भ भएको पाप र त्यसको फलस्वरूप व्याप्त भएको मृत्यु र अलगावको खाडल दोस्रो मानिस येशूद्वारा नष्ट गरी पापको क्षमा, पाप स्वभावलाई निर्मूल गर्न र परमेश्वरसित मिलाप या शान्ति सम्भव भएको छ ।
सारांश
उपरोक्त पङ्क्तिहरूमा धर्मको कुरा गरिएको छैन । प्रभु येशू कुनै धर्मको प्रवर्तक हुनुहुन्न । उहाँले परमेश्वरको राज्यको प्रचार गर्नुभएको हो । आफ्नो व्यक्तिगत जीवनको पवित्रता र आश्चर्य कर्महरूद्वारा परमेश्वरको राज्य र त्यसको सामथ्र्यको प्रदर्शन गर्नुभयो । उहाँ मानव जातिको पापमोचनको लागि मानवरूप लिएर जन्म लिनुभएको र सबै पाप आफूमाथि लिएर क्रूसको मृत्यु मर्नुभएको हो ।
तेस्रो दिनमा बौरी उठ्नुभएको येशू अहिले प्रभुहरूका महाप्रभु र राजाहरूका महाराजाको रूपमा परमेश्वरको दाहिने बाहुलीमा विराजमान् हुनुहुन्छ । उहाँ एक दिन फेरि आउनुहुन्छ तर त्यो दोस्रो आगमन उद्धारको लागि हैन, न्यायको लागि हुनेछ । बाइबल धर्मशास्त्रमा लेखिएको, “उद्धारको समय अहिल्यै हो ।” एकमात्र परमेश्वर र मानवबीचको एकमात्र उद्धारकर्ता येशूमा विश्वास गरेर मुक्ति पाउने समय अहिल्यै हो ।