• कुमार रुपाखेती

निर्दलीय र बहुदलीय व्यवस्थामा समेत पटक–पटक प्रधानमन्त्री बन्ने हस्तीका नाम सूर्यबहादुर र लोकेन्द्रबहादुर हुन् । २०४६ सालको राजनीतिक परिवर्तनपछि २०४७ सालमा राजनीतिक उद्देश्यका साथ यिनले राष्ट्रिय प्रजातन्त्र पार्टी गठन गरे । तर राप्रपा गठन भएको केही वर्षमैं तितरबितर हुन थाल्यो । कसैले गाई लिएर हिंड्यो, कसैले हलो बोकेर हिंडे । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बहुदलीय समर्थकहरू अझै पनि राजावादी दल भन्छन् । त्यसै पनि नेपालमा अझै प्रजातन्त्र, साम्यवादी र राजतन्त्रबीच नोकझोंक चलिरहन्छ । पूर्वमहापञ्चहरूको राप्रपा हेर्दाहेर्दै बालुवाको महलसरह भयो । त्यतिखेर पञ्चहरूलाई उदारवादी र अनुदारवादी दुई श्रेणीमा वर्गीकरण गरिन्थ्यो ।

सुविधाभोगी, शक्तिशाली महापञ्चहरूको राप्रपामा लामो समयपछि नेतृत्व परिवर्तन भएको छ । धेरैले नामै नसुकेका शक्तिहीन र सर्वहारा स्तरका व्यक्ति नेतृत्वमा पुगेका छन् । जस्तोसुकै व्यक्ति नेतृत्वमा आए पनि राप्रपाको जग निकै कमजोर भइसकेको छ । त्यसैले होला सूर्यबहादुर थापाका छोरा सुनील थापा काङ्ग्रेसमा विलीन भए । तर पनि राप्रपालाई उकास्न लोकेन्द्रबहादुर चन्द, पशुपति शम्शेर, प्रकाशचन्द्र लोहनीहरू प्रयत्नशील देखिन्छन् ।

अध्यक्ष पदमा पराजित कमल थापाले बर्दास्तको ट्याबलेट खान जरुरी देखिन्छ । जतिसुकै विरहका गीत गाए पनि यो एकपटकको अवसर उनको हातबाट गुमेको छ । थोरबहुत भएपनि राप्रपाको बीउ जोगाइराख्न कमल थापाको योगदानलाई नकार्न सकिंदैन । अनि पराजयको भारी अरूको थाप्लोमा बिसाउने नेपाली राजनीतिक परम्परा नै हो ।

हाम्रो पर्सा जिल्लाको कुरा गरौं । २०३७ सालको जनमत सङ्ग्रहमा पर्सामा सुधारिएको पञ्चायत अर्थात् पहेंलोले जितेको थियो । पहेंलोको त्यो जीत पर्सामा अहिले ‘रात गई, बात गई’ भइसकेको छ । सुखद र उज्ज्वल भविष्यको खोजीमा उतिबेलाका थुप्रै कथित पर्सेली राजावादी पञ्चहरूले खेमा परिवर्तन गरे । पर्सामा बहुदल आगमनपछि समेत संसद्मा जित्ने राप्रपाका हस्ती राजीव पराजुली हुन् भने राप्रपाबाट नगरप्रमुखमा जित्ने अर्का हस्ती विमल श्रीवास्तव हुन् ।

सांसद र मन्त्री भएपछि पराजुलीले सानो अवधिमा नाम र दाम कमाए । तर राप्रपालाई पर्सामा यिनले उकास्न सकेनन् । राप्रपामा तलबितल परेपछि विमल श्रीवास्तवले यो पार्टी त्यागे । अहिले पनि श्रीवास्तव पर्साका कद्दावर र ताकतवर नेता मानिन्छन् तर यिनको राजनीतिक आसन स्थिर देखिंदैन । राजीव पराजुलीसँग पुराना राजावादी धेरै छन् भने श्रीवास्तव केही पुराना र केही नयाँको सम्पर्कमा छन् । तर पर्साका धरोहर मानिने यी दुई हस्ती एउटा राप्रपा र अर्का अर्कै दलमा आबद्ध छन् ।

समयचक्रले यिनीहरू लाखापाखा लागेपछि पर्सामा राप्रपा तितरबितर भएको देखिन्छ । राप्रपाको निष्क्रियतापछि पर्सामा स्वस्फूर्त राजावादीहरू पूर्वराजारानीको जन्मदिन आदिमा राष्ट्रिय झन्डासहित खेमा–खेमामा वीरगंजमा जुलुस निकालिरहेका देखिन्छन् । जनक साह र अन्यहरू अहिले पर्सामा राजावादीको नाममा सक्रिय देखिन्छन् । तर राष्ट्रिय प्रजातन्त्र पार्टीसँग यिनको कुनै सम्बन्ध र लेनादेना देखिंदैन । राजावादी भनेर पर्सामा चिनिने जनक साहहरू एकदमै विपन्न परिवारका मानिन्छन् । यिनका जस्तै अरू समूह पनि यदाकदा राजतन्त्र जिन्दाबाद भन्दै वीरगंजका सडकमा कराइरहेका देखिन्छन् ।

स्वस्फूर्तरूपमा राजावादी भएका यस्ता समूहहरूसँग छलफल गर्नसमेत राप्रपा पर्साले कन्जुस्याइँ गरेको देखिन्छ । खुम्चिएर बसे पनि पूर्वराजावादीहरू पर्सामा काङ्ग्रेस, कम्युनिस्टमा प्रवेश गरेका देखिंदैनन् । भनिन्छ, पर्सा जिल्लामा राप्रपाको बिंडो थामेर बसेका राजीव पराजुलीमा अझै नेताको होइन कार्यकर्ताकै गुण देखिन्छ रे । नजाने यिनी कहिले नेता बन्ने हुन् । एकताका पर्सामा चन्द्रदेव चौधरी, गोखुल कुर्मी, फजिल खलिफा, विमल श्रीवास्तव, राजीव पराजुली, प्रदीप सुवेदी, हरिशङ्कर सिंह आदिलाई पर्सा राप्रपाका हस्ती मानिन्थ्यो । यीमध्ये केही बिते केही निष्क्रिय भए, केही यताउता लागे ।

सङ्घर्षको अर्को नाम राजनीति हो । सङ्घर्षकै बलमा पर्सा जिल्ला कहिले पञ्चहरूको गढ, काङ्ग्रेसी गढ, मधेसवादीको गढ बन्दै गयो । होस्टेमा हैंसे गर्दै छरिएर रहेका राजावादीहरूलाई एउटै थलोमा ल्याउने, बिरक्तिएका पूर्वजहरूलाई भिœयाउने काममा पर्सा राप्रपाले सक्रियता बढाउने हो भने आफ्नो गुमेको प्रतिष्ठा हासिल गर्न धेरै कुर्नुपर्दैन । आफ्नो भन्या आफ्नै हुन्छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here