काभ्रेपलाञ्चोक, २९ मङ्सिर/रासस
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं विश्वविद्यालयले मुलुकको शैक्षिक विकास र दक्ष जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान गरेको बताएका छन्। प्रधानमन्त्री देउवाले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २७औं दीक्षान्त समारोहका अवसरमा आज विश्वविद्यालय तथा स्नातक विद्यार्थीलाई पठाएको शुभकामना सन्देशमा सो धारणा व्यक्त गरेका हुन्। उनले हालको मुख्य राष्ट्रिय चिन्ताको विषय बनेको जनशक्ति पलायन, सीपसँग शिक्षाको छुट्दै गएको सम्बन्ध र मुलुकको विकासमा अभाव हुँदै गएको दक्ष जनशक्तिको समस्यालाई केही हदसम्म भएपनि सम्बोधन गर्न सार्थक र सफल भएको जनाएका छन्।
विश्वविद्यालयको कुलपतिसमेत रहेका प्रम देउवाले स्थापनाको तीन दशक पूरा गरेको उपलक्ष्यमा यसका संस्थापक र सम्पूर्ण विश्वविद्यालय परिवारलाई बधाई दिए। सन्देशमा भनिएको छ, “मुलुकको लोकतान्त्रिक प्रणालीलाई सबल र सुदृढ बनाउन तथा मुलुकको अर्थतन्त्रलाई गतिशील बनाउन आलोचनात्मक सीपयुक्त र समय सुहाउँदो वैज्ञानिक एवं प्राविधिक ज्ञानले सुसज्जित जनशक्ति आवश्यक छ।”
प्रम देउवाले उच्च शिक्षा आर्जनका लागि नेपालीले बर्सेनि विदेशी विश्वविद्यालयलाई तिर्ने अरबौं रकम मुलुकभित्रै सदुपयोग गर्ने वातावरण निर्माण गर्न पनि नागरिकको माग अनुरूप शैक्षिक गुणस्तर मुलुकभित्रै विकसित गर्नु अपरिहार्य भइसकेको उल्लेख गरेका छन्। उनले विश्वविद्यालयले यी विविध क्षेत्रका लागि जनशक्ति उत्पादन गरेर मुलुकलाई ठूलो गुन लगाएको जनाएका छन्। “उच्च शिक्षाको उद्देश्य सीपयुक्त जनशक्ति उत्पादन गर्नु त हुँदै हो, त्यसभन्दा पनि बढी महत्वपूर्ण विषय हालका युवालाई असल, चरित्रयुक्त र देशभक्तिले भरिएको नागरिकमा रूपान्तरण गर्नु हो, यस विषयमा पनि विश्वविद्यालयले सधैंझैं उचित ध्यान पु–याएको मलाई लाग्छ,” उनले भनेका छन्।
प्रम देउवाले आजका युवा मुलुकको भविष्य निर्माता भएको चर्चा गर्दै असल र जिम्मेवार नागरिकका रूपमा मुलुकको उन्नति र प्रगतिमा निरन्तर योगदान दिने विश्वास व्यक्त गरेका छन्।
केयूको २७औं दीक्षान्त समारोहः एक हजार ४४९ विद्यार्थी दीक्षित
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको २७औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ।
कार्यक्रममा भारतीय विश्वविद्यालय सङ्घका महासचिव डा पङ्कज मित्तलले नेपाल र भारतबीच निकटको सम्बन्ध रहेको उल्लेख गर्दै संस्कार, संस्कृति र सभ्यताले छिमेकीमा प्रगाढता कायम रहिरहेको बताइन्। सुन्दर मुलुक नेपाल र भारतबीचको मैत्रीपूर्ण सम्बन्ध रहिआएको चर्चा गर्दै दीक्षित स्नातक विद्यार्थी नै भविष्यको निर्माता हो भनिन्। उनले भनिन्, “आफ्ना सन्तानप्रति अभिभावकको सबैभन्दा ठूलो उपहार शिक्षा हो, उनीहरूको शैक्षिक उन्नयन र आकाश छुने प्रगतिमा कुनै पनि अभिभावक बाधक बन्नुहुन्न।”
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेलले शिक्षा विकास र समृद्धिको मूलद्वार भएको उल्लेख गर्दै सन् २०३० सम्ममा दिगो विकास लक्ष्यका विभिन्न क्षेत्रमा गरिएको प्रक्षेपणको नेतृत्व शिक्षाले गर्ने बताए। उनले भने, “विश्वविद्याय ज्ञान, सीप र सिकाइको गुरुत्वको केन्द्र तथा व्यक्तिको मार्गदर्शन थलो हो, दीक्षित विद्यार्थीले राष्ट्र निर्माणको जिम्मा स्नातकको काँधमा छ।” उनले विभिन्न विधामा स्नातक भएका विद्यार्थीलाई उपाधि प्रदान गर्न अनुमति दिएका थिए।
विश्वविद्यालयका उपकुलपति डा भोला थापाले नेपालमा सक्रिय चिकित्सक जनशक्तिमध्ये करीब ४५ प्रतिशत काठमाडौं विश्वविद्यालयको उत्पादनले सेवा गरिरहेको उल्लेख गर्दै नेपाल सरकारले विश्वविद्यालयलाई शिक्षण अस्पताल निर्माणका लागि धुलिखेलको चौकोटमा ५०० रोपनी जमीन उपलब्ध गराएको स्थानमा फोक्सो अनुसन्धान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए। उनका अनुसार अस्पतालको प्राङ्गणमा ५० शøयासहितको ‘मल्टीडिसिल्निरी’ शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले ‘मेन्टल हेल्थ रिसर्च सेन्टर’ निर्माणको काम अघि बढेको र करीब एक हजार शøयाको ‘सुपर–स्पेशियालिटी/सब–स्पेशियालिटी’ सुविधासहितको विश्वविद्यालयको आफ्नै शिक्षण अस्पताल स्थापनाको कार्ययोजना छ।
कार्यक्रममा विश्वविद्यालयका विभिन्न विधामा एक हजार ४४९ स्नातक विद्यार्थी दीक्षित भएका हुन्। स्कूल अफ आर्टस्का २३४, स्कूल अफ एडुकेशनका १०४, स्कूल अफ इन्जिनीयरिड्ढा २९, स्कूल अफ लका ४०, स्कूल अफ म्यानेजमेन्टका ४१९, स्कूल अफ मेडिकल साइन्सेजका ५८१ र स्कूल अफ साइन्सका ४२ विद्यार्थी दीक्षित भएका थिए। साथै, यस वर्ष आर्टस्, एडुकेशन, इन्जिनीयरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स विषयका १२ जना पिएचडी र ३० जना एमफिलसहित स्नातक र स्नातकोत्तर तहका विद्यार्थी दीक्षित भएका हुन्।
दीक्षित विद्यार्थीमध्ये ४८ दशमलव ४५ प्रतिशत पुरुष र ५१ दशमलव ५५ प्रतिशत महिला छन्। यसैगरी, बङ्गलादेश, बेनिन, नेदरल्यान्ड, भारत, श्रीलङ्का, माल्दिभ्स, संयुक्त राज्य अमेरिका र रूसका १२३ जना विद्यार्थी दीक्षित भएका छन्। यस वर्ष मास्टर इन पब्लिक पोलिसी एन्ड म्यानेजमेन्टमा ११, मास्टर इन एजर्नी एफिसेन्ट बिल्डिङ डिजाइनमा तीन र मास्टर वाइ रिसर्च इन सिभिल इन्जिनीयरिङमा दुई गरी १६ जनालाई विश्वविद्यालयले पहिलोपटक उपाधि प्रदान गरेको छ।
विश्वविद्यालयले पहिलोपटक २०५१ सालमा दीक्षान्त समारोह आयोजना गरी एमबिएका १७ जना विद्यार्थीलाई उपाधि प्रदान गरेको थियो। विश्वविद्यालयबाट हालसम्म स्कूल अफ आर्टस्का तीन हजार २९, स्कूल अफ एडुकेशनका एक हजार ६२८, स्कूल अफ इन्जिनीयरिड्ढा तीन हजार ९५४, स्कूल अफ लका ११६, स्कूल अफ म्यानेजमेन्टका छ हजार ८०६, स्कूल अफ मेडिकल साइन्सेजका १७ हजार ६९३ र स्कूल अफ साइन्सका तीन हजार ३९१ गरी कुल ३६ हजार ६२४ दक्ष विद्यार्थीलाई उपाधि प्रदान गरिसकेको जनाइएको छ।