प्रस, जनकपुरधाम, २९ पुस/
लामो समयपछि बसेको प्रदेश २ प्रदेशसभाको बैठक पुनः एक साताको लागि स्थगित भएको छ। मुख्यमन्त्रीको राजीनामा माग गर्दै प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टीले बैठक अवरुद्ध गरेपछि सभामुख सरोज यादवले पुस ८ बिहीवार दिनको १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन्।
बुधवार बसेको बैठकमा दुईवटा अध्यादेश पेस भएका थिए। अध्यादेश पेस भएलगत्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालले बैठक अवरुद्ध गरेको हो। बैठकमा सामाजिक विकासमन्त्री नवलकिशोर साहले ‘प्रदेश कृषि विश्वविद्यालय अध्यादेश २०७८’ र ‘प्रदेश प्राविधिक विश्वविद्यालय अध्यादेश २०७८’ प्रदेशसभामा पेस गरेका थिए। प्रदेशसभाको कार्यसूचीमा प्रदेशको नामकरण तथा राजधानी तोक्नेसम्बन्धी प्रस्ताव रहे पनि बैठक अवरुद्ध हुन थालेपछि सो कार्यसूचीमा बैठक प्रवेश गर्न सकेन। प्रतिपक्षी लोकतान्त्रिक समाजवादी पार्टीको संसदीय दलका नेता जीतेन्द्र सोनलले सभामा मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री लालबाबू राउत गद्दीको राजीनामा मागे।
साइकल खरीद प्रकरणमा अनियमितता भएको अख्तियारको पहिलो चरणको अनुसन्धानमा देखिएकोले मुख्यमन्त्री गद्दीले अब मार्गप्रशस्त गर्नुपर्ने बताए। गत असार २० गते मुख्यमन्त्री गद्दीले विश्वासको मत लिने क्रममा साइकल खरीदमा थोरै कमीकमजोरी देखिएमा मार्गप्रशस्त गर्नेछु भनी दिएको अभिव्यक्ति उल्लेख गर्दै नेता सोनलले भने, “अख्तियारको छानबीनको पहिलो प्रतिवेदनमैं साइकल खरीद प्रक्रियामा अनियमितता भएको स्पष्ट भइसकेको छ। कमीकमजोरी स्पष्ट भइसकेकोले मुख्यमन्त्रीले तत्काल राजीनामा दिई मार्गप्रशस्त गर्नुपर्छ।”