काठमाडौं, २० मङ्सिर/रासस
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)लाई खतराजन्य पदार्थ (डेन्जरस गुड्स) ओसारपसार अनुमति पाएको छ ।
निगमको ६३ वर्षे इतिहासमैं पहिलोपटक अन्तर्राष्ट्रिय उडानमा खतराजन्य पदार्थ ढुवानीको अनुमति पाएको हो । नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई खतराजन्य वस्तु ढुवानीका लागि अनुमतिपत्र प्रदान गरेको हो । निगमले यसअघि अस्थायीरूपमा हरेक तीन महीनाका लागि अनुमति लिएर खतराजन्य पदार्थ ओसारपसार गर्दै आएकामा अब भने स्थायीरूपमा अनुमति पाएको छ ।
निगमको वाइड बडी ए–३३० जहाजको कार्गो बोक्ने क्षमता करीब १५ टन रहेकामा आगामी दिनमा खतराजन्य पदार्थ अन्तर्गतका विभिन्न औषधिजन्य र विद्युतीयजन्यलगायतका सामानहरूको ओसारपसारमा सहजता हुनेछ भने उक्त विमानको उच्चतम सदुपयोग भई निगमको सेवा प्रभावकारितामा अभिवृद्धि हुने निगमले विश्वास लिएको छ ।
उक्त अनुमतिपत्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सोमवार आयोजित कार्यक्रममा पर्यटनमन्त्री प्रेमबहादुर आलेको उपस्थितिमा प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई हस्तान्तरण गरे । योसँगै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले खतराको सूचीमा राखेर सुरक्षा अपनाएर ढुवानी गर्न सकिने गरी अनुमति दिएका वस्तु तथा पदार्थहरू ल्याउन नेपाल एयरलाइन्सले सहजरूपमा ढुवानी गर्न सक्नेछ ।
सो अवसरमा पर्यटनमन्त्री आलेले खतराजन्य पदार्थ आयात–निर्यातको अनुमति पाउनु नेपालका लागि उपलब्धि भएको र यसले खतराजन्य पदार्थ आयात–निर्यातमा अब व्यवसायीहरूलाई झन्झट नहुने तथा निगमलाई पनि आर्थिकरूपमा नाफा हुने विश्वास व्यक्त गरे।
उनले मन्त्रालय र मातहत निकायमा अनावश्यक खर्च कटौती गर्दै आर्थिक मितव्ययिता अपनाएको बताए । पर्यटनमन्त्री आलेले अर्बौंको घाटा बेहोरिरहेको निगमलाई वित्तीय सुधार गरी उपलब्ध स्रोत साधनको यथोचित प्रयोग गरेर आर्थिकरूपमा सुदृढ बनाउने दिशामा अघि बढेको स्पष्ट पारे । उनले भने, “वायुसेवा निगम नेपाली जनताले तिरेको राजस्वबाट खडा भएको संस्था हो, यसलाई कुनै पनि हालतमा माथि उठाउनै पर्छ, हामी चाहन्छौं कमभन्दा कम खर्च गरेर नेपाली ध्वजावाहक जहाज नाफामा जाओस् ।”
अहिले पनि निगमलाई रु ५० अर्बभन्दा बढी ऋण रहेको छ । नौ प्रतिशत ब्याज तिरिरहनुपर्ने बाध्यता छ । निगमलाई किस्ता तिर्न र ब्याज तिर्न पनि समस्या परिरहेको छ । आलेले आफू मन्त्रालय मातहतका सबै निकायको कमीकमजोरी, विकृति र विसङ्गति सुधार गर्न प्रयासरत रहेको उल्लेख गर्दै सहयोग गर्न सम्बन्धित पक्षलाई आग्रह गरे । पर्यटनमन्त्री आलेले निगमले प्राप्त गरेको प्रमाणपत्र उच्चतम कार्यको प्रतिफल र सराहनीय कार्य भएको उल्लेख गर्दै प्राधिकरण र निगम दुवै संस्थालाई बधाईसमेत दिए ।
प्राधिकरणका महानिर्देशक क्षेत्रीले लामो समयदेखि अड्किएको खतराजन्य वस्तु ओसारपसारसम्बन्धी अनुमति प्राप्त गरेकामा निगमलाई बधाई ज्ञापन गर्दै व्यावहारिक कार्यान्वयनमा जोड दिए ।
निगमका कार्यकारी अध्यक्ष अधिकारीले विगत ६३ वर्षदेखि हालसम्म निगम जेनरल कार्गो ओसारपसारमा मात्र सीमित रहेकामा आगामी दिनमा खतराजन्य पदार्थ अन्तर्गत पर्ने कार्गो सामानहरूको ओसारपसारमार्फत विदेशी मुद्रा मुलुकमा भिœयाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
विगत छ दशकभन्दा बढी अवधिदेखि राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा यात्रु तथा कार्गो सेवा प्रदान गरिरहेको निगमका लागि यो सेवाले आर्थिकरूपमा पनि निकै राहत मिल्नेछ । पर्यटनमन्त्रीको निर्देशन तथा निगमका कार्यकारी अध्यक्ष अधिकारीको सक्रिय सहभागितामा निगमले आफ्नो इतिहासमैं पहिलोपटक खतराजन्य वस्तु ओसारपसार गर्ने वायुसेवाको रूपमा अनुमति प्राप्त गरेको निगमले विज्ञप्तिमार्फत जनाएको छ ।
निगमले सात देशका नौ गन्तव्यमा दुईवटा वाइड बडी र दुईवटा न्यारो बडी गरी चार थान जहाजबाट अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।