काठमाडौं, १९ मङ्सिर/रासस
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजेन्द्र लिङ्देनको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। उक्त कार्यसमितिको उपाध्यक्षमा विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान र रोशन कार्की निर्वाचित भएका छन् ।
महामन्त्रीमा धवलशम्शेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाही निर्वाचित भएका छन् । पार्टीमा १९९ सदस्यीय कार्यसमितिको व्यवस्था गरिएको भएपनि १४९ पदका लागि निर्वाचन भएको थियो । अब बाँकी रहेका ५० केन्द्रीय सदस्य मनोनीत गरिनेछन् । चार उपाध्यक्ष, तीन महामन्त्री, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष, सात सहमहामन्त्रीलगायत पदाधिकारी नयाँ कार्यसमितिले मनोनीत गर्नेछ ।
नवनिर्वाचित अध्यक्ष लिङ्देनले सबै दल तथा समकालीन राजनीतिमा अब पुस्तान्तरणको खाँचो रहेको उल्लेख गर्दै २०४६ सालको परिवर्तनपछि असफल पुस्ताले नेतृत्व गरेका कारण देशमा रोजगार सिर्जना हुन नसकेकाले विकास र समृद्धि कायम हुन नसकेको बताए । उनले आफ्नो पार्टी कमजोर भएको अहिलेको अवस्थामा अवलम्बन गरेको हिन्दू राष्ट्र, संवैधानिक राजसंस्थालगायतका विषयलाई देशभर अभियान चलाएर अगाडि बढाइने र पार्टीलाई विधि तथा प्रक्रियाबाट सञ्चालन गरी गुटको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरे । अब हुने राष्ट्रिय चुनावमा पूर्ण समानुपातिक निर्वाचन प्रणालीको पक्षमा जोड दिइने उनको भनाइ छ ।
राप्रपाका नवनिर्वाचित पदाधिकारी र सदस्यको शपथ
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को सम्पन्न एकता महाधिवेशमा निर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनसहितका पदाधिकारी र केन्द्रीय सदस्यले शपथ लिएका छन् । आज आयोजित कार्यक्रममा केन्द्रीय निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले अध्यक्षसहित नवनिर्वाचित पदाधिकारीलाई शपथ गराउँदै प्रमाणपत्र प्रदान गरे ।
महाधिवेशनबाट उपाध्यक्षमा बुद्धिमान तामाङ, विक्रम पाण्डे, ध्रुवबहादुर प्रधान, रोशन कार्की तथा महामन्त्रीत्रयमा धवल शमशेर राणा, भुवन पाठक र कुन्तीकुमारी शाहीसहित १४९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए । राष्ट्रियता, प्रजातन्त्र र उद्धारवादको नीति अनुसार अघि बढेको राप्रपाले यो महाधिवेशनमार्फत नेतृत्वमा पुस्ता हस्तान्तरण गर्न सफल भएको छ ।
काङ्ग्रेस उपसभापति निधिद्वारा राप्रपा अध्यक्ष लिङ्देनलाई बधाई
नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्षमा विजयी भएका राजेन्द्र लिङ्देनलाई बधाई तथा शुभकामना दिएका छन् ।
उपसभापति निधिले आज विज्ञप्तिमार्फत राप्रपाको यस महाधिवेशनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यप्रणाली र त्यस प्रणालीमार्फत जारी भएको नेपालको संविधानको सफल कार्यान्वयनमा लिङ्देन नेतृत्वको राप्रपाले सहयोग पु¥याउने विश्वासका साथ सफल कार्यकालको कामना गरेका छन् ।