काठमाडौं, १९ मङ्सिर/रासस

सर्वोच्च अदालतमा झन्डै डेढ महीनापछि न्यायाधीशहरू इजलासमा बसी पूर्णरूपमा मुद्दाको सुनुवाइ गरी काममा फर्किएका छन् । सर्वोच्च अदालतमा गोला प्रक्रियाबाट आइतवार १० वटा इजलास गठन गरिएको थियो । त्यसमा आठ संयुक्त र दुई एकल इजलास गरी ३३६ थान मुद्दा सुनुवाइका लागि तोकिएको थियो ।

न्यायाधीश डा मनोजकुमार शर्माको एकल इजलासमा सुनुवाइका लागि १३ वटा मुद्दा तोकिएको थियो । पूर्णरूपमा सुनुवाइ भएर सबैमा आदेश भएको छ । न्यायाधीश दीपककुमार कार्की र बमकुमार श्रेष्ठको इजलासमा ३८ वटा मुद्दा सुनुवाइका लागि तोकिएको थियो । त्यसमा नौ वटा मुद्दामा फैसला र एउटा मुद्दामा आदेश भएको छ । अन्य इजलासमा पनि त्यस्तै प्रभावकारी सुनुवाइ भएको देखिएको छ । आज २३ वटा मुद्दामा फैसला र ४० वटा मुद्दामा आदेश भएको छ।

सर्वोच्च अदालतमा यही मङ्सिर १५ गतेदेखि गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ प्रारम्भ भएको हो । उक्त प्रक्रियाबाट पेसी तोकिए पनि प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ सङ्क्रमण र निमोनियाका कारण अस्पतालमा भर्ना भएको र कायममुकायम प्रधानन्यायाधीश नतोकिएको विवादका कारण बुधवार र बिहीवार प्रभावकारीरूपमा सुनुवाइ हुन सकेको थिएन । शुक्रवार पनि मुद्दामा राम्रो सुनुवाइ भएको थिएन ।

सर्वोच्च अदालतमा गत कात्तिक ७ गते आइतवार मध्याह्नदेखि प्रधानन्यायाधीशमाथि मन्त्रिमण्डल विस्तारमा भाग खोजेको भन्ने आरोपका कारण न्यायालयमा प्रश्न उठेको र उक्त प्रश्नको जवाफ, सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदन कार्यान्वयन गर्नुपर्नेलगायतका माग राख्दै न्यायाधीशहरूले सुनुवाइ गर्न इन्कार गरेका थिए ।

बन्दी र निवेदनका मुद्दाबाहेक अरू मुद्दामा सुनुवाइ हुन सकेको थिएन । यही मङ्सिर १५ गतेदेखि न्यायाधीशहरू र नेपाल बार एशोसिएशनका माग अनुसार गोला प्रक्रियाबाट पेसी तोकी सुनुवाइ गर्ने काम प्रारम्भ भएको छ । आजदेखि न्यायाधीशहरू पूर्णरूपमा काममा फर्केका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here