धनुषा, १९ मङ्सिर/रासस

जनकपुरधाममा आइतवार रामजानकी विवाहपञ्चमी महोत्सवको तेस्रो दिन धनुषयज्ञ मनाइँदै छ । त्रेतायुगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज रामको प्रतिकात्मक रूप धारण गरेका बालबालिकाले पनि धनुष भाँच्ने अर्थात् धनुषयज्ञ कार्यक्रम गरेको जानकी मन्दिरका महन्त रामतपेश्वर दासले जानकारी दिए ।

रामायणमा वर्णन गरिए अनुसार परशुरामले मिथिलाका राजा जनकलाई उक्त धनुष प्रदान गरेका थिए । राजा जनकले धनुष उठाएर बाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेकाले धनुषयज्ञमा चौतर्फीरूपमा दर्जनौं शक्तिशाली र बलवान् राजा महाराजा र राजकुमार सहभागी भएपनि कसैले धनुष हल्लाउन सकेनन् ।

अन्त्यमा आयोध्याबाट आएका दशरथपुत्र रामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर ताँदो चढाउन लाग्दा तीन टुक्रा भएको थियो । धनुषको तीन टुक्रामध्ये एक आकाश, एक धनुषाधाम र एक भारतको गिरिजास्थान गएको धार्मिक विश्वास छ । सप्ताहव्यापी विवाहपञ्चमीको पहिलो दिन नगरदर्शन र दोस्रो दिन शनिवार फूलबारी लीला सम्पन्न भइसकेको छ भने आज धनुषयज्ञ मनाइएको छ । विवाहपञ्चमीको चौथो दिन भोलि सोमवार तिलकोत्सव, मङ्गलवार मटकोर रहेको छ भने बुधवार मुख्य दिन विवाह महोत्सव रहेको छ ।

बिहीवार रामकलेवा गरी विधिवत्रूपमा विवाहपञ्चमी महोत्सव समापन हुनेछ । त्रेतायुगमा भगवान् राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरधाममा प्रत्येक वर्ष एक हप्तासम्म धूमधामले विवाहपञ्चमी महोत्सव मनाउने गरिन्छ ।

गत दुर्ई वर्षदेखि कोरोना महामारीले असर पारेको महोत्सवमा यस वर्ष धूमधामका साथ मनाउने तयारी रहेको मन्दिरका महन्त वैष्णवले बताए । अहिले विवाहपञ्चमीका अवसरमा जानकी मन्दिरलाई नवबेहुलीझैं सजाइएको छ भने जनकपुरधाम नगर क्षेत्रलाई सरसफाइ गरी मुख्य चोकमा प्रवेशद्वार निर्माण गरिएको छ । महोत्सव हेर्न देशभित्र र भारतसहित तेस्रो मुलुकका पर्यटकको पनि उल्लेख्य सहभागिता देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here