सधैं नुहाउनु सही कुरा हो । यसबाट ताजा महसूस गर्छौं र अन्य रोगबाट पनि बच्छौं । तर नुहाउने बेलामा धेरैजसोले गलती गर्छन् । यो गलती बिस्तारै–बिस्तारै कैयौं गम्भीर रोगका कारण बन्न सक्छ । हाल कोरोनाको महामारी चल्दैछ र जाडोको मौसम पनि छ । यसबेला नुहाउने समयमा केही गलती गर्नुहुँदैन ।
पटक–पटक नुहाउनुः सधैं नुहाउने एउटा बानी हुन सक्छ, तर जबसम्म तपाईंको शरीर फोहर हुँदैन र पसिनाले भिजेको हुँदैन भने सातामा धेरैपटक नुहाउनु आवश्यक छैन । सधैं नुहाउँदा छालाको स्वस्थ तेल र ब्याक्टेरिया निस्किन्छ । यसैले सधैं नुहाउँदा छाला सुक्खा र खस्रो हुन्छ र खराब ब्याक्टेरिया फाटेको छालाको माध्यमबाट शरीरभित्र प्रवेश गर्छ । जब शरीरलाई सामान्य फोहर र ब्याक्टेरियाको सम्पर्कमा ल्याउँछौं, तब यसले वास्तवमा तपाईंको प्रतिरक्षा प्रणालीलाई मजबूत गर्न मदत गर्छ । साथै धेरैपटक नुहाउँदा पानी पनि खेर जान्छ ।
गलत साबुनको प्रयोगः जीवाणुरोधी साबुन राम्रो किसिमको हुनुपर्छ, जसले थुप्रै जीवाणुलाई मार्न सक्छ । केही साबुनले छालालाई सुक्खा गर्छ । जसले गर्दा खराब ब्याक्टेरिया शरीरभित्र पस्न सक्छ । हलुका र सौम्य साबुन प्रयोग गर्नुपर्छ, जसमा मोइस्चराइजर होस् ।
तौलियालाई सही ढङ्गले नधुनुः भिजेको तौलिया ब्याक्टेरिया, यिस्ट, मोल्ड र भाइरसका प्रजनन स्थल हुन्छ । फोहर तौलियाले खुट्टाको नङमा खटिरा, चिलाउने, एथलिट फूट र कोठी हुन सक्छ । यसबाट जोगिन सातामा कमसेकम एकपटक तौलिया धुनुपर्छ । उपयोगपछि राम्ररी सुकाउनुपर्छ ।
तातो पानीले नुहाउनुः लामो समयसम्म तातो पानीले नुहाउनु जाडोमा मजा आउँछ तर यसले छालाको प्राकृतिक तेललाई हटाउँछ र सुक्खा र खस्रो बनाउँछ । शरीरलाई तातो पानीमा ५–१० मिनेटसम्म शावरमा राख्नुपर्छ । यदि एक्जिमा वा सोरायसिस भएको छ भने यसबाट निकै फाइदा पुग्छ ।
कपाललाई पटक–पटक धुनुः टाउको तैलीय छैन भने कपाललाई प्रतिदिन धुनुपर्ने आवश्यकता छैन । यदि तपाईंको कपाल घुम्रिएको, बाक्लो वा रासायनिकरूपले उपचारित छ भने कपाललाई कम धुनुपर्छ र सुक्खा हुन दिनुहुँदैन । यदि हरेक दिन कसरत गर्नुहुन्छ र पसिना बगाउनुहुनछ भने नियमितरूपले कपाल धुनुपर्छ । उमेर छिप्पिंदै जाँदा पटक–पटक स्याम्पु गर्नुपर्दैन, किनभने तपाईंको टाउकोमा कम तेल बन्न थाल्छ ।
शावरहेडको सफाइः शावरहेड ब्याक्टेरियाको घर हो, जब पानी चल्छ, तब ब्याक्टेरिया सासद्वारा शरीरमा प्रवेश गर्न सक्छ । तसर्थ शावरहेडलाई उम्लिएको पानीमा सफा गर्नुपर्छ । नुहाउनेबित्तिकै मोइस्चराइजर लगाउनुः लोशन, क्रिम वा कुनै पनि मोइस्चराइजरले छालालाई नरम पार्ने काम गर्छ । नुहाउने बित्तिकै यस्ता क्रिम लगाउनुहुँदैन । शरीर सुखेपछि केही मिनेटभित्रै मोइस्चराइजर लगाउनुपर्छ ।
गलत अङ्गमा साबुनको प्रयोगः शरीरका सबै क्षेत्र सफा गर्न साबुन आवश्यक हुँदैन । साबुनलाई काखी, कमर, खुट्टा, हात र अनुहारसम्म सीमित राख्नुपर्छ । गोप्य अङ्गमा साबुनको प्रयोग गर्दा जलन हुन्छ र प्राकृतिक ब्याक्टेरियाको सन्तुलन बिग्रिन सक्छ, जसले गर्दा ब्याक्टेरियल भेजिनोसिस हुन सक्छ ।
सानातिना काटेको वा घाउलाई नुहाउने बेलामा ढाक्नुपर्दैन । पट्टी उतारेर तातो पानी र साबुनले हरेक दिन सफा गर्नुपर्छ । सुखेपछि नयाँ पट्टी लगाउनुपर्छ । गम्भीर घाउको हेरचाहको लागि चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
बाथरूममा भएको पर्दाको सफाइः नुहाउने स्थानमा यदि पर्दा छ भने त्यसमा साबुनको मैलो जम्मा हुन्छ । यसले ब्याक्टेरिया उत्पन्न गर्छ । जसले गर्दा रोग पनि लाग्न सक्छ ।