काठमाडौं, १५ मङ्सिर/रासस

नेपालको न्यायालयको इतिहासमा पहिलोपटक सर्वाेच्च अदालतमा गोला प्रक्रियाबाट बुधवारदेखि मुद्दाको पेसी तोकी सुनवाइ प्रारम्भ भएको छ । सर्वाेच्च अदालतको नियमावली संशोधन गरी पहिलोपटक गोला तानेर इजलास गठन गर्ने र गोला तानेर नै मुद्दाको सुनुवाइमा भाग लिने अभ्यास प्रारम्भ भएको हो ।

उक्त प्रक्रियाबाट सर्वाेच्च अदालतमा ११ वटा इजलास गठन भएका छन् । तीमध्ये संयुक्त नौवटा र एकल दुर्ईवटा इजलास गठन भएका छन् ।

कुन न्यायाधीशका इजलासमा कस्ता मुद्दा छन् ?

न्यायाधीशहरू हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा सबैभन्दा कम एक थान मुद्दा छ । उनीहरूको इजलासमा मिलापत्रको आदेश संशोधन गरी पाऊँ भन्ने कृष्णबहादुर तामाड्ढो मुद्दा परेको छ । न्यायाधीश अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ । जसमा बन्दी प्रत्यक्षीकरण, अंश, फैसला बदर, हर्जाना क्षतिपूर्ति दिलाइ पाऊँ, किचलो मेटाइ हक कायम, अपुताली हक कायमजस्ता मुद्दाहरू परेका छन् ।

न्यायाधीशहरू दीपककुमार कार्की र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासमा १६ थान मुद्दामा पेसी तोकिएको छ । त्यसमा बन्दी र अन्य विविध खालका मुद्दाहरू रहेका छन् । न्यायाधीशहरू हरिकृष्ण कार्की र सुषमालता माथेमाको संयुक्त इजलासमा २८ थान मुद्दाको पेसी परेको छ ।

न्यायाधीशहरू विश्वभरप्रसाद श्रेष्ठ र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र डा मनोजकुमार शर्माको संयुक्त इजलासमा १५ थान मुद्दा, न्यायाधीशहरू अनिलकुमार सिन्हा र कुमार रेग्मीको संयुक्त इजलासमा सबैभन्दा बढी ४३ थान मुद्दामा पेसी तोकिएको छ ।

न्यायाधीशहरू प्रकाशमान सिंह राउत र हरिप्रसाद फुयाँलको संयुक्त इजलासमा १७ थान मुद्दा, न्यायाधीशहरू सपना प्रधान मल्ल र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासमा १९ थान मुद्दा, न्यायाधीशहरू तेजबहादुर केसी र नहकुल सुवेदीको इजलासमा २० थान मुद्दामा पेसी तोकिएको छ ।

त्यस्तै, एकल इजलासहरूमा न्यायाधीश मीरा खड्काको एकल इजलासमा १६ थान र न्यायाधीश कुमार चुडालको एकल इजलासमा १५ थान मुद्दामा गोला प्रक्रियाबाट पेसी तोकिएको छ । ११ इजलासमा २१७ मुद्दा सुनुवाइका लागि पेसी तोकिएको छ ।

गोला प्रक्रियामा कसरी तोकिन्छ पेसी ?

सर्वोच्च अदालतमा यसअघि प्रधानन्यायाधीशले पेसी तोक्ने कानूनी व्यवस्था थियो । आजदेखि त्यो प्रक्रियाको अन्त्य भएर गोला प्रक्रियाबाट पेसी तोक्न शुरू गरिएको छ ।

“गोला प्रक्रियामा सर्वाेच्च अदालतमा मुख्य रजिस्ट्रारले साप्ताहिकरूपमा पेसी तयार गरी शुक्रवार प्रकाशन गर्नुहुन्छ,” सर्वाेच्च अदालतका प्रवक्ता बाबुराम दाहालले भने, “मुद्दाको प्रकृति अनुसार छुट्याएको हुन्छ, बिदामा कति न्यायाधीशहरू रहने, एकल, संयुक्त र बृहत् कति इजलास गठन गरिन्छ, त्यसै बमोजिम हुन्छ ।”

प्रवक्ता दाहालका अनुसार कुन कुन न्यायाधीश कुन कुन इजलासमा पर्ने भन्ने कुरामा पहिला गोला टिपिन्छ । उपस्थित सबै न्यायाधीशले गोला तान्छन् । दुर्ईवटा मात्र एकल इजलास हुने भएकाले अ र आ भनेर सङ्केत गरिएको छ । बाँकी गोला खाली राखिन्छ । दुर्ई न्यायाधीश त्यहाँ रहन्छन् । बाँकी न्यायाधीशहरूको संयुक्त इजलासका लागि तय गरिन्छ ।

“जोर गतेका लागि १ देखि १० सम्म वरिष्ठ न्यायाधीशले गोला तान्नुहुन्छ, र बाँकी कनिष्ठ न्यायाधीश गोलाबाटै लिनुहुन्छ,” उनले थपे, “बिजोर गतेका दिन कनिष्ठमध्येको वरिष्ठ न्यायाधीशहरूले गोला तान्नुहुन्छ र गोलाबाट वरिष्ठ न्यायाधीश तान्नुहुन्छ ।”

यो प्रक्रियामा थैलीमा मुद्दाका लागि कदेखि क्रमशः मुद्दा अनुसार गोलाहरू राखिएका हुन्छन् । संयुक्त इजलासका न्यायाधीशहरू एकले गोला तान्नुपर्ने हुन्छ र सुनुवाइ प्रारम्भ हुन्छ । श्रीलङ्का, युरोपेली मुलुकहरूमा अटोमेशन (स्वचालित) प्रणालीको प्रयोग भएको छ । नेपालमा पनि सर्वोच्च अदालतमा न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेशनकै कुरा छ । अटोमेशन लागू नभएसम्मका लागि गोला प्रक्रियाबाट पेसीको व्यवस्थापन र सुनुवाइ गरिएको हो ।

स्वच्छ सुनुवाइको राम्रो अभ्यास हो –वरिष्ठ अधिवक्ता डा ज्ञवाली

वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीका अनुसार अटोमेशन प्रणाली शुरू नगर्दासम्म गोला प्रक्रियाबाट इजलास र मुद्दाको पेसी तोक्दा स्वच्छ सुनवाइ हुन्छ । “प्रधानन्यायाधीश मुद्दाको व्यवस्थापनबाट टाढा नै रहनुपर्छ भन्ने सिद्धान्त नै छ । विश्वका धेरै मुलुकमा अटोमेशनको अभ्यास छ,” उनले भने, “न्यायाधीश हरिकृष्ण कार्कीको प्रतिवेदनमा अटोमेशनबाटै गर्नुपर्नेछ तर उक्त प्रक्रियाको प्रारम्भ नभएसम्म गोला प्रक्रियाबाट मुद्दाको स्वच्छ सुनवाइको राम्रो अभ्यास हो ।”

नेपाल बार एशोसिएशनले मङ्गलवार प्रेस विज्ञप्तिमार्फत गोला प्रक्रियाबाट इजलास र पेसी व्यवस्थापन गर्ने कार्यको स्वागत गरेको छ । यद्यपि बारमा आबद्ध कतिपय कानून व्यवसायीले पनि गोला प्रक्रिया नै स्वच्छ सुनवाइको उचित मार्ग होइन भनेका छन् । प्रधानन्यायाधीशहरूसहित सर्वोच्च अदालतका न्यायाधीशहरूको यही मङ्सिर ८ गते बसेको पूर्ण बैठक (फूलकोर्ट)ले आजदेखि गोला प्रक्रियाबाट पेसी तोकी मुद्दाको सुनुवाइ गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here