राधेश्याम पटेल, वीरगंज, ९ मङ्सिर/

वीरगंजमा सुविधासम्पन्न अपार्टमेन्टको निर्माण कार्य शुरू भएको छ । साढे ९ रेक्टर स्केलसम्मको भूकम्पको धक्का थेग्न सक्ने १३ तले भूकम्प प्रतिरोधात्मक ‘राधेकृपा’को निर्माण कार्य गत अप्रिलबाट शुरू भएको हो ।

वीरगंजका सातजना व्यवसायीको संयुक्त लगानीमा वीरगंज–३ साइँमन्दिर रोडको पूर्वपट्टि यो विशाल संरचना तयार भइरहेको छ । वीरगंजमा अहिलेसम्मकै अग्लो संरचनाको लागि लगानीकर्ताहरूले जग्गाबाहेक करीब रु ८० करोड लगानी गरेको बताइएको छ ।

वीरगंजको प्राइम लोकेशन मानिने आदर्शनगरको पानीटङ्की चोकबाट पाँच सय मिटर दक्षिणमा ९ कट्ठा जग्गामा राधेकृपा हाउजिङ एन्ड इन्भेस्टमेन्ट प्रालि नामको कम्पनी दर्ता गरी निर्माण कार्य तीव्र गतिमा भइरहेको अपार्टमेन्टका लगानीकर्तामध्येका प्रभात रूँगटाले बताए ।

यो प्रोजेक्टमा रूँगटासहित वीरगंजका अमित अग्रवाल, मनीष अग्रवाल, पशुपति खण्डेलवाल, रोहित चाचान, सचिन खण्डेलवाल र प्रेम जाटियाको लगानी रहेको छ । कोरोना महामारीको बेला सुविधासम्पन्न अपार्टमेन्टको आवश्यकता महसूस गरी संयुक्त लगानीमा बनाउने निर्याण भएपछि योजना अघि बढाइएको मारुती फर्माका डाइरेक्टरसमेत रहेका व्यवसायी प्रभात रूँगटा बताउँछन् ।

उनका अनुसार काठमाडौंका जनकराज खनाल प्रबन्ध निर्देशक रहेको हिमालयन बिल्डर्सले दुई वर्षमा अर्थात् २०२३ अप्रिलमा प्रोजेक्ट फाइनल गरेर दिने गरी सम्झौता भई निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । हाल १२० जना प्राविधिक तथा कामदार निर्माण कार्यमा संलग्न छन् ।

अर्का लगानीकर्ता प्रेम जाटियाका अनुसार भौतिक संरचनामा करीब रु ५० करोड, फिनिसिङमा रु २५ करोड र क्लब हाउस तथा अन्य बन्दोबस्तीमा करीब पाँच करोड गरी रु ८० करोड लगानी लाग्ने अनुमान छ । अपार्टमेन्टमा दुईवटा भवनको टावर हुनेछ । अघिल्लो भवनमा ३३ वटा फ्ल्याट र पछिल्लो भवनमा ११ वटा फ्ल्याट हुने जनाइएको छ ।

कुल ४४ वटा फ्ल्याटमा २२ वटा फ्ल्याट तीन बिएचके र २२ वटा फ्ल्याट चार बिएचकेको हुनेछ। तीन बिएचकेको क्षेत्रफल २४ सय वर्गफिट रहेको छ भने चार बिएचकेको क्षेत्रफल ४४ सय वर्गफिट रहेको छ । अपार्टमेन्टको निर्माण कार्य शुरू भएलगत्तै अपार्टमेन्ट खरीद गर्नको लागि चासो बढिरहेको छ ।

तीन बिएचके करीब रु ३ करोडमा र चार बिचएके करीब रु ४ करोड पर्ने बताइएको छ । साढे १० हजार रुपैयाँ प्रति वर्गफिटको दरले फ्ल्याट बिक्री गर्ने लक्ष्य राखिएको छ । उक्त अपार्टमेन्टमा क्लब हाउस, जिम, स्वीमिङ पुल, मिनी थिएटर, सामुदायिक भवन, डिपार्टमेन्टल स्टोर, भ्याक्सिनेशन क्लिनिक, डाक्टर रूम, बार्बर रूम, खानेपानी, शौचालय, लिफ्टसँगै चौतर्फी पाँच मिटर चौडा बाटो र मुख्य बाटो २३ फिट चौडा रहने गरी डिजाइन गरिएको छ ।

वीरगंजमा २० वर्ष पहिले ६ नम्बर गेटनजीकै लक्ष्मी अपार्टमेन्ट, गणेश अपार्टमेन्ट, नेशनल ट्रेडिङनजीक प्रसन्न अपार्टमेन्ट, बिर्ताको त्रिवेणी गोपाल कम्प्लेक्सपछि शालिमार समूहको वीरगंज–३, छपकैयामा शालिमार होम्सपछि राधेकृपा अपार्टमेन्ट निर्माण भइरहेको छ । पछिल्लो समय रियल स्टेट व्यवसायमा वीरगंजका लगानीकर्ता केन्द्रित हुन थालेपछि अपार्टमेन्ट निर्माण भइरहेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here