आन्तरिक पर्यटनद्वारा गरीबी कम पार्न सकिन्छ

0
  • विश्वराज अधिकारी

केही अपवादबाहेक, हरेक देशसँग अनेक स्रोत र साधन हुन्छ । अति गरीब राष्ट्रसँग पनि अनेक किसिमका स्रोत र साधन हुन्छ । राष्ट्रहरू आफ्ना देशभित्र उपलब्ध स्रोत र साधनको उपयोग गर्न नसकेर गरीब भएका हुन्छन् । उदाहरणका लागि अफगानिस्तानलाई नै लिन सकिन्छ । अफगानिस्तान स्रोत र साधनले भरिपूर्ण देश हो । अफगानिस्तानले आफ्नो देशभित्र उपलब्ध स्रोत र साधनहरूको उपयोग गर्न सकेको त छैन नै, उल्टो यो मुलुक चार दशकदेखि गृह युद्धमा भासिएको छ । गृहयुद्धको यस दलदलबाट बाहिर आउन सकेको छैन ।

अफगानिस्तान विभिन्न राष्ट्रहरूको शक्ति प्रदर्शन गर्ने स्थल बन्दै आएको छ । कुनै समय रूसले अफगानिस्तानमा एक किसिमले प्रत्यक्ष शासन गरेको थियो । त्यसपछि अमेरिका त्यस मुलुकभित्र प्रवेश ग¥यो । युरोप अन्य विभिन्न मुलुक पनि अफगानिस्तानमा आफ्नो शक्ति प्रयोग गर्न पसे । अहिले पछिल्लो समयमा अफगानिस्तानको शासनको बागडोर त्यहाँकै राजनीतिक शक्ति, अति कट्टर धार्मिक नेताहरूको हातमा परेको छ । अहिले अफगानिस्तानमा कट्टर धार्मिक सङ्गठनका सदस्य, तालिबानीहरू शासन गरिरहेका छन् । अहिले अफगानिस्तानमा चरम गरीबी छ ।

मानिससँग सामान्य औषधी खरीद गर्न सक्ने क्षमता छैन । लाखौं अफगानी बेरोजगारी छन् । धेरै परिवार कैयौं दिनदेखि आधा पेट छन् । स्थिति यस्तै रहने हो भने आउने वर्षहरूमा अफगानिस्तानमा भोखमरीले लाखौं व्यक्तिको ज्यान लिनेछ । तर अफगानिस्तानलाई चरम गरीबीमा पु¥याउने त्यहींका नागरिक हुन् । अफगानिस्तानका कट्टर धार्मिक सङ्गठनहरूले यो मुलुकलाई राजनीतिक रूपमा स्थिर हुन दिएका छैनन् । उनीहरू बीचको निरन्तरको द्वन्द्वले राजनीतिक स्थिरता प्राप्त हुन सकेको छैन, साथै देश आर्थिकरूपमा टाट पल्टिने स्थतिमा पुगेको छ । अन्तर्राष्ट्रिय संस्थाहरूले तत्काल आर्थिक सहयोग नगर्ने हो भने अफगानिस्तानमा यो शताब्दीको नै ठूलो मानवीय सङ्कट देखा पर्न सक्छ । त्यो पनि तत्काल ।

तर आर्थिक स्रोत र साधनले भने यो मुलुक सम्पन्न छ । कट्टर धार्मिक सङ्गठनहरूले एक आपसमा मेलमिलाप कायम गरेर यी साधनहरूको उपयोग गर्ने हो भने यो मुलुक दक्षिण एशियाका धनी राष्ट्रहरूमध्ये एक हुन सक्छ । कसरी ? विश्व प्रसिद्ध बुद्धका मूर्तिहरू अफगानिस्तानमैं छन् । संसारभरिमा सबै भन्दा अग्ला बुद्धका मूर्तिहरू अफगानिस्तानमा छन्।

अफगानिस्तानको राजधानी काबुलको उत्तरपूर्वमा रहेको बामियान उपत्यकास्थित बुद्धका मूर्तिहरू संसारभरिका बुद्धका मूर्तिहरूमध्ये अग्ला मूर्ति मानिन्छन्, अति ऐतिहासिक मानिन्छन्। काबुलभन्दा १३० किलोमिटर पर रहेका बुद्धका मूर्तिहरू १२५ देखि १८० फिट अग्ला छन् । यी मूर्तिहरूको निर्माण ईशापूर्व ६१८ देखि ५७० मा भएको मानिन्छ । अग्ला पहाडहरूलाई खोपेर बनाइएका बुद्धका मूर्तिहरू संसारकै सम्पत्ति हो । यी मूर्तिहरू अवलोकन गर्न संसारभरिका मानिसले वर्षौंदेखि सपना पालेका हुन्छन् ।

अफगानिस्तानले बामियानस्थित बुद्धका मूर्तिहरूको व्यापक प्रचारप्रसार गरेर, पर्यटनबाट करोडौं डलर कमाउन सक्छ । देश र जनतालाई धनी पार्न सक्छ । तर भएको छ उल्टो । सन् २००१ मार्चमा तालिबानीहरूले बामियानस्थित बुद्धका मूर्तिहरूलाई बम पड्काएर ध्वस्त पारेका थिए । र त्यसरी ध्वस्त पार्ने आदेश तालिबानी नेता मुल्लाह मोहमद ओमारले दिएका थिए । त्यसरी ध्वस्त पार्ने कार्यको संसारभरिबाट विरोध भएपछि त्यसलाई सम्पूर्णरूपमा ध्वस्त पार्ने कार्य रोकिएको थियो । धार्मिक कट्टरपन्थी अफगानहरूले आफ्नो आर्थिक स्रोत आफैंले नष्ट पारेका थिए ।

कुनै राष्ट्रले आफूसँग भएका स्रोत र साधन उपयोग नगरेर, अनावश्यक कलहमा संलग्न भएर कसरी आफैंलाई गरीब बनाउँछ र सहयोगका लागि दाताहरूको अगाडि हात पसार्छ भन्ने ज्वलन्त उदाहरणको रूपमा अफगानिस्तान र त्यहाँका शासक (कट्टर धार्मिक सङ्गठन र ती सङ्गठनको पछि लाग्ने नागरिक) हरूलाई लिन सकिन्छ ।

नेपालको स्थिति पनि अफगानिस्तानझैं हुने अनुमान गर्न थालिएको छ । २०४६ सालदेखि नै नेपालमा राजनीतिक स्थिरता आउन सकेको छैन । दलहरूबीच विद्यमान अनवरत कलहले जनतालाई निराशा मात्र होइन, देशलाई गरीबीको अँध्यारो खाडलतिर धकेलिरहेको छ । देशमा महँगी चुलिएको छ । नेताहरू स्वार्थ केन्द्रित भएका छन् भने तीनै स्वार्थी नेताहरूलाई विजयी बनाउन मतदाताहरूबीच प्रतिस्पर्धा छ । कस्तो अचम्म !

नेपालसँग स्रोत र साधनको कमी भने छैन । के के स्रोत र साधन छन् ती सबैको चर्चा आगामी लेखहरूमा गरौंला । यहाँ केवल पर्यटन क्षेत्रको कुरा गरौं । नेपालले आफ्नो पर्यटन क्षेत्रको राम्रो उपयोग गर्ने हो भने हाम्रो मुलुक एशियामा नै प्रतिव्यक्ति बढी आय हुने देश बन्न सक्छ । जनसङ्ख्या कम तर स्रोत र साधन धेरै र अनेक भएकाले नेपाल एशियाको धनी राष्ट्रमध्ये एक हुन सक्छ । विश्वभरिका पर्यटकलाई आकर्षित गर्न सक्ने क्षमता भएका गन्तव्यहरू नेपालमा असङ्ख्य छन् । तीमध्ये केही यस प्रकार छन्–

१. पशुपतिनाथ मन्दिर एवं परिसर, २. सगरमाथा राष्ट्रिय पार्क, ३. नाम्चेबजार, ४. प्रचीन शहर पाटन, ५. भोटेकोशी क्षेत्र, ६. काठमाडौ दरबार, वसन्तपुर क्षेत्र, ७. फेवाताल, ८. भक्तपुर दरबार क्षेत्र, ९. चितवन राष्ट्रिय पार्क, १०. अन्नपूर्ण सेन्चुरी ट्रेक, ११. बुद्ध स्तूप, काठमाडौं, १२. सगरमाथा र सगरमाथा आधार शिविर, १३. लुम्बिनी, १४. जानकी मन्दिर, जनकपुर, १५. सिम्रौनगढ दरबार क्षेत्र, १६. देवघाट, १७. राराताल ।

उपरोक्त पर्यटकीय गन्तव्यहरूको व्यवस्थित प्रयोग गरेर नेपालले करोडौं डलर आर्जन गर्न सक्छ। देशवासीलाई धनी बनाउन सक्छ । गरीबीको रेखामुनि रहेका नागरिकलाई त्यो रेखाबाट बाहिर ल्याउन सक्छ । तर देशमा मच्चिएको राजनीति अस्थिरताले नेपालको आर्थिक विकास तीव्र गतिमा हुन दिइरहेको छैन । हरेक समस्याको समाधान केवल बन्दूक र बारुदबाट देख्ने केही नेताहरूको करतुतले गर्दा आर्थिक प्रगतिको पथमा लम्केको नेपाल पश्चगमन गर्न बाध्य भएको छ । नेपालका केही नेताहरूलाई बारुद र बमको गन्ध मन पर्छ जस्तो छ । आफ्नो स्वार्थ सिद्धिका लागि ती नेताहरूले बारुद र बमको प्रयोग भरपूर गरेका छन् ।

नेपालले उपयोग गर्न नसकेको अर्को आर्थिक स्रोत वा क्षेत्र आन्तरिक पर्यटन हो । आन्तरिक पर्यटनको, जुन भरपर्दो राष्ट्रिय आर्थिक स्रोत हो, प्रयोग गरेर नेपालले राष्ट्रिय आय वितरणलाई सन्तुलित पार्न सक्छ । अर्थात् नेपालको आन्तरिक पर्यटनलाई राष्ट्रिय आय वितरण सन्तुलित पार्ने एक भरपर्दो माध्यमको रूपमा प्रयोग गर्न सकिन्छ ।

आन्तरिक पर्यटन के हो र कसरी यसले राष्ट्रिय आय वितरणलाई सन्तुलित पार्छ ?

उदाहरणका लागि, जनकपुरका व्यक्तिहरू पशुपतिनाथको दर्शन गर्न काठमाडौं पुग्नु र काठमाडौंका व्यक्तिहरू जानकी मन्दिरको दर्शन गर्न जनकपुर पुग्नु आन्तरिक पर्यटन हो । आन्तरिक पर्यटन केवल धार्मिक कारणले मात्र हुँदैन, विभिन्न कारणले हुने गर्छ । आन्तरिक पर्यटनलाई निम्न किसिमबाट विभाजन गर्न सकिन्छ । राजनीतिक पर्यटन, सामाजिक पर्यटन, सांस्कृतिक पर्यटन, धार्मिक पर्यटन, प्राकृतिक सौन्दर्य पर्यटन, ऐतिहासिक स्थल पर्यटन आदि, आदि ।

नेपालमा प्रजातन्त्र बहाली गर्न गरिएको २००७ सालको आन्दोलनमा वीरगंजले ठूलो भूमिका निर्वाह गरेको थियो । प्रजातन्त्र सेनानी थीरबम मल्लको हत्या वीरगंजमा भएको थियो । प्रजातन्त्र सेनानी सन्त नेता कृष्णप्रसाद भट्टराईलाई पर्सा जिल्लाका मतदाताहरूले चुनावमा विजयी गराएर सम्मान दिएका थिए । यी घटनाहरूको आधारमा वीरगंजलाई एउटा राजनीतिक पर्यटकीय स्थलको रूपमा विकास गर्न सकिन्छ । तर गर्न सकिएको छैन ।

सिम्रौनगढलाई भव्य ऐतिहासिक पर्यटकीय स्थल बनाउन सकिन्छ । र यो पर्टकीय स्थलबाट लाखौ रुपैयाँ आर्जन गरेर स्थानीय गरीबी कम पार्न सकिन्छ ।

नेपालका अनेक किसिमका, माथि उल्लेख गरिएका पर्यटकीय स्थलहरूको प्रयोग गरेर स्थानीय गरीबी कम पार्न सकिन्छ । रारा ताललाई अति लोकप्रिय प्राकृतिक पर्यटकीय स्थलको रूपमा विस्तार गरेर, प्रचारप्रसार गरेर, कर्णाली क्षेत्रमा व्याप्त गरीबी कम पार्न सकिन्छ । कर्णाली क्षेत्रमा गरीबी कहालिलाग्दो स्थितिमा छ ।

आन्तरिक पर्यटनमा विस्तार हुँदा विभिन्न पर्यटकीय क्षेत्रका होटल, लज, पसल, सवारी साधन, तिनका चालकहरू आदि आदिले आय आर्जन गर्न सक्छन् । सडकमा व्यापार गर्ने व्यापारीहरूका लागि पनि आय आर्जन गर्ने अवसर सृजना हुन्छ । यसरी अति गरीबहरूले पनि, आन्तरिक पर्यटनको माध्यमबाट, आय आर्जन गर्ने मौका पाउने हुनाले आन्तरिक पर्यटनबाट राष्ट्रिय आय वितरण व्यवस्थालाई सन्तुलित पार्न सकिन्छ ।

धनीहरूको हातमा रहेको पैसा गरीबहरूको हातमा पु¥याउनु चुनौतीपूर्ण कार्य हो । अनेक किसिमका योजना, नीति एवं आर्थिक निर्णय गरेर धनीहरूको हातमा रहेको पैसा गरीबहरूसम्म पु¥याउन सकिन्छ । अर्थात् धनीहरूले नेपालका विभिन्न स्थानको भ्रमण गरेमा ती स्थानका साना व्यापारीहरू (जसले केवल जीवन निर्वाहका लागि व्यापार गरेका हुन्छन्) ले आय आर्जनको मौका पाउँछन् । उनीहरूको हातमा पनि पैसा आउने वातावरण सृजना हुन्छ । यसरी आन्तरिक पर्यटन नेपालमा गरीबहरूको हातमा पनि पैसा पार्ने माध्यम बन्न सक्छ ।

तर नेपालमा आन्तरिक पर्यटनलाई व्यवस्थित किसिमले अगाडि बढाउन सकिएको छैन । पर्यटकीय स्थलहरूको प्रचारप्रसार प्रभावकारी किसिमले गर्न सकिएको छैन । राम्रो आय हुने वा धनीहरूलाई आन्तरिक पर्यटनमा बढी पैसा खर्च गर्न उत्प्रेरित गर्न सकिएको छैनस आन्तरिक पर्यटनलाई अति निर्धनहरूको हितमा प्रयोग गर्न सकिएको छैन । सडक वा फूटपाथे व्यापारीहरूको हितमा आन्तरिक पर्यटनलाई प्रयोग गर्न सकिएको छैन । यद्यपि नेपालमा आन्तरिक पर्यटनको सम्भावना भरपूर छ ।

Website | + posts

वीरगंजबाट प्रकाशित राष्ट्रिय (क) वर्गको दैनिक पत्रिका

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here