• कुमार रुपाखेती

पहिरनका कारण भारतमा रामदेवलाई मन नपराउने थुप्रै महिला छन् । भारतकी एउटी महिलाले त उनको अर्धनग्न लवाइलाई ‘फन्टुस पोशाक’सम्म भनेकी थिइन् । राजनीति, योग र व्यवसाय यी तीनै क्षेत्रका खप्पिस हुन्, रामदेव ।

भनिन्छ, रामदेव भाजपानिकट छन् । तर अचेल भाजपासँग यिनको नाराजगी चलिरहेको छ । भारतीय काङ्ग्रेसका प्रधानमन्त्री मनमोहन सिंहको सरकारले यिनलाई दिल्लीको एउटा सभाबाट पक्राउ गर्न खोज्दा अर्धनग्न रहने यिनी मञ्चबाटै एकजना महिलाको साडी कम्मरमा लपेटेर मुख छोपेर भागेका थिए । त्यतिखेर यिनको नाम नै ‘रामदेव भगोडा’ राखिएको थियो । यही रामदेव अहिले आफ्नो व्यापार–व्यवसाय चम्काउन काठमाडौं आइपुगेका छन् ।

भारतमा रामदेवलाई अब्बल दर्जाको व्यवसायी मानिन्छ । सधैं आधा–अधूरा गेरुवा वस्त्र धारण गर्ने यिनी आफ्नो नामको पछाडि बाबा जोडेर रामदेव बाबा भनेको रुचाउँछन् । आफ्नो प्रभावले यिनी नेपालमा दर्ता नै नभएको विदेशी लगानीको सेटेलाइट टेलिभिजन ‘आस्था नेपाल’ र ‘पतञ्जलि नेपाल’को उद्घाटन प्रधानमन्त्री शेरबहादुर देउवासँग गराउन सफल भए । मन्त्रिमण्डलमा कुरै नराखी देउवाले जबरजस्ती प्रचण्ड र माधव नेपाल पछि लगाएर रामदेव बाबालाई खुशी पारिदिए । त्यतिमात्रै कहाँ हो र ? रामदेव बाबालाई पतञ्जलिका लागि निश्शुल्क सरकारी, सार्वजनिक जग्गासमेत उपलब्ध गराइदिने आश्वासन दिए ।

आर्युवेदको क्षेत्रमा भारतमा डाबर र पतञ्जलिबीच घमासान नै छ । नेपालमा डाबर नेपालले करोडौं मूल्यको जडीबुटी माटोको मूल्यमा कुम्ल्याएको देखेर डाबर नेपाललाई टक्कर दिन उनी पतञ्जलि नेपालको नामले काठमाडौं छिरेको बताइन्छ । देखावटीरूपमा एकछिन योग सिकाएको जस्तो गर्ने बाबा दिनभरि नेताहरूलाई प्रभाव पार्ने अनि विज्ञहरूसँग नेपालमा पाइने विभिन्न किसिमका जडीबुटीबारे जानकारी लिने काममा व्यस्त छन् । विदेशी दातृ राष्ट्रहरूले गरिखाउ भनी बनाइदिएका थुप्रै सरकारी कलकारखाना प्रजातन्त्रवादीहरूले कबाड बनाएर रद्दीमा बेचेको सबैलाई थाहा छ । अनि यस्ताहरूले रामदेवको पतञ्जलि उद्योग खोल्न किन यस्तो मरिहत्ते गरेका होलान् दैव नै जानून् । व्यवसायी त्यो पनि अर्बपति विदेशीलाई उद्योग खोल्न खैरातमा जग्गा दिन मिल्छ ? रामदेव हाम्रालागि न आमापट्टिको न बाउपट्टिको ।

एमसिसीको दोस्रो रूप हो, पतञ्जलि । सिंहदरबार वैद्यखानाको खस्ताहाल, सरकारी बेवास्ता सबैलाई थाहै छ । डुब्न लागेको सिंहदरबार वैद्यखानालाई उकास्नु त कता हो कता उल्टै बाबालाई ल्याएर सौता हाल्न खोजिएको जस्तो देखियो । नेपालका दिग्गज वैद्य, कविराजहरू सरकारी सहयोग नपाएर आफ्नो सीप देखाउन असमर्थ छन् । तापनि नेपाली वैद्यखानाको च्यावनप्राश, अश्वगन्धा, आमलकि चूर्ण, पाचक, जडीबुटीले नै बनेको ग्रीन टी, यार्सागुम्बा आदि निकै राम्रा आर्युवेदिक औषधि भएपनि सरकारी बेवास्ता, बजेट अभावले गर्दा वैद्य र कविराजले बनाउनै सकेका छैनन् । सरकारी बजेट र सहयोगको आशा गर्दा गर्दै थुप्रै दिग्गज र अनुभवी वैद्य त परमधाम पुगिसके ।

सरकारमा बस्नेहरूको छेपारे प्रवृत्ति देख्दा त नेपाल कानूनी राज्य हो भन्ने भरोसा नै लाग्न छाडिसक्यो । देशको युवाशक्ति धमाधम बाहिरिने र रामदेव जस्ता खप्पिस भित्रिनाले यो मुलुकको विकास कसरी होला ?

गेरुवा वस्त्र धारण गर्नाले, दा¥ही, जटा पाल्नाले कोही बाबा र सन्त हुँदैन । यस्ता बहुरुपियाँलाई त खुँखार कलाकार भनिन्छ । सरकारी बेवास्ताले थला परेको सिंहदरबार वैद्यखानाको आर्युवेदिक औषधि नेपालमा नपाइनाले हामी त्यसै पनि डाबर, बैधनाथ, रामदेवको पतञ्जलिको औषधि खरीद गर्न, प्रयोग गर्न बाध्य छौं । संक्षेपमा भन्ने हो भने नेपाल सरकारको यस्तै रवैयाले नेपालको हरेक क्षेत्रमा भारत हाबी हुँदैछ, हामी दिनानुदिन नूनदेखि सुनसम्म भारत भरोसे बनाइएका छौं ।

सबैलाई थाहै छ, योगको नाममा ठूलो व्यवसाय गर्ने उद्योगी हुन्, रामदेव । किन कसैले बाबालाई नेपालको माटोमा उद्योग फस्टाउँदैन, विदेशी लगानीको उद्योगको हबिगत त वीरगंज चिनी कारखाना, कृषि औजार कारखाना, जनकपुर चुरोट कारखानाको दुरवस्थाभन्दा बदत्तर हुन्छ है भन्दै तर्साउन सक्दैन । योगको नाममा उत्पाते, वितपाते काममा पनि बाबा माहिर छन् । सरकारी लगानीका स्वदेशी कलकारखाना र उद्योगलाई धसाउने, अनि रामदेवहरूलाई रातो कार्पेट बिछ्याएर स्वागतम् भन्ने सरकारी नीति बुझेका चेतनशील नागरिकहरूले यिनलाई राष्ट्रघातीहरूको सरकार भन्ने गरेका छन् । छाप्रो हाल्ने सानो टुक्रा जग्गा नपाएर वषौंदेखि सुकुमबासी बनेका नेपालीहरूले रामदेवले अर्बौंको जग्गा सित्तैमा पाउन लागेको सुन्दा कानमा तातो झीर हालेझैं अनुभव गरेका छन् । भनिन्छ, यस्तो सरकारी चाला देखेर सुकुमबासी र स्वदेशी पूँजीपति वर्गसमेत सशङ्कित छन् । योगगुरु रामदेवको क्षय होइन, जय होस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here