चितवन, २९ कात्तिक/रासस

मेरुदण्डमा समस्या देखिएका बिरामीको उपचारका लागि रोटरी क्लबको अगुवाइमा भरतपुर अस्पताल परिसरमा रोटरी स्पाइनल इन्जुरी सेन्टर निर्माण काम थालिएको छ । सोमवार जग पूजा गरेर निर्माण कार्य थालिएको हो । चितवनका छ, नवलपरासीका दुई र ललितपुरको एक गरी आठवटा क्लबले आर्थिक सङ्कलन गरी सेन्टर निर्माण गर्न लागेका हुन् ।

निर्माण समितिका संयोजक उत्तमलाल चुकेका अनुसार रु छ करोडमा सेन्टर निर्माण गर्ने तयारी गरिएको छ । शुरूमा २५ शøया र पछि ५० शøया बनाइने उनले जानकारी दिए । रोटरी क्लबसँगै स्थानीय तह, प्रदेश र सङ्घीय सरकारसँग सहयोग सङ्कलन गरिने चुकेले जानकारी दिए ।

रोटरी क्लब अफ चितवन रत्ननगर, नारायणगढ, भरतपुर, नारायणी मिडटाउन, गैंडाकोट, पूर्वी चितवन, कावासोती र जावलाखेलको संयुक्त परियोजनाको रूपमा सेन्टर अघि बढाइएको हो । रोटरी क्लब अफ रत्ननगरका पूर्वअध्यक्ष जनक पौडेलले निर्माण सम्पन्न भएसँगै भरतपुर अस्पताललाई हस्तान्तरण गरिने बताए । एक वर्षभित्र निर्माण काम सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

मेरुदण्डका बिरामी राखिने भएकाले भुइँ तला मात्र बनाइनेछ । अस्पताललाई हस्तान्तरणपछि पनि आवश्यक सहयोग रोटरीले गर्ने पौडेलको भनाइ छ । भरतपुर अस्पतालमा यसअघि नै २०६९ असार १ गतेदेखि स्पाइनल सेन्टर सञ्चालन गरिएको थियो । हाल १० शøयाको सो सेन्टर कोभिडका कारण अन्य विभागमा गाभेर सञ्चालन गरिएको छ ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेल स्पाइनलविज्ञसमेत हुन् ।
अस्पतालको पाँच कट्ठा जमीनमा सेन्टर निर्माण थालिएको हो । यसले स्पाइनलमा समस्या भएका बिरामीको उपचारमा सघाउ पुग्ने पौडेलको भनाइ छ । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार निर्माणपछि यसको सञ्चालन विकास समितिले नै गर्नेछ । सेन्टर पूर्णरूपमा निर्माण गरी उपकरणसहित जडान गरेर रोटरीले अस्पताललाई हस्तान्तरण गर्ने उनले जानकारी दिए ।

सेन्टरलाई उपचारसँगै पुनस्र्थापना केन्द्रको रूपमा विकास गरिनेछ । मेरुदण्डका बिरामीमा अन्य समस्या भएमा अस्पतालमैं उपचार गर्न सकिने भएकोले यो सेन्टर निकै प्रभावकारी हुने अधिकारीको भनाइ छ । सरकार आफैंले गर्नुपर्ने काम रोटरीको अगुवाइमा हुन लागेको भन्दै उनले सबैलाई आवश्यक सहयोगका लागि अनुरोध गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here