काठमाडौं, २९ कात्तिक/रासस

लामो समयसम्म अवरुद्ध रहेको चालक अनुमतिपत्र भर्नेको सङ्ख्या तीन सातामा नै झन्डै चार लाख पुगेको छ । यातायात व्यवस्था विभागले कात्तिक ८ गतेदेखि आवेदन पुनः खुलाएको थियो। दुई वर्षयता नियमितरूपमा सेवा चालू नभएकाले पनि थोरै समयमा धेरैको आवेदन परेको यातायात व्यवस्था विभागले जनाएको छ । कात्तिकभन्दा पहिलेसम्म झन्डै दुई लाख आवेदन दिएकाको परीक्षा लिन बाँकी रहेकामा अहिले त्यो सङ्ख्या झन्डै छ लाखको हाराहारीमा पुगेको विभागका प्रवक्ता डा लोकनाथ भुसालले बताए ।

कोभिड सङ्क्रमणका कारण यातायात व्यवस्था कार्यालयले परीक्षा लिने अवस्था नहुँदा आवेदन स्थगित गरिएको थियो । विभागले आवेदन लिइरहँदा यातायात व्यवस्था कार्यालयले पनि नियमितरूपमा परीक्षा सञ्चालन गरिरहेको छ । दैनिकरूपमा नयाँ आवेदन दिने बढिरहेको विभागका प्रवक्ता डा भुसालले बताए ।

कात्तिकको दोस्रो सातादेखि नै आवेदन पुनः खुलाइएको भएपनि बीचमा झन्डै चार दिन अवरुद्ध भएको थियो । एकैपटक धेरै सेवाग्राहीले आवेदन भर्न खोज्दा समस्या आएको प्रवक्ता भुसालले बताए ।

गत वर्ष पनि विभागले अनलाइन फाराम खुलाउना साथ भर्न नसकिने समस्या देखिएको थियो ।
सेवाग्राहीको चापका आधारमा पनि सफ्टवेयरको क्षमता बढाइएकाले अहिले समस्या नआएको विभागले जनाएको छ । उनले भने, “अहिले अद्यावधि गरेपछि फाराम बुझाउन सकिएन भन्ने गुनासो छैन ।”

विसं २०७६ चैतमा कोभिडका कारण सरकारले बन्दाबन्दी लागू गरेसँगै नयाँ चालक अनुमतिपत्रको परीक्षा रोकिएको थियो । गत वर्ष माघमा सङ्क्रमण कम भएको भन्दै अनलाइन फाराम खुलाइएको भएपनि सङ्क्रमण पुनः बढेपछि स्थगित भएको थियो । दुई वर्षयता नियमितरूपमा परीक्षा हुन नसकेकाले धेरै सेवाग्राही परीक्षामा सहभागी हुन पाइरहेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here