गोपालप्रसाद बराल
महोत्तरी, १४ कात्तिक/रासस
नसोचेको उपलब्धि हात पर्दा यहाँका गृहिणी अहिले दङ्ग छन् । घर–आँगनको शोभाका लागि लगाइएको फूल किन्न दिनदिनै व्यापारी आउन थालेपछि जिल्लाका गाउँ, नगर, बस्तीका सर्वसाधारण गृहिणी नसोचेको आम्दानी हात परेको भन्दै दङ्ग परेका हुन् ।
तिहार शुरू हुन दुई/तीन दिन बाँकी छँदै अहिले फूल खोज्न व्यापारी बस्ती–बस्ती पसेका छन् । घर–आँगनमा ढकमक्क फुलेका सयपत्री, गोदावरी र मखमली फूल ‘ल, मलाई दिनुहोला’ भन्दै व्यापारीले हातहातमा अग्रिम पैसा थमाएपछि गृहिणीहरूमा खुशी छाएको हो । “यो आँगनको फूलले आम्दानी देला भन्ने त सोचिएकै थिएन, आम्दानी लिने गरी लगाइएको पनि होइन”–भङ्गाहा नगरपालिका–४ रामनगरकाका रसिया चौधरी थारूले भने–“अहिले व्यापारी आफैं घर आएर ३०/३५ बोटको फूललाई ‘एक हजार दिन्छु’ भन्दै बैना (अग्रिम पेश्की) थमाएर गएका छन्। तिहारताका फुल्ने फूलबाट अहिले नसोचेको अतिरिक्त आम्दानी भएको उनको भनाइ छ । यसले पर्वको मुखमा सानातिना फुटकर खर्च गर्न पाइएको उनी बताउँछन् ।
महोत्तरीका ग्रामीण बस्तीमा अहिले चौधरीजस्तै थुप्रै गृहिणीले घर–आँगनको फूलबाट अतिरिक्त आम्दानी पाएका छन् । बस्ती–बस्ती पसेका फूल व्यापारीले हातहातमैं पैसा थमाइदिएपछि फूल पनि आम्दानीको स्रोत रहेछ भन्ने चेत खुलेको यहाँका सर्वसाधारण गृहिणीको भनाइ छ ।
बर्दिबास–६ का रेवती पोखरेलले भने–“हैन, राम्रै रकम पाइँदोरहेछ, अब त तिहारताका फुल्नेगरी फूलका बोट बढाएर रोप्नुपर्ला । शनिवार आँगन वरिपरिको लगभग ५० बोटको फूलबापत रु एक हजार ५०० रकम पाएँ ।”
तिहार अघि फूलको खोजीमा बस्ती–बस्ती पसेका व्यापारीले सर्वसाधारण गृहिणीको मन फूलखेती गर्नतिर खिचेका छन् । गत वर्ष नै यस्तो आम्दानी हात पारेका गृहिणीले त घरआँगन वरपर यसपालि फूलका बोट बढाएर लगाएको जानकारी दिए । यसपालि यस्तो आम्दानी हात पारेका गृहिणीले आघौं (आउने वर्ष) खेती नै जस्तोगरी फूल बढाउने अठोट गरेका छन् ।
“फूल त व्यावसायिकरूपमैं खेती गरे हुने भएछ, घरघरै व्यापारी आउँदा रहेछन्–भङ्गाहा–५ राजपुरकी हरिप्रिया महतो भन्छिन्–घर प्रयोजनकै बारीमा अलि बढाएर फूलखेती गर्न सकिने रहेछ ।” उनका छिमेकी गृहिणीले पनि अब फूल अलि बढी लगाउने र अतिरिक्त आम्दानी गर्ने सोच बनाएका छन् ।
“तिहारमा फुल्नेगरी जति खेती गरे पनि हुने रहेछ”–भङ्गाहा–४ की लक्ष्मी श्रेष्ठले भनिन्–“यो आँगनको डिलमा ४०/५० बोट सयपत्रीका होलान्, मलाई त एकजना व्यापारीले रु दुई हजार दिन्छु भनेर बैना दिएर गए ।” आर्जनका लागि नभई शोभाका लगाइएको केही बोटबाटै यति आम्दानी हुने भएपछि अब तिहारलाई लक्षित गरेर फूलखेती गर्ने टुङ्गोमा पुगेको उनको भनाइ छ।
घर करेसा वरपर शोभाका लागि लगाइएको मखमली, सयपत्री र गोदावरी फूलले घर बसीबसी दुई–चार हजार आम्दानी बनाइदिएको घरायसी काममैं व्यस्त रहने गृहिणीले बताएका छन् । यसपालि तिहारकै लागि फूल खोज्दै आएका व्यापारी र अरू ग्राहकले आफ्ना ३०–३५ वटा जति बोटका सयपत्री फूल लाँदा रु दुई हजार आम्दानी भएको बर्दिवास–६ कृष्णपुरकी गृहिणी सम्झना काफ्ले बताउँछिन् । करेसाकै फूलका बोटबाट सम्झनाले गरेको आम्दानी देखेपछि छिमेकका अरू गृहिणीले पनि अब व्यावसायिकरूपमैं फूलखेती गर्ने निर्णय गरेका छन् ।
अहिले तिहार लागेसँगै फूल खोज्ने ग्राहकको ग्रामीण बस्तीमा लर्को नै देखिने गरेको छ । पर्वविशेषले गर्दा फूल खोज्ने ग्राहक र व्यापारीले राम्रो मूल्य दिएपछि हरेक वर्ष तिहारमा उत्पादन लिनेगरी फूलखेती गर्न आफ्नो गाउँटोलका सबैजसो गृहिणी महिला अग्रसर देखिएका बर्दिवास–१२ की गृहिणी उमा महतो बताउँछिन् ।
जिल्लामा फूलको व्यावसायिक खेती नभए पनि अब यसको सम्भावना बढेको कृषिविज्ञ बताउँछन्। तिहार र छठजस्ता पर्व र सालैभरि आयोजन हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चनालाई लक्ष्य गरी यसको व्यावसायिक खेती शुुरू गरिए जिल्लामा आर्जनको नयाँ बाटो खुल्ने कृषि ज्ञान केन्द्रका जलेश्वरका कृषिविज्ञ बताउँछन् । किसानले फूलखेती गर्ने निर्णय गरेर यसका लागि प्राविधिक र राम्रो उन्नत जातको बीउ माग गरे बीउबिजन उपलब्ध गराउन सकिने केन्द्रका प्रमुख रामचन्द्र यादवले जानकारी दिए ।
जिल्लाका १० नगरपालिका र पाँच गाउँपालिकासहित १५ पालिकामध्ये बलवा नगरपालिकाको पडौल र बनौटा बस्तीमा भने केही किसानले थोरै क्षेत्रफलमा व्यावसायिकरूपमैं फूलखेती गरेका छन् । त्यहाँका किसानले व्यापारीले फूलबारीबाटै फूल लाने गरेका जनाएका छन् । यी बस्तीमा उत्पादित फूलको गुणस्तर राम्रो भएकोले व्यापारीको रोजाइमा पर्ने गरेको किसानको भनाइ छ । यहाँ उत्पादित फूल राजधानी काठमाडौंसहित विभिन्न शहरमा पुग्ने गरेको किसान, व्यापारी र कृषिविज्ञले बताएका छन् ।
पछिल्लोपटक फूलखेती गर्नेलाई प्राविधिक सहयोग र बीउ सङ्कलनमा सहयोग गरिने बताएपछि यसको खेतीमा रुचि देखाउने किसानको सङ्ख्या बढ्दै गएको छ । फूलखेतीबारे रुचि देखाउनेमा महिलाको सङ्ख्या अधिक रहेको ज्ञान केन्द्रले जनाएको छ ।