सुदूरपश्चिम, ८ कात्तिक/रासस
“राहत दिने कोही छन् कि हजुर, यो तस्वीर सञ्चारमाध्यममा हाल्दिनुप¥यो,” केही दिनअघिको डुबानका कारण खेतको पूरै धानबाली टुसाएर बिग्रिएपछि कैलालीको जानकी गाउँपालिकाका किसान भोजराज भण्डारीले धनगढी पुगेर गरेको आग्रह हो यो ।
आफ्नो खेतमा बिग्रेर टुसाएको धानबालीको मोबाइलमा खिचिएको तस्वीर देखाउँदै उनले दुःखेसो गरे, “यस्तो नसोचेको विपत्ति पहिलोपटक अनुभव भयो, धानबाली नष्ट हुँदा धेरै किसानमा यसपालि भोकमरी हुने देखियो ।” दक्षिण पूर्वी उक्त गाउँपालिकामा रहेको छ बिघा खेतमा काटेर सुकाइएको धान भिœयाउन नपाउँदै भएको वर्षाले बाली भिजेर टुसाएपछि उनी यतिबेला राहतको खोजीमा छन् ।
कैलालीको गोदावरी गाउँपालिकाका किसान भोजराज बडूको डुबानमा परेको दश कट्ठा खेतको पूरै धानबाली पनि टुसाएको छ । “कात्तिक महीनामा पनि यसअघि कहिल्यै नदेखिएको डुबान, बाढीपहिराको वितण्डा देख्नुप¥यो,” उनले दुःखेसो सुनाए, “घरमा केही परिमाणको पुरानो धान छ, तर त्यसले वर्षभरि खान पुग्ने देखिंदैन, राहतका लागि वडा कार्यालयमा निवेदन दिने तयारीमा छु ।”
उनहिरूको जस्तै पीडा यतिबेला सुदूरपश्चिम प्रदेशका धेरै किसानको छ । पीडाबीच धेरै किसान भिजेर खेतमैं टुसाएको धानबाली थन्क्याउनमा लागेका छन् । “खेतमा भएको डुबानले धानबाली लगाउँदा गरिएको लगानी खेर गयो,” अर्का किसान मनिराम चौधरीले भने, “मेहनत र परिश्रम खर्च भएकाले कुहिएको धान परालसहित सडे पनि बाली नसिमोट्दा चित्त बुझ्दैन ।”
केही दिनअघिको अविरल वर्षासँगै भएको डुबानका कारण प्रदेशमा धानबालीमा पुगेको क्षतिपछि किसान चिन्तित हुँदै राहतको पर्खाइमा छन् । प्रदेशमा झन्डै २५ हजार हेक्टर जग्गाको धानबाली नष्ट भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुमान छ ।
डुबानका कारण प्रदेशमा भएको क्षतिको यकीन विवरण स्थानीय तहसँग समन्वय गरेर सङ्कलन गरिरहेका छौं,” मन्त्रालयका प्रवक्ता गोकुलप्रसाद बोहराले भने, “खेतमा पानी जम्दा धानबालीलाई मात्र असर गरेको छैन, आउने हिउँदयाममा गरिने गहुँबालीको खेती पनि प्रभावित हुने देखिएको छ ।” डुबानका कारण तोरी र तरकारी बालीमा समेत असर पारेको छ ।
क्षतिबाट प्रभावित हुनेका लागि राहत कार्यक्रम दुई प्याकेजमा ल्याएर वितरण गर्ने मन्त्रालयको योजना छ । “अहिलेको डुबानले धान, तोरी र तरकारी बालीमा पुगेको क्षतिबाट प्रभावितलाई राहत दिनुपर्ने देखिएको छ,” बोहराले भने, “हिउँदयामको गहँुखेती गर्नेलाई पनि मल, बीउ, रासायनिक मलको सहज आपूर्ति र सहुलियत पनि दिनुपर्ने देखिएको छ ।”
बालीमा क्षति पुगेका किसानलाई प्रतिबिघा रु आठ हजारका दरले राहतबापत नगद दिन सकिने मापदण्ड मन्त्रालयको छ । अहिले पुगेको क्षतिको मात्राको अवस्थालाई मध्यनजर गरी यो मापदण्ड हेरफेर हुन सक्ने बताइएको छ । प्रभावित किसानलाई राहत के कति दिने, कसरी दिने भन्ने विषयमा मन्त्रालयले तयारी गरिरहेको छ ।
नदी आसपासका ठूलो क्षेत्रफलको खेतमा काटेर थुपारिएको धानबाली अचानक आएको बाढीले बगाएको थियो भने अन्य क्षेत्रको जग्गामा भएको डुबानले बाली पानीमैं तैरिएको थियो ।
जमेको पानीमा तैरिएको धानबाली हेर्दै किसान अब भोकमरी हुने भन्दै चिन्तित देखिन्छन् । तराईका जिल्लाको तुलनामा प्रदेशका पहाडी जिल्लामा भने धानबालीमा ठूलो क्षति पुग्न पाएको
छैन ।
पहाडमा पहिरो तथा बाढी, नदीकटानको समस्या र तराईमा डुबान तथा नदी कटानको समस्या बढी देखिएको थियो । बालीमा पुगेको क्षतिबाट देशको आर्थिक अवस्थामा पनि प्रतिकूल असर पर्ने देखिएको छ । धान उत्पादनका पकेट क्षेत्रका रूपमा रहेका कैलाली र कञ्चनपुरमा उत्पादन हुने धान प्रदेशका सात पहाडी जिल्लाका अलावा देशका अन्य भागमा निर्यात हुने गर्छ ।