काठमाडौं, ८ कात्तिक/रासस

कात्तिकको शुरूबाट भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् । वर्षा सकिएकाले सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा रु एक अर्ब पाँच करोडको क्षति भएको छ । अझै पनि विवरण सङ्कलन भइरहेकाले पूर्ण विवरण आउँदा बढ्न सक्ने बताइएको छ ।

वर्षाले गर्दा सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ । यस वर्ष वर्षा शुरू भएदेखि गत असोज मसान्तसम्ममा रु दुई अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्याङ्क छ । यस वर्ष वर्षा शुरू भएयता मात्रै २४५ ठाउँमा सडक अवरुद्ध भएको विभागले जनाएको छ । कात्तिक १ गतेबाट १८ ठाउँमा सडक अवरुद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजङ्ग थापाले बताए ।

उनका अनुसार मनाङमा अहिलेसम्म सडक अवरुद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ । उनले भने, “बझाङमा सडक खुलाउन बढी समय लाग्न सक्ने देखिएको छ ।” पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध छ । कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको विभागले जनाएको छ । डडेलधुराको स्याउलेदेखि डोटीसम्म ठाउँठाउँमा सडकमा क्षति पुगेको छ । महानिर्देशक थापाले भने, “सेती नदीले सडक नामै नराखेर बगाएको छ ।”

धनगढी–सहजपुर–वुडर–स्याउेले, सतबाँझ–थाकतोली–दार्चुला–तिङ्कर सडकखण्ड वर्षाका कारण केही दिनसम्म अवरुद्ध भएको थियो । अहिले सो सडक एकातर्फबाट खुलाइएको छ । बझाड्ढो जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरुद्ध छ । तीन सय मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको जनाइएको छ ।

मध्यपहाडी राजमार्गको सतबाँझदेखि झुलाघाट सडक क्षतविक्षत रहेको विभागले जनाएको छ । साँफे–मार्तडी सडकमैं तीन मिटर सडक बूढीगण्डकी नदीले बगाएको महानिर्देशक थापाले बताए । सो सडकको पारिबाट आएको पहिरो नदीमा गएर नदी थुनिएपछि सडक कटान भएको थियो । उक्त खण्डमा सुक्खा नभई खुलाउन नसकिने अवस्था रहेको उनले बताए ।

बाजुराको ओमकोटमा अहिले सडक खोस्रिएर यातायात चलाउन लागिएको छ । उनले भने, “अहिले खुलाइएको ठाउँमा पनि ठूलो पानी परेपछि पुनः अवरुद्ध गर्न सक्छ ।” बर्दियामा सतीघाटमा कर्णाली नदीको पुल रहेको थियो । सडकभन्दा दुई किमीमाथिबाट नै कणाली नदी गाउँतिर मोडिएको छ । माथिल्लो भागबाट नै कर्णालीलाई छेकेर पानी रोकिएपछि मात्रै सडक सञ्चालन हुन सक्ने बताइएको छ ।

यस वर्ष वर्षाका कारण सबैभन्दा बढी असर बेंसीशहर–चामे सडकमा पुगेको थियो । मनाङ पूरै सडक सञ्जालबाट अलग भएको थियो । भदौ महीनासम्म पनि सवारीसाधन मात्रै नभएर पैदलयात्रुलाई समेत आवतजावत गर्न कठिन थियो । साढे दुई महीना लगाएर विभागले केही समय पहिले मात्रै सडक खुलाएको थियो ।

असारदेखि नै अवरुद्ध सडक दशैंअघि खोलिएको थियो । विभागले त्यहाँ रहेका पाँचवटा काठे पुल बगाएकामा पुनः बनाएर यातायात चालू गरेको थियो । अहिले सडक र पुल पुनः क्षतिग्रस्त भएको महानिर्देशक थापाले बताए । उनले भने, “अहिले पनि सडक खुलाउने काम भइरहेको छ, केही दिनमैं खुल्नेछ ।” सडक विभागले आफ्ना ३० डिभिजन कार्यालय, चार सङ्घीय सुपरीवेक्षण कार्यालय र आठ हेभी इक्युपमेन्ट कार्यालयमार्फत अवरुद्ध सडक खुलाइरहेको छ । विभागले वर्षा शुरू हुनु पहिले नै कुन कुन क्षेत्रमा बढी जोखिम अनुमान गरेर उपकरण राखेको उनले जानकारी दिए । विभागले वेबसाइटमा नै अवरुद्ध सडकका बारेमा नागरिकलाई जानकारी दिने गरेको उनले बताए ।

उनले भने, “कुन राजमार्ग कुन ठाउँमा, कति बजेबाट अवरुद्ध भएको र कहिलेसम्म खुल्ने भनी विवरण राख्ने गरिएको छ ।” विभिन्न क्षेत्रबाट विभागले सडक बनाउँदा नै ध्यान नदिएका कारणले बर्सेनि वर्षाले सडकमा क्षति पुगेको बताउने गरेको छ । आइतवारको प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिको बैठकमा सांसदहरूले नदीको धेरै नजीकै र कम उचाइमा सडक बनाउँदा क्षति भइरहेको बताएका थिए । माथिबाट आउने पहिरोको समाधान नभए पनि नदीबाट केही दूरीमा सडक बनाउँदा क्षति कम हुने उनीहरूको भनाइ थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले भने जथाभावी खोलिएका स्थानीय सडकका कारणले वर्षामा क्षति पुग्ने गरेको बताए । स्थानीय तह र कतिपय स्थानमा स्थानीयवासी आफैंले प्राविधिक अध्ययन नगरी सडक खन्ने गरेको उनको भनाइ छ । उनले भने, “हामीले सडक नदीभन्दा उचाइमा बनाउँदा पनि लेदोले गर्दा नदीको सतह बढिरहेको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here