काठमाडौं, २ कात्तिक/रासस
बङ्गालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भूभागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश नं १ र सुदूरपश्चिमका थोरै स्थानमा भारी वर्षासमेत भएको छ ।
पाकिस्तान, भारत हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायु अहिले नेपालको पूर्वी भागतर्फ सरिरहेको छ । यो वायु सुस्त गतिमा अघि बढ्ने भएकाले नेपालमा अझै केही दिन प्रभाव रहने मौसमविद् मञ्जु बसीले बताइन् ।
काठमाडौं उपत्यकामा बदली रहनुका साथै हल्का वर्षासमेत भइरहेको छ । उपत्यकाको आकाशमा बिहानैदेखि कुहिरो लागेको छ । देशको पश्चिमी भेगमा भारी वर्षा भएको छ । महाशाखाको पछिल्लो विवरणमा दिपायलमा १६६, डडेलधुरामा १५५, घोराहीमा १३३, भैरहवामा ११२, धनगढीमा ९० र पोखरामा ५६ मिलिमिटर वर्षा भएको छ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रहनेछ । प्रदेश नं १, प्रदेश नं २ लुम्बिनी, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानका साथै वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
साथै सुदूरपश्चिम प्रदेश र प्रदेश नं १ का केही स्थान र प्रदेश नं २, लुम्बिनी र कर्णाली प्रदेशका एक/दुर्ई स्थानमा भारी वर्षा भएको छ । रातिको समयमा पनि प्रदेश नं १ र लुम्बिनी प्रदेशका थोरै स्थान, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक/दुर्ई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।