गण्डकी, २ कात्तिक/रासस

पछिल्लो समयमा पोखरामा थपिएका विभिन्न पर्यटकीय गतिविधिले पर्यटकको बसाइ लम्ब्याउन महŒवपूर्ण भूमिका खेलेका छन् । माछापुच्छ«े पौडिने फेवाताल होस् वा यहाँका तलतलैया र लहरै चाँदीजस्तै टल्किएका हिमालको दृश्यले स्वदेशी एवं विदेशीको ध्यान पोखरामा खिच्ने गरेको छ । साहसिक पर्यटनका जीपलाइन, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जी जम्प आदिले साहसिक पर्यटनमा विशेष रुचि राख्नेका लागि पनि आकर्षक गन्तव्य बनेको छ ।

साहसिक पर्यटकको बढ्दो आकर्षणलाई दृष्टिगत गर्दै यहाँ विश्वकै भिरालो सुपरम्यान जीपलाइन हालै सञ्चालनमा आएको छ । जीपलाइनमा विश्वमैं ख्यातिप्राप्त अमेरिकी ब्रान्ड ‘जीपफ्लायर’सँग आबद्ध हाइग्राउन्ड एडभेन्चर प्रालिले सुरुआत गरेको हो । भिरालो र छिटो जीपलाइनमा सुपरम्यान जीपलाइन खेलको शुरू गरिएको संस्थाका प्रमुख सञ्चालन अधिकृत (चिफ अपरेटिङ अफिसर) दिनेश महर्जनले जानकारी दिए ।

उनका अनुसार सन् २०१० मा नेपालमैं पहिलोपटक जीपलाइनको सुरुआत गरेको हाइग्राउन्ड एडभेन्चर प्रालिले एक दशकपछि आफ्ना ग्राहकलाई फरक स्वाद दिन सुपरम्यान जीपलाइन थालेको हो । सुपरम्यान जीपलाइन सुतेर गरिन्छ ।

“समुद्री सतहदेखि एक हजार ५५० मिटरको उचाइमा रहेको सारङ्कोटको माथिल्लो स्टेशनबाट तल्लो स्टेशन हेमजासम्म भर्टिकल ड्रप (भिरालो) ६०० मिटर दूरी छ,” उनले भने, “यति धेरै भिरालो भएको जीपलाइन विश्वमैं अन्य नभएकाले गिनिज बुक अफ वल्ड रेकर्डमा ‘विश्वकै भिरालो जीपलाइन’का रूपमा दर्ता गर्न आवेदन दिएका छौं ।”

विश्वकै लामोमध्येको एक हजार ८५० मिटर दूरीको सुपरम्यान जीपलाइनमा पार गर्न औसत १४० किमी प्रतिघण्टाको गतिमा अधिकतम समय एक मिनेट लाग्छ । जीपलाइनमा जाने पर्यटकले पोखराबाट नागबेली बाटो काट्दै सवारीसाधनमार्फत करीब ४५ मिनेटको यात्रामा सारङ्कोटको टुप्पोमा पुग्दै गर्दा दक्षिणमा फेवाताल र पोखरा शहर अनि सारङ्कोटको शिरबाट उत्तरमा माछापुच्छ«े, अन्नपूर्णलगायतका हिमालको दृश्यावलोकन गर्न पाउँछन् ।

३५ देखि १२० किलो तौलका साथै १२ वर्षदेखि माथिका व्यक्तिले जीपलाइन खेल्न सक्छन् । तथ्याङ्क अनुसार बेलायतकी ९४ वर्षीय जुन स्कट अहिलेसम्म जीपलाइन गर्ने सबैभन्दा ज्येष्ठ नागरिकका रूपमा रहेको सञ्चालन अधिकृत महर्जनले जानकारी दिए ।

“जीपलाइनलाई सुरक्षित गराउनका लागि हरेक दिन सबै उपकरणको सुरक्षा जाँच गरिने र हरेक महीना मर्मत गरिन्छ,” उनले भने, “हरेक वर्ष जीप फ्लायर अमेरिकाका प्राविधिकबाट सुरक्षा परीक्षण (सेफ्टी अडिट) गराउने गर्दछौं ।”

जीपलाइनमा प्रयोग हुने ट्रली र हार्नेस जीपलाइनको विश्वविख्यात, उत्कृष्ट र सुरक्षित रहेको जनाउँदै उनले कम्पनीबाट प्रयोग गरेको ट्रली, हार्नेस, वायरलगायतको प्रविधि नेपालमा अरू कुनै जीपलाइनमा नभएको दाबी गरे ।

नेपालीका लागि रु छ हजार ५०० र विदेशीका लागि आठ हजार ५०० कायम गरिएको सुपरम्यान जीपलाइनमा फोटो भिडियो र टिसर्ट प्याकेज लिन अतिरिक्त एक हजार ५०० राखिएको छ । अगाडि माछापुच्छ«ेको दृश्य तथा तल हेम्जा फाँटको ग्राउन्ड स्टेशन रहेको र हिमालको चिसो झोंकसँगै हुत्तिन पाउनु यस जीपलाइनको विशिष्टता हो ।

जीपलाइनकै ग्राउन्ड स्टेशन हेम्जामा क्यान्टिलिभर ब्रिजको नमूनामा बनाइएको टावरमा बन्जी गर्ने व्यवस्था मिलाइएको छ । नेपालकै पहिलो टावर बन्जीका रूपमा रहेको यहाँ जोडीसँगै अँगालो मारेर गरिने टेन्डम बन्जी पनि सञ्चालनमा छ । जीपलाइन र बन्जी गर्ने पर्यटकलाई लाने र लैजाने व्यवस्था पनि कम्पनीले नै गरेको र यसमा अतिरिक्त शुल्क नलाग्ने जानकारी दिंदै महर्जनले हेम्जामा छिट्टै विभिन्न साहसिक खेल थप्ने योजना रहेको बताए ।

नेपाल आउने युरोपेली, अस्ट्रेलियाली, कोरियालीलगायत अन्य देशका अधिकांश विदेशी पर्यटक साहसिक पर्यटनका लागि आउने गरेको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका प्रमुख काशीराज भण्डारीले जानकारी दिए ।

“नेपालमा साहसिक पर्यटनका गतिविधि पर्वतारोहण, पदयात्रा, हाइकिङ, ¥याफ्टिङ, कायकिङसँगै प्याराग्लाइडिङ, जीपलाइन, अल्ट्रालाइट आदिले पर्यटकलाई आकर्षित गरेका छन्,” उनले भने, “यी साहसिक पर्यटनका गतिविधिले पर्यटकलाई लोभ्यानुका साथै उनीहरूको बसाइ लम्ब्याउन महŒवपूर्ण भूमिका खेलेको पाइन्छ ।”

पछिल्ला समयमा नेपालीमा पनि घुमफिर गर्ने संस्कृति बढ्दै गएको जनाउँदै उनले साहसिक पर्यटनमा पनि आन्तरिक पर्यटकको उत्तिकै आकर्षण बढ्दै गएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here