- कुमार रुपाखेती
सरकारी बेवास्ताले गर्दा खस्ताहालमा रहेका जीर्ण राजमार्गहरूमा सडक दुर्घटनाले गर्दा दशैं मान्न घर जाने थुप्रैले अकालमा ज्यान गुमाए । कर्णालीपारीले मात्र होइन, तराईमा समेत मिलेमतोमा अखाद्य सडेगलेका खाद्यान्न धडल्लेले महँगोमा बिक्री भयो, जसले गर्दा शहरका अस्पतालहरूका इमर्जेन्सी वार्डहरू बिरामीले खचाखच भरियो । त्यसैले त अब आयो दशैं ढोल बजाइ, गयो दशैं ऋण बोकाइको सट्टा आयो दशैं ढोल बजाई, गयो दशैं रोग लगाई भन्न थालिएको छ । मेलापातमा हजारौंको भीडमा न कसैले मास्क प्रयोग ग¥यो न सामाजिक दूरी नै कायम थियो ।
शक्तिपीठहरूमा देखिएको अव्यवस्थित पशु बलिको भीड देख्दा हिन्दू धर्मावलम्बीले जतिसुकै अर्ती उपदेश सुनेपनि पशुबलि त्याग्न नसक्ने देखियो । मौकाको फाइदा उठाउँदै बगरेहरूले समेत खसीको मासु रु ११ सय र कुखुराको मासु रु ३५० सम्म बेच्न भ्याए । अव्यवस्थित मेलाको नमूना त सप्तमी र अष्टमीमा वीरगंजमैं देखियो । थरिथरिका भिखमाग्नेले हायलकायल पार्ने, पाकेटमारहरूको जगजगी, झपटमारहरूको सुन तान्ने तरीका र आवाराहरूको धक्काधुक्कीले दर्शनार्थीहरू हायलकायल देखिए ।
सीमापारीबाट दशैं मान्न आउने नेपाली कामदारहरूले ठूलै सास्ती पाए । भारतबाट माईस्थान मेलामा फूटपाथे व्यापार गर्न आएकाहरूले यहाँ भारु नपाउँदा रक्सौलको रेलवे ढालातिर नेरु १७० दिएर भारु एक सयको दरले लाइन लागेर सटही गर्न बाध्य पारिए । महानगरपालिकाको लापरवाहीले गर्दा फोहरको ढुङ्गुर र ट्राफिक प्रहरीको सुस्तताले गर्दा ट्राफिक जाम वीरगंजमा दशैंभरि नै समस्याको रूपमा देखियो । जनपद प्रहरीले पनि स्तरीय सेवा दिन नसक्दा गहवामाई परिसर वरपर नै भीड बेकाबु देखिन्थ्यो । बढेको गर्मीले दर्शनार्थीहरूको कन्तबिजोग थियो ।
जुवाडेहरूको सङ्ख्या यसपटक बढेको ताशको अचाक्ली बिक्रीले देखायो । राष्ट्र बैंकले बडा दशैं मान्न बाँडेको नयाँ नोटले जुवा खालको रौनक बढाएको थियो । बोट काटेर थुप्रै स्थानमा वीरगंजमा फ्लश र मैरिज खेल भए । मदिरालयहरूमा समेत नयाँ–नयाँ स्वाद र ब्रान्डका रक्सीहरू सजाइएको देखियो । दशैंको मौकामा सीमा क्षेत्रहरूमा छोटेबडे सबैखाले तस्करी खुलेआम चल्यो । पोहर साल कोरोनाले गर्दा खल्लो दशैं भएकोले यसपटक घरघरमा पाहुनाको भीड थियो ।
दशैं सकिन पाएको छैन, वीरगंज बजारमा सिपुली लिएर छठीमाईको भिक्षा भन्दै हात थाप्नेहरूको सङ्ख्या निकै बढेको छ । सीमा क्षेत्र रक्सौल बजार नजीक भएकोले यहाँका व्यापारीहरूको व्यापार खस्केको देखियो । दुर्गा पूजाको पन्डाल बनाएर पूजा गर्नेहरू बाँकी रकम लिएर पिकनिक जाने होडबाजी गर्दैछन् । यसपालि ग्रामीण क्षेत्रमा दशैंको अवसरमा कतैकतै रामलीलाको आयोजना भयो भने रङ्गारङ्ग कार्यक्रम भने देखिएन । छुटको नाममा लुटको व्यापार गर्नेहरूले समेत यसपटक सोचे अनुसार कमाइ गर्न सकेनन् ।
नेपाली जनतामा क्रयशक्तिको अभाव थियो भने पर्सा जिल्लाका नाम चलेका नेताहरूको घरमा बोका ढालेर, रक्सीको खोला बगाइएको थियो । केहीले विजया दशमीका दिन कार्यकर्ताहरूलाई टीका, जमरासमेत लगाइदिए । निर्वाचन नजीकिएकोले नेताहरूले कार्यकर्ताहरूको जमघट गराए आफ्नो निवासमा । पूर्वराजा ज्ञाानेन्द्रको दशैं मन्तव्यले राष्ट्रिय राजनीतिमा तरङ्ग ल्यायो । राजाको वक्तव्यपछि मुलुकमा राजावादी र गणतन्त्रवादीबीच फेसबूक युद्ध नै छिड्यो । यसपटक बाढीपीडित, पहिरोपीडित र भूटानी शरणार्थीहरूको दशैं एकदमै खल्लो भयो । न सरकार, न नेता कसैलाई पनि यिनीहरूबारे सोच्ने फुर्सद भएन ।
पुनः बसोवासमा अमेरिका र क्यानडा पुगेका युवा भुटानी शरणार्थीहरूले समेत अशक्त, असाध्य रोगी, बूढा आमाबाबूलाई सम्झेनन् । धेरैले ऋण लिएर भए पनि दशैंमा मीठो–मसिनो खाने नेपाली चलन हो । तर यसपटक दशैं भित्रिए पनि डोल्पा, मुगु, हुम्लामा खाद्य संस्थानको चामल गोदाम रित्तै थिए । धन्य अक्षताको चामलसमेत हुनेखानेले सापटी दिएछन् ।
अचेल त स्वयंघोषित नेताहरू समेतले चोकचोकमा आफ्नो फोटोसहितको शुभकामना होर्डिङ बोर्ड राखेर गरीब निमुखालाई गिज्याइरहेको प्रतीत भयो । नेपाली काङ्ग्रेसको दशैं आगामी महाधिवेशन लक्षित थियो । महाधिवेशनका उम्मेदवारहरूले आफन्तभन्दा कार्यकर्ताको आवभगत बढी गरे । वीरगंजे काङ्ग्रेसीहरूसमेतलाई महाधिवेशनले छोपेको देखियो । जसपा र लोसपावालाहरूले कार्यकर्ता तान्ने, खुवाउने होडबाजी दशैं अवधिभरि देखियो ।
सङ्क्षेपमा भन्ने हो भने राजनीतिले गाँजेको दशैं २०७८ मा नेताहरूको चुरीफुरी हेर्न लायक थियो भने आम जनता निसहाय देखियो । कतिपय गरीबले त अष्टमीका दिन वीरगंजका समाजसेवी भनिनेहरूले वितरण गर्ने भुजा पकौडी निश्शुल्क खाएर दशैं मनाए । समग्रमा भन्ने हो भने यसपल्टको दशैं जेनतेन धानियो । दुर्गा भवानीले सबैको कल्याण गरून् १