- सञ्जय मित्र
अहिलेभन्दा कमसेकम चालीस वर्ष पहिलेको कुरो हो यो । मैले घरबाट दशैंको दुर्गामेला हेर्नको लागि दुई रुपैयाँको नोट पाएको थिएँ । त्यही पूरा खर्च हुन सकेको थिएन । अहिले सम्झन्छु त्यो दिन । दिनको सम्झना छ भन्नुको अर्थ वार वा गते वा साल सम्झना छ भन्ने होइन । साँच्चै भन्ने हो भने सम्झनलायकको म भइसकेको पनि थिइनँ ।
त्यसभन्दा पहिले म कतै हाट जाँदा होओस्, कम्तीमा आमा वा बुबासित जान्थें । म सम्भवतः कक्षा दुईमा पढ्दाको कुरो हो यो । म गाउँका आफूभन्दा सबै ठूला उमेरकाहरूको पछि लागेर दुर्गामेला हेर्न गएको थिएँ । कक्षा दुईको कुरो भन्ने अनुमान गर्नुमा मेरो एउटा आधार के रहेको छ भने म कक्षा चारमा पुग्दा बुबाका एकजना साथीसित गएर आफूलाई मन पर्ने भैंसी किनेर ल्याएको थिएँ । भैंसी किनेको अठार सयमा हो भन्नेमा पनि मलाई कुनै शङ्का छैन ।
अठार सयको भैंसी किनेर ल्याउँदा गाउँमा त्यसले राम्रो चर्चा पाएको थियो । बुबाले पनि मलाई इङ्गित गर्दै भन्नुभएको थियो– यसैले किनेको छ, यसैले पाल्ला । नभन्दै कक्षा नौको परीक्षाको नतीजा आएको र मैले पास भएर कक्षा दशमा पुगेको समाचार नसुनाउँदासम्म भैंसीको असली मालिक म नै थिएँ । असली मालिक भन्नुको अर्थ यसको आर्थिक पाटो मैले हेर्थें भन्ने होइन कि भैंसी चराउने मूल जिम्मा मेरो थियो ।
भैंसी किन्नुभन्दा करीब दुई वर्ष पहिले म गाउँका आफूभन्दा ठूलाहरूको साथमा दुर्गामेला हेर्न गएको थिएँ । त्यति बेला मेरो गाउँ पुर्नी गेडहीको नजीकमा दुर्गामेला लाग्ने भनेको पिपरा बजार, बिर्ता बजार र कर्कच भन्ने गाउँ हो । अलिक हुनेखानेहरू चाहिं पिपरा बजार पुग्दथे भने अन्य मानिसहरू जसलाई दुर्गामेला हेर्नुपर्ने हुन्थ्यो, तिनीहरू बिर्ता बजार वा कर्कच पुग्ने गर्दथे । दुर्गामेलामा कहाँ बढी आकर्षण छ र समूहमा जाँदा एक पन्थ दुई काज हुनेजस्तो मेला पनि हेर्न पाइने र आउँदा वा जाँदा कसैसित भेटघाट गर्नुपर्ने वा कसैलाई कुनै खबर गर्नुपर्ने हुनेले चाहिं त्यसै अनुसार योजना बनाएर समूह बनाइ जाने गर्दथे ।
त्यत्ति बेला गौर–चन्द्रपुर सडक बनिसकेको थियो वा थिएन भन्ने सम्झना भएन । २०३४ मङ्सिर ३० मा सम्भवतः तत्कालीन राजारानीद्वारा यस सडकको शिलान्यास भएको हो । शिलान्यास भएको कति वर्षसम्म बनेन वा लगत्तै बन्यो, यो कुरा पनि सम्झना भएन । दुर्गामेला सम्भवतः २०३९ मा हेर्न गएको थिएँ, साथीहरूसित । अहिले जिल्लाको चर्चित बजारको रूपमा रहेको गरुडा बजार थियो कि थिएन वा शिवनगरको अवस्था कस्तो थियो भन्ने विषयमा धमिलो सम्झना पनि भएन तर शिवनगर मन्दिरअगाडि आइतवार तथा बुधवार हाट लाग्दथ्यो भन्ने कुरा मलाई राम्ररी सम्झना छ ।
बालबालिकालाई मेला हेर्न जाने भनेपछि कति हुरुक्क हुन्छन् । म पनि अत्यन्तै उत्सुक थिएँ । विजयादशमीको दिन दुर्गामेला लाग्ने गर्दथ्यो । अहिलेको जस्तो मेलाको धूमधाम दुई/चार दिन पहिलेदेखि र एक/दुई दिनपछिसम्म हुँदैनथ्यो । अन्य मेला हुने गरेको भएपनि दुर्गामेला मुख्य गरी एकै दिनको हुन्थ्यो अथवा मेला लागेको गाउँका मानिसका लागि थप दिन पनि हुन्थ्यो होला तर मेरो गाउँको नजीक मेला नलाग्ने भएको हुनाले हाम्रोलागि एक दिनकै मेला हुने गर्दथ्यो ।
विजयादशमीको दिन बिहानैदेखि गाउँको इनारमा खूब भीडभाड हुने गर्दथ्यो । एउटा इनार पक्की भइसकेको थियो । त्यसमा गाउँभरका मानिस आफ्नो लुगा धुन आउँथे । मेलाको दिन त नुहाउन र कपडा धुनेको भीड नै हुने गर्दथ्यो । त्यस दिन मेरो घरको सबैभन्दा नजीक रहेको इनारमा गएर नुहाएँ । मेला जो हेर्न जानु थियो । मेलाको तैयारी गर्न थालें ।
केहीबेरमा गाउँका एकजना पण्डितजी आएर जन्त्री (जमरा) कानमा लगाइदिए । त्यसैबाट अलिकति जमरा मेरो टुपीमा बाँधिदिए । मेरो पढाइ अलिकति राम्रो थियो । अझ राम्रो पढ्ने आशिष् दिए । राम्रो पढ्ने आशिष्ले मेरो हर्ष झन् बढ्यो । आशीर्वादमाथि कति धेरै विश्वास थियो भन्ने कुरा अहिले म सम्झन्छु । धेरै मानिसले चाहिं मलाई यो आशीर्वाद दिनू भन्दथे । घरका सबैको लागि जन्त्री राखेपछि आमाले नाङ्लोमा चामल, तरकारी, दाल र नून पण्डिजीलाई दिनुभयो ।
कपालमा करु तेल (तोरीको तेल) हालेर घटीमा आधा घण्टा मैले कपाल कोरेको थिएँ । सानो ऐनाअगाडि उभिएर घरी दायाँबाट बायाँ र घरी यसको विपरीत । कहिले कुखुराको जस्तो जुरो बनाउँथें त घरी सिनित्तै पछाडि फर्काउँथें । मैले आफैंले कोरेको कुनै पनि डिजाइन मलाई चित्त बुझ्दैनथ्यो । अनि अर्को डिजाइनले फेरि कोर्दथें । आमाले जस्तो गरी कोरे पनि चिन्नेले मात्र चिन्ने हो, नचिन्नेले जसरी कोरे पनि चिन्दैन । कपाल मिलेको हुनुपर्छ, त्यत्ति त हो भनेपछि मैले पुरानै डिजाइनले कपाल कोरी दुर्गामेलाको लागि तयार भएको थिएँ ।
मेलाको लागि निस्कनुभन्दा पहिले आमाले एकजना छिमेकीलाई भन्नुभएको थियो– अलिकति विचार गरिदिनुहोला, मेलामा नहराओस् । सानो छ, बढी चकचक गर्ला र यताउति जाला ।
त्यसभन्दा पहिले मेरो हातमा दुई रुपैयाँको नोट थमाइदिनुभएको थियो । दुई रुपैयाँको त्यो नोटमा राजा वीरेन्द्रको अनुहार थियो । झन्डै हरियो रङ्गको त्यो दुई रुपैयाँको नोट न धेरै नयाँ थियो र न त धेरै पुरानो नै । मैले बडो जतनका साथ हरियो रङ्गको सुतीको सर्टको खल्तीमा त्यो दुई रुपैयाँको नोट राखेको थिएँ । त्यो दुई रुपैयाँको नोटले मेरो शरीरको तौल हलुको बनाएको थियो । सम्भवतः मैले अपेक्षा गरेकोभन्दा बढी पाएको थिएँ ।
गाउँबाट बाहिर निस्कँदा सूर्य पश्चिमतिर ढल्किइसकेको थिएन । ठीक टाउकोमाथि थियो । पैदल हिंडेर जानुपर्ने । गाउँमा कोही कोहीकहाँ साइकल थियो । त्यस बेला टायरगाडा आइसकेको थिएन। बैलगाडा थियो । बैलगाडाको चक्का पूरै काठकै बनेको हुन्थ्यो । सबैकहाँ हुँदैनथ्यो । हाम्रो यात्रा पैदल थियो । हामी कर्कचको लागि निस्केका थियौं । खल्तीमा रहेको त्यो दुई रुपैयाँको नोट बडो आरामले बसेको थियो । घरी देब्रे हातले छाम्थें, घरी दायाँ हातले छाम्थें । हिंड्दाहिंड्दै खल्तीमा आँखा पुगिहाल्थ्यो । नोट सुरक्षित थियो । मसँगै मेरो खल्तीमा हिंडिरहेको थियो ।
गेडहीबाट शिवनगर बजार आयो, पोठियाही आयो । धरहरी पनि कट्यो । गोनाही आयो । मैले त्यति बेलासम्म पोठियाही र धरहरीको नाम सुनेको थिएँ । धरहरीमा ठूलो विद्यालय छ भन्नेसम्म थाहा थियो । गोनाहीको नामै सुनेको थिइनँ । गोनाही कटेपछि अलिकति फेरि बढी हिंड्नुप¥यो । गोनाहीबाटै मेला हेर्न जानेहरूको लस्कर देखिन्थ्यो । गोनाही कटेपछि मेलाको आवाज पनि सुनिन थालेको थियो । एउटा माइकको ठूलो स्वर थियो । अब मेला नजीकिंदै थियो ।
मेलामा पुगेर सबैभन्दा पहिले दर्शन ग¥यौं दुर्गा भगवतीको । दर्शन गर्दा पाँच पैसादेखि पच्चीस पैसासम्म भगवतीको चरणमा अर्पण गरें तर मसित खुद्रा थिएन । दुई रुपैयाँको नोटमा बारम्बार मन गइरह्यो तर साना बच्चाले देवीको दर्शन गर्दा केही पनि नचढाउँदा हुन्छ भन्ने कुरो बुझेपछि मन ढुक्क भयो । त्यहाँ नाच भइरहेको थियो । केको नाच थियो, त्यो भन्न गा¥हो छ तर सबैजनाले खूब रमाइलो मानेर नाच हेरे । मैले पनि रमाइलो नै मानेको हुँला तर किन रमाइलो माने हुँला भन्ने कुरा अहिले कसरी थाहा हुन्छ ।
कसैले जिलेबी किने । कसैले अरू मिठाइहरू किने । मुर्ही र कचरीसँग सेबई त मेलाको असली सनेस नै थियो । जस कसैले किन्दा पनि अलिकति मलाई दिइहाल्थे । म सबैभन्दा सानो जो थिएँ। मेलाबाट निस्कने बेला हुन थाल्यो मैले केही किनिनँ । पछि हेर्छु त खल्तीमा त्यो दुई रुपैयाको नोट नै थिएन । आत्तिएँ, खोजें । सबैलाई भनें पनि । धेरै बेरपछि आफ्नै मुठीमा रहेको देखें । अघि नै मूर्तिको दर्शन गर्ने बेलामा झिकेको र अहिलेसम्म मुठीमैं राखेको थिएँ ।
अन्तमा आठ आना (पचास पैसा)को मुर्ही र कचरी किनेर डेढ रुपैयाँ नगदै लिई घर फर्कें । अहिले छोराछोरी यही दुर्गामेला जानलाई पाँच सय रुपैयाभन्दा कमलाई पैसा नै गन्दैनन् ।