- कुमार रूपाखेती
घरघरै भेंडा, च्याङ्ग्रा, खसी, बोकाको म्याम्या आवाज सुनिन थालेपछि, देश छाडेर परदेश गएकाहरू धमाधम घर फर्कन थालेपछि, दशैंको जोहो गर्न घरपालुवा खसी, बोका डो¥याएर गृहिणीहरू बिक्री गर्न बजार धाउन थालेपछि, ढिंकी, जातोको आवाज एकाबिहानैदेखि सुनिन थालेपछि, गाउँघरमा पिङ मच्चिन थालेपछि, आकाशमा चङ्गा उड्न थालेपछि, बथानमा ग्रामीण महिलाहरू बजार जान थालेपछि, बारीभरि रङ्गबिरङ्गी फूल फुल्न थालेपछि, किसान फुर्सदमा देखिन थालेपछि, राष्ट्रबैंकले नयाँ नोट सटही गर्न थालेपछि, केटाकेटीहरू नयाँ लुगा पाएर दङ्ग पर्न थालेपछि र बस्तीहरूमा मालाश्री धुन बज्न थालेपछि बडादशैं संघारमा पुगेको आभास गरिन्थ्यो ।
अचेल त सडेगलेका सामानसहितको सस्तो बजार (दशैंको) लाग्न थालेपछि, दक्षिणी सीमामा मुग्लानबाट पसिना बगाएर कमाएर नेपाल आउनेहरू लुटिन थालेपछि, बजार भाउले आकाश छुन थालेपछि, सरकारले बजार अनुगमनको ढिंढोरा पिट्न थालेपछि, दशैं धान्न ऋण खोज्नेहरू बढ्न थालेपछि, दुर्गापूजाको नाममा चन्दा माग्नेहरू घरघरै पुग्न थालेपछि, चोरी चकारी ह्वात्तै बढ्न थालेपछि, प्रहरी–ट्राफिक प्रहरीको सक्रियता बढ्न थालेपछि, शहरमा रङ्गबिरङ्गी भीखमाग्नेहरू बच्न व्यापारी, उद्योगपतिहरू भूमिगत हुन थालेपछि, चाडपर्व लक्षित नयाँ नयाँ पत्रिका बजारमा देखिन थालेपछि, हुनेखानेले सीमापारिको बजारमा भीड लगाउन थालेपछि, पानपसलहरूमा जोडजोडले गीत–सङ्गीत बज्न थालेपछि, नयाँ नोटको कालोबजारी हुन थालेपछि, तासको गड्डी बिक्न थालेपछि, शहरका फूटपाथमा धडल्लेले पसल चलाउन थालेपछि, सडक जाम हुन थालेपछि अचेल बडादशैं लागेको महसूस गरिन्छ ।