भक्तपुर, १३ असोज/रासस
कोरोना भाइरस सङ्क्रमणको महामारीले सर्वसाधारणमा बढेको भय तथा त्रासले अल्जाइमरका रोगी बढ्दा भक्तपुर अस्पतालले निश्शुल्क अल्जाइमर क्लिनिक सञ्चालनमा ल्याएको छ । अस्पतालले मनोरोग विशेषज्ञसहितको सेवा सञ्चालन गर्दै अल्जाइमर अर्थात् बिर्सने रोगको उपचार शुरू गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा सुमित्रा गौतमले जानकारी दिइन् ।

कोरोना महामारी र सङ्क्रमणले मानिसमा डर, त्रास बढेको, मनोबल घट्दै गएको, चिन्ता बढ्दै गएको र ससाना कुरामा पनि त्रासका कारण चिन्ता लिने क्रम बढ्दै गएपछि पछिल्लो समय सो अस्पतालमा धेरै मानिस अल्जाइमरको सेवा लिन आएपछि क्लिनिक नै सञ्चालन गरेको उनले बताइन् ।

अस्पतालले अल्जाइमर क्लिनिकमा मनोचिकित्सक डा सुप्रिया शेरचनसहितको न्यूरो तथा ज्येष्ठ नागरिकका लागि चिकित्सकसहितको सेवा प्रत्येक दिन बिहान ९ः०० देखि २ः०० बजेसम्म सञ्चालन गरेको छ । अस्पतालले प्रत्येक बुधवार १०ः०० देखि २ः०० बजेसम्म विशेषज्ञ सेवासहितको विशेष उपचार गर्न शुरू गरेको छ ।

अस्पतालमा पोस्ट–कोभिडका बिरामी बढेपछि बिरामीको चाप बढेको छ । अस्पतालले कोभिड निको भएपछि आउने स्वास्थ्य समस्याको उपचारका लागि पोस्ट–कोभिड युनिट पनि सञ्चालनमा ल्याएको मेसु डा गौतमले जानकारी दिइन् । भाइरल ज्वरोका बिरामीको सङ्ख्या पनि ह्वात्तै बढेसँगै अस्पतालमा अहिले दैनिक ७५० देखि ८०० बिरामी उपचारका लागि आउने गरेको उनले बताइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here