काठमाडौं, ८ असोज/रासस
नारायणहिटी दरवार सङ्ग्राहलयबाट श्रीपेच चोर्न खोजेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रूकुमको मुसिकोट नगरपालिका घर भइ हाल काठमाडौं बस्ने खेमबहादुर घर्ती रहेका छन्। उनको मानसिक अवस्था ठीक नभएको भन्ने जानकारीमा आएको र घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए।
उनले भित्र रहेको सो–केस फुटाएर त्यहाँ रहेको श्रीपेच निकाल्न खोज्दा सुरक्षार्थ रहेका नेपाली सेनाले नियन्त्रणमा लिइ महानगरीय प्रहरी वृत्त दरबारमार्गमा बुझाएका छन्। सङ्ग्राहलयमा राजाले लगाएको श्रीपेच सङ्ग्रह गरेर राखिएको छ। यता काठमाडौं महानगरपालिका–८ गौशालाबाट ४५ ग्राम तौल भएको संरक्षित वन्यजन्तु गैंडाको खाग
(आखेटोपहार) जस्तो देखिने वस्तुसहित ललितपुर महानगरपालिका–६ लगनखेल बस्ने ३० वर्षीय निकेश बस्नेतलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।