प्रस, चितवन, ८ असोज/
नेकपा एमाले स्थायी कमिटीका सदस्य रामबहादुर थापाले किसानको विकास र समृद्धिले मात्र देश विकास सम्भव हुने बताएका छन्।
शुक्रवारदेखि चितवनमा शुरू भएको अखिल नेपाल किसान महासङ्घको संयुक्त राष्ट्रिय भेलाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि थापाले कृषिको सहकारीकरण गरेर किसानको उत्पादन र बजारीकरण व्यवस्थित गर्नुपर्ने आजको आवश्यकता रहेको बताए। उनले भूमिहीन किसानको समस्या समाधान गर्न गठन गरिएको भूमि समस्या समाधान आयोग खारेज गरेर वर्तमान बुर्जुवा सरकारले किसानहरूलाई दरिद्रतातर्फ धकेलेको आरोप लगाए।
अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा. प्रेम दङ्गालको अध्यक्षतामा भएको कार्यक्रममा अखिल नेपाल किसान महासङ्घ चितवनका इन्चार्ज शम्भु सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने नेकपा एमाले चितवनका अध्यक्ष पार्वती रावल, राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराल, वाग्मती प्रदेशका पूर्व कृषिमन्त्री दावादोर्जे लामालगायतले भेलाको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।
भेलामा २२ विषयगत सङ्घको समूहगत छलफल हुनेछ भने कृषिमा आत्मनिर्भरता, व्यावसायिक कृषि र कृषिमा आधुनिकीकरणका सन्दर्भमा छलफल हुने बताइएको छ। साथै भेलाले किसानको समस्या र मुद्दालाई एकताबद्ध ढङ्गले उठान गरी अगाडि लगिने अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा. दङ्गालले बताए। भेला शनिवार समापन हुने बताइएको छ।