लहान, ६ असोज/रासस

कुनै बेला मिथिला क्षेत्रमा अत्यन्तै लोकप्रिय बनेको प्रसिद्ध ऐतिहासिक तथा सांस्कृतिक लोकनाच यतिबेला लोप हुन थालेको छ ।

लोकनाच लोप हुन थालेसँगै कलाकार रोजगारको खोजीमा पलायन हुन थालेका छन् । मोबाइल फोन र सिडी चक्काको बढ्दो प्रयोग तथा उचित संरक्षणको अभावमा सातौं र आठांै शताब्दीदेखि मिथिला क्षेत्रमा प्रचलनमा रहेको मिथिला क्षेत्रका ऐतिहासिक, प्राचीन लोकनाच राजा सलहेस, शीतवसन्त, रूनाझुना, जङ्गली बादशाह, गोपीचन्द, कुँवर बृजभान, सुन्दर वनको सुन्दर फूल, अल्लाह रूदल, गुगलीघाट, सामाचकेवा, कमलामैया जस्ता नाच कालान्तरमा आएर लोप हुन थालेका हुन् ।

यस्तै, जय विषहरा, दुलहा दयालासिंह, विदेशिया, दिनाभद्री, लोरिक, राजानल, राजा हरिश्चन्द्र, सती विहँुला, कारिक, महराई शोरवा महाराज, महराई, कारिक महाराज, आल्ला रूदल, झगडु मल जस्ता ऐतिहासिक लोकनाच पनि लोप हुन लागेका छन् । बढ्दो टिभी, सिडी र मोबाइलको प्रयोगसँगै ऐतिहासिक तथा प्राचीन लोकगाथाको नाच लोप हुन थालेको सुनाउँदै दश वर्षको उमेरदेखि नाँच गर्दै आएका सिराहा भगवानपुर गाउँपालिकाका ४० वर्षीय पनिराम साफीले भने, “नाच कम्पनी बन्द हुन थालेपछि आफूहरू बेरोजगार भएका छौं ।”

उनले पहिला पहिला प्रतिष्ठानको लागि भएपनि ठूलो रकम खर्चेर ग्रामीण क्षेत्रमा लोकनाच गराउँदथ्यो, अहिले त्यो विचार हराउँदै गएकाले नाच कम्पनी बन्द हुन लागेको बताउँदै नाचबाटै कमाएर २० जना कलाकारको सहभागितामा नाचमण्डली खोले, तर दुर्भाग्य भन्नुप¥यो कम्पनी नै चल्न नसकेपछि बन्द गर्नुपरेको गुनासो गरे ।

“केही वर्षअघिसम्म नाच कम्पनीबाटै वार्षिक पाँच/सात लाखभन्दा बढी आम्दानी हुन्थ्यो,” अर्का कलाकार फनिरामले भने, “कुनै बेला मिथिला क्षेत्रमा लोकनाच प्रसिद्ध थियो, तर अहिले अब यी मौलिक नाच लोप हँुदै गएको छ ।” नाच कम्पनी बन्द हुन थालेपछि त्यसमा संलग्न कलाकार रोजगारका लागि मलेसिया, साउदी, कतारलगायतका खाडी मुलुक तथा छिमेकी देश भारततर्फ पलायन हुन थालेको उनको भनाइ छ ।

नाच कम्पनी बन्द भएपछि परिवार पाल्न पनि समस्या भएकाले आफूसँगै नाच कम्पनीमा काम गर्दै आएका साथी रोजगारका लागि भारतको पञ्जाब र लुधियाना गइसकेको र आफू पनि भारततिरै जाने सोच बनाएको सिराहाको पोखरभिण्डाका श्रवण सदाले बताए । “सिडी चक्का र मोबाइलको बढ्दो प्रयोगका कारण ऐतिहासिक लोकनाचका कम्पनी विस्थापित हुन थालेका छन्,” कुनै बेला नाच कम्पनीको जिम्मेवारी वहन गरिसकेका सिराहा सखुवानन्कारकट्टी गाउँपालिका–१ का लोचन रामले भने, “कुनै बेला अत्यन्तै लोकप्रिय रहेको ऐतिहासिक नाच अहिले लोप हुन थालेका छन्, जसका कारण सिराहा जिल्लामा रहेका एक सयभन्दा बढी नाच कम्पनी बन्द भइसकेका छन् ।”

विगतमा ठूलो नाम कमाएका नाच कम्पनी बन्द भएपछि त्यसमा संलग्न करीब पाँच हजारभन्दा बढी कलाकार बेरोजगार भएर कामको खोजीमा विदेश पलायन भइसकेका छन्् । मिथिला क्षेत्रको ग्रामीण क्षेत्रमा लोकप्रिय रहेका यस्ता लोकनाच तत्कालीन नेकपा माओवादीको सशस्त्र द्वन्द्वकालमा बढी प्रभावित भएको र त्यसयता निरन्तररूपमा विस्थापित हुने क्रम जारी रहेको कालाकारहरू बताउँछन् ।

खासगरी विवाह, शुभकार्य, उत्सव र चाडपर्वका बेला लोकनाच गराउने परम्परा रहेकामा पछिल्लो समय करीब दश प्रतिशत जति विवाहको बेलामा ग्रामीण क्षेत्रमा मात्र यस्ता लोकनाचको माग आउने गरेको छ, सिराहाको अर्नामा गाउँपालिका–४ का बिन्दु सदाले भने, “वर्षमा एक/दुई पटक मात्र लोकनाच हुने गरेकाले कलाकार रोजगारको खोजीमा पलायन भएका छन् ।”

ऐतिहासिक र प्राचीन घटनामा आधारित यी लोकनाचहरू लोप हुन लागेकामा संस्कृतिविद्समेत चिन्तित बनेका छन् । संस्कृतिविद् पूर्वप्राध्यापक पीताम्बरलाल यादवले भने, “मिथिला क्षेत्रको संस्कृतिको धरोहरको रूपमा रहेको लोकनाच लोप हुनु दुःखद कुरा हो ।”

ऐतिहासिक र सांस्कृतिक महŒव बोकेको लोकनाचको संरक्षणमा सरकारको तर्फबाट उचित कदम चाल्नुपर्ने उनको भनाइ छ । मिथिला क्षेत्रसँग जोडिएको पल्लवित र पुष्पित भएको यस्ता लोकनाचको संरक्षण र संवद्र्धनमा ध्यान नदिए मिथिला क्षेत्रका संस्कृति हराउँदै जाने भएकाले सरकारले स्थानीय तहमार्फत बजेट छुट्याउनुपर्ने माग कलाकारको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here